एकता समूहले दशैं विशेष कार्यक्रम गर्ने

Image

कार्यक्रमका लागि तयार पारिएको ब्यानर

 

रत्नेचौर/अर्जम म्याग्दीमा स्थापित एकता अर्जम साँस्कृतीक समुह ले हरेक बर्ष जस्तै २०६९ सालको शुभ बिजया दशमीको पावन अवसरमा  यहि कर्तिक ८,९ र १० गते वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाको पाँचौ बार्षिकोत्सवका अबसरमा गर्न लागिएको ”वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता” सञ्चालनार्थ सहयोग अभियान सुरु गरिएको छ। एकता अर्जम साँस्कृतीक समुहका संस्थापक अध्यक्ष रामचन्द्र थापा मगरको संयोजकत्वमा सहयोग अभियान सञ्चालन सुरु गरिएको सँस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएको छ। म्याग्दी जिल्ला रत्नेचौर गाबीस, अर्जममा आयोजना गरिने ३ दिने कार्यक्रममा  विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरुलाई सम्मान, पोखरेली कलाकारहरु को बिषेश प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्टिय कलाकारहरु लाई सम्मान, राष्टिय तथा स्थानिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम रहनेकुरा अध्यक्ष खगेन्द्र थापा मगरले बताउनु भएको छ।
बिषेश गरेर बैदेशिक रोजगारीमा रहनुभएका सँस्थाका सहयोगदाता एवम् शुभचिन्तकहरुलाई लक्षित गरेर ”सहयोग अभियान” कार्यक्रम सञ्चालनमा ल्याइएको हो। साथै कार्यक्रमको लागि प्रायोजक, प्रबन्धक, ब्यानर प्रायोजक, मिडिया पार्टनर, पुरस्कार प्रायोजक, बिज्ञापनदाता साथै प्रचार प्रसार को लागि लिला थापामरगर, राजु थापामगर र खगेन्द्र थापामगरको संयोजकत्वमा कार्यक्रम तिब्र रुपमा अगाडि बढाइएको छ। सहयोगदाताहरुको सहयोग बिबरण एकता अर्जम साँस्कृतीक समुह को अफिसियल फेसबुक पेजमा अपडेट गरिनेछ।  बिगतमा लिसाँर कला केन्द्र सञ्चालन गर्नु्भएका तथा हाल दिपज्योति कलाँ केन्द्र पोखरामा क्रियाशील दिलिप रानामगर को प्रशिक्षणमा संस्थाका कलाकारहरुले  बिबिध प्रस्तुतीहरु जस्तै सालैजो, मारुनि, कौडा, तामाङ सेलो, चुड्का, कर्पु तारे झ्याउरे, काशीकाँधे झ्याउरे, पैसाझारे मारुनी जस्ता लोपउन्मुख नृत्यहरु तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गर्नेछन् ।

Advertisements

अलबिदा गाईघाट – म फेरि आउँला !

नीराजन शिरीष
ज्यामिरे, हडियाँबाट बेल्टार लाग्दै लेखक । तस्बीरः भोला मगर
“हिजो आएको जस्तो लाग्छ भाई, जानेबेला भैसक्यो हैं ?” प्रोजेक्टको सम्झौता सकिएको साँझ खाना खान जाँदा होटलकी साहुनी दिदीले भन्नुभयो । मैले अलिकति निराश र केहि अरु उत्साही हुँदै जबाफ दिएँ – “हो दिदी, भयो । अब कार्यक्रम चाँहि सिध्यियो, दुईचार दिनमा हिड्दै छु ।” साहूनी दिदीले खाना ल्याईदिनुभयो । र, पहिलेको छाकमा झैं यो छाकमा पनि उहाँले छाली (तर) सहितको दुध दिन बिर्सनुभएन । “अब भाई गएपछि छाली कसले खाने ?” दिदीले चिन्ता ब्यक्त गर्नु भयो । मैले भने – “पहिले पहिले दहिमा मिसाउनु हुन्थ्यो नी हैन र ? त्यसै गर्नुहोला नी ।” सहमति जनाउँदै उहाँले जबाफ फर्काउनु भयो – “हो, त्यसै गर्नुपर्ला !” मैले तीनमहिनादेखि यसैगरी खाना खाँदै आएको छु यहाँ । होटलजस्तो कत्ति आभाष भएन मलाई । एकदमै पारिवारीक वातावरण ! गाईघाट छाडेपछि अब यस्तै होटल म सायदै भेटुँला ! खाना खाईसकेपछि एकछिन भलाकुसारी भयो । एउटा अन्तिम भलाकुसारी ! होटलका सबैले एकमुख भएर सोध्नुभयो – “उदयपुरको राम्रो के लाग्यो ?” “त्यो हाम्रो अफिसको दाईलाई पैसा दिईदिई रक्सी मासु खान उक्साउने एउटा सरकारी हाकिम बाहेक उदयपुरको सप्पै राम्रो लाग्यो ।” विनोदीभावमा मैले जवाफ फर्काएँ । सबैजनाको हाँसोको फोहोरा छुट्यो । बस्नेत सर भन्दै हुनुहुन्थ्यो – “हामी हाँसेको देखेर त्यहाँ सडकबाट बटुवाले गज्जबसँग चिहाए !” परन्तु हामीले हाँस्न पाउने हाम्रो अधिकारको भरपुर उपयोग गर्‍यौं । त्यस रात १० बजेमात्र हामी छुट्टियौं ।
उदयपुर आएपछि मलाई जीवनका बारे एक विन्दुबाट बुझ्ने मौका पाएँ जस्तो लाग्छ । तराईको सम्पन्नता मात्र होईन गरिवीलाई  समेत नजिकैबाट अध्ययन गर्ने मौका मिल्यो मलाई । कठोर परिश्रम गर्न सक्ने थारु जातीका मानिसहरुले खेतीपातीमा खटिएर लागेको दृश्य मेरो आँखामा आज पर्यन्त उस्तैसँग झल्किरहेछ । धर्म बदलेर ख्रिष्टियन भए पनि आफ्ना मौलिक संस्कृतिहरु नबदलेका जनजातीका मान्छेहरुका साँस्कृतिक प्रस्तुती हेर्न पाउनु मेरा लागि अहोभाग्यकै कुरा हो । म धर्मभिरु हैन । एकपक्षिय रुपमा हिन्दु वा बुद्धधर्मको वकालत मैले कहिल्यै गरेको पनि छैन तर जे भएपनि टोलैपिच्छे चर्चहरु देख्दा मनमा यस्तो लाग्यो – अब हामीले हाम्रो मौलिकता बिर्सिन थालिसकेछौं । उदयपुर आएपछि मैले एउटा दिब्यज्ञान प्राप्त गरेको छु – “संस्कार र संस्कृति बचाईराख्ने हो भने त्यसभित्र रहेका कुसंस्कारलाई सच्चाएर हामीले आफ्नो संस्कार र संस्कृतिलाई परिष्कृत गर्दै लग्नुपर्छ । नत्र हाम्रो साँस्कृतिक र धार्मिक भविष्य अन्धकारमय हुने सुनिश्चित छ ।” यो लेखिरहँदा मैले तटस्थ हुन सकेको छैन, अर्थात मन नदुखाई यो लेख्न सकिरहेको छैन कि दशैंतिहार हैन अब मानिसहरुले भन्न थालेका छन् – एस्तर र क्रिसमस !
सडकमा कामोत्तेजक कपडाहरु लगाएर क्याटवाक गर्दै हिड्ने युवतीहरुको लर्को देखिनु न बेनीमा अचम्मको विषय छ न त गाईघाटमै । बजारमा निस्किदाँ म आफै दुईपटक मोटरसाइकल दुर्घटनबाट बालबाल बाँचेको स्मरण छ । कारण, सडकमा दुईजना युवती यस्तो पहिरनमा देखेँ कि मेरो टेस्टोस्टेरोन हर्मोन एक्कासी सक्रिय हुन पुग्यो । उनीहरुलाई चियाउँदा झण्डै अगाडिबाट आईरहेको गाडिमा जोतिन पुगिनँ ! उसो त पोखरातिर आउँदा पोखराका साथीहरू भन्ने गर्थे – “बेनी यौनका मामलामा स्वतन्त्र छ !” उनीहरुले त्यसो भनेर जिकिर गरिरहँदा म कहिल्यै मान्न तयार भइँन । किनकी, त्यो मेरो जानकारीभित्रको विषय थिएन । कुन लाहुर्नीले कसलाई के किनीदिई ? कोसँग रात काट्छे ? कति कामुक छे ? त्यो जानकारी लिदै हिड्ने कुरो पनि भएन । तर पछि यसविषयमा विश्लेषण गर्दै जाँदा म के निश्कर्षमा पुगेँ भने यौनका मामलामा नेपाली समाज विस्तारै खुला हुँदैछ । सायद पाश्चात्यकरण भनेको यहि नै हो । नभए हिजो युरोपका शहर चाहर्दा बसस्टप, ट्रेन स्टेशन वा सडकमै युवायुवतीले मस्त चुम्बन गरिरहेको दृश्य देख्दा लाज लाग्ने मलाई गाईघाट बजारभन्दा माथि लभ्ली डाँडामा जोडीले अंकमाल गर्दै बेलाबेलामा ओठ जोड्नु अनुचित लागेन ! यसको मतलब समाज बिस्तारै आधुनिकीकरण (औधोगिकीकरण विनाको) को दिशातिर उन्मुख छ । उसो त पछिल्लोपटक सबभन्दा ठूलो नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डपुत्रले पनि यो कुरा पुष्टि गरिसकेका छन कि अब मानिस एक नारी ब्रहमचारीमा सिमित हुन सक्दैन !
तीन महिने बसाई सिध्याएर गाईघाटलाई बाईबाई गर्दा मैले जीवनका थुप्रै आयाम बुझ्न पाउनुलाई मेरो जीवनको उत्कृष्ट सिकाई ठानेको छु । गाईघाटमा मेरो आगमनले गाईघाटेहरुलाई त सायदै केहि दियो, तर यहाँ आएर तीन महिना बिताउन पाउनु मेरा लागि विश्वबिद्यालयमा ३ बर्षको समय बिताउनु बराबर हो जस्तो मैले अनुभूत गरेको छु । किताबमा अरुले लेखेका विषयबस्तुहरु अध्ययन गर्नुभन्दा आफ्नो वरिपरी प्रकृतिले लेखिदिएका विषयबस्तुलाई स्वयंले अध्ययन गर्नु र विश्लेषण गर्नु मेरा लागि बढ्ता महत्व विषय बनेको छ ।
बरुवाको बगर, मतिगडाको जंगल, त्रियुगाको किनार, रानीबासको सुन्दर काख, बेल्टार बसाहाको मनोरम दृश्य, हडियाँको समथर फाँट र गाईघाटको आधुनिकीकरणलाई चिहाउन पाउँदा म जति खुशी छु । त्यति नै उदयपुर गढी, ब्यापारिक केन्द्रबिन्दु कटारी र घुर्मी अनि रौतामाईको मन्दिर र पोखरीमा पुग्न नपाउनुलाई मैले महत्वपूर्ण अवसरहरु गुमाउनु परेको ठानेको छु । गाईघाट एक्सप्रेसको अन्तिम अंक लेखिरहँदा मैले सानोमा सुन्ने गरेको पोखरीको पात चराले टिपेर सफा गर्ने रौता पोखरी हेर्न म आउन फेरि पाउँला कि नपाउँला ? अनि साँच्ची गा.वि.स. अध्यक्षलाई पनि सरुवा गर्ने उहिलेका एक चलाख गा.वि.स. सचीव पनि उदयपुरकै रहिछन् उनलाई भेट्न पाएको भए मेरो बसाई झन कति उपलब्धीमुलक हुन्थ्यो होला ? अहिले थकथक लागिरहेछ !

झरी र पहेंलो टिसर्टवाली परी

आज आषाढ महिनाको दोश्रो अन्तिम शुक्रबारको बिहान म मेरो गाईघाटे बसाइको स्मरणको अर्को श्रृङ्खला लेख्न बसिरहेको छु । बाहिर पानी परिरहेको छ । र, यसकारण मलाई यो महिना बर्षाको महिना हो भन्ने लागेको छ । भनिन्छ, बर्षाको समयमा मानिसहरुलाई एकतमास थुप्रै मानिसहरुको अत्यार लाग्ने गर्छ । कताकता मन बहेको अनुभव हुन्छ । वर्षाको समयमा एक्लै हुँदा मानिस एकसाथ थुप्रै कुराहरुको अभाव महशुस गर्दछ । मलाई पनि त्यस्तै महशुस भएको छ । मलाई यतिखेर मेरा थुप्रै प्रियजनहरूको याद आईरहेछ । र, प्रत्येक झरीका दिनहरुमा आमासँगै अगेनाका छेउमा राखिएको चियाको केट्लीबाट पटकौंसम्म गिलासमा चिया भरिरहेको याद आईरहेछ । नढाँटी भन्नुपर्दा यसबखत म गाईघाट आउँदाको पहिलो दिन मेरो सिटपारी एउटै बसमा यात्रा गरेकी ‘पहेंलो टिसर्टवाली’ युवतीलाई पनि खुब सम्झिरहेको छु । 
अढाई महिना पहिले खाँबुबाट ओरालो झर्दा उनीसँग मेरो दोश्रो भेट भएको थियो । हामी रेडक्रसको अधिबेसन सक्काएर रिजर्भ बसमा फर्किरहेका थियौं । साउनेमा आएर बस एकछिन रोकियो । बस गुड्नै लाग्दा एकहुल मानिसहरुको भिडसँगै पहेंलो टिसर्ट लगाएको एक युवती पनि बसभित्र फुत्त छिरिन । मेरो मुटु ढक्क फुल्यो ! मैले झल्याँस्स उहि पहेंलो टिसर्टवालीलाई सम्झन पुगेँ । सरासर युवती म बसेको सिटमा आइँन । अघिसम्म दुईजना थियौं, उनी पनि आएर बसेपछि हामी तीनजना भयौं । उनी नजिकै आएपछि मैले चिनेँ । उनले खास याद गरिनन् मलाई । याद नभएपछि वास्ता हुने कुरै भएन ! उनी चुपचाप बसिन् । मलाई ग्लानी भयो, एकतर्फि म किन आकर्षित भएँ उनीप्रति ?
बस गुडेर साउनेको जंगलको उकालो चढ्दै गर्दा म अझ अरु चुपचाप रहन सकिनँ । मैले संवादको शुरुवात गरेँ – मलाई याद गर्नुभयो ? उनले टाउको हल्लाइन – हैन भनेर ! “कताकता देखे जस्तो लागेन ?” अरू जोडगर्दै मैले भनेँ । उनले निधार खुम्चाइन, भृकुटी दोबारिन र दायाँ हातको चोर औंला कन्पारोमा राखिनँ, अहँ केही गरे पनि म सम्बन्धित कुनै पनि कुरा उनलाई याद भएन । उनी आजित जस्ती देखिईन, म खिस्रिक्क परेँ । उनलाई नै सम्झाउँदै मैले भनेँ – “हजुर नयाँ बर्षको पहिलो रात काठमाठौंबाट गाईघाट बसमा यात्रा गर्दै हुनुहुन्थ्यो है ?” “हो त ! कसरी थाहा पाउनु भयो ?” छक्क पर्दै उनले भनिन्, म झन अचम्ममा परेँ – “ला केटीले त मेरो बाल मतलबै नराखेकी रै’छ !” उनलाई अझ अरु दिग्भ्रमित पार्न चाहिनँ त्यसैले सबैकुराको बेलिबिस्तार लगाएँ । उनले टाउको मात्र हल्लाइँन र बिचमा “ए, ए” भन्दै म बोल्ने क्रमलाई अझ अरु लम्बाउन मद्यत गरिन । 
हिजोपल्ट खाँबु जाँदा निकै समय लागेको थियो तर आज गाईघाट झर्दा बसको गति धेरै भएर हो वा समय बितेको मैले चाल नपाएर हो बसले निक्कै छिटो साउनेको जंगलको ओरालो झारेको महशुस भयो मलाई । जंगलको फेदी नेर आइपुगेपछि कार्यालयका लेखा अधिकृत राजेश दाई युवतीको छेऊ आए र भाडा माग्न थालेँ ! रिजर्भ बसमा यात्रा गरेकोमा युवतीले थकथक मानिनँ । केहिबेर भाडाको विषयलाई लिएर दुईबीच बार्गेनिङ चल्यो । राजेश दाईले हार खानुप¥यो । कसैलाई ‘कन्सेसन’ दिन नमानेका उनी युवतीलाई भने २५ रुपैयाँ छुट दिन तयार भए । युवतीले मलाई हेरिनन्, हेरेको भए त्यो भाडा नमाग्नलाई राजेश दाईसँग आग्रह गर्ने विचार थियो ! उनले भाडा बुझाइँन राजेश दाई खुरर्र स्वःस्थानमा गएर बसेँ । फेरि हामीबिचको संवादले निरन्तरता पायो । 
बरुवा नाघेर बसले करमगाछी टेकेपछि मेरो मन झन अरु बेचैन भयो । अन्ततः यात्रा समाप्त भएरै छाड्यो । रेडक्रसका हामी सबै बोक्से झ¥यौं । उनी र साउनेबाट यात्रा थालेका अरुहरु बजार नै झरे । बोक्से ओर्लेपछि राजेशदाईले मलाई सोधे – नाम के रै’छ केटीको ? मलिन भावमा मैले भनेँ – “थाहा भएन !” हुनपनि त्यत्रो कुरा हुँदा पनि हामीले नामथर भनेर परिचय साटासाट गरेनौं, मोबाइल नम्बर माग्ने त कुरै भएन । अलिबेर पछि मैले निधो गरेँ – पुरानो गाईघाट म जसरी पनि जान्छु ! किनकी उनले भनेकी थिइँन् – “उनको डेरा त्यतै छेउछाउमा पर्छ !”

मनसुन लागेन रत्नेचौरमा

मनसुन शुरू भएको दुर्इहप्ता बितिसक्दा पनि रत्नेचौरमा खास वर्षा हुन सकेको छैन । पहिलेका बर्षहरूमा मध्य असारदेखि रोपाइँको काम शुरू हुने गरेको भएपनि आजसम्म गाउँमा कसैले हल नारेका छैनन् । मकै बाली अपेक्षित समयमा फल्न नसकेको र लामोसमयदेखि खडेरीको चपेटामा परेकाले धानको बिउँ उम्रन नसक्नुले रोपाइँको काम शुरू हुन नसकेको किसानहरूले बताए ।

असारको दोश्रो हप्ता शुरू हुनेबेलामा फाट्टफुट्ट पानी पर्न शुरू गरेपनि रोपाइँको काम हुने गरी वर्षा भएको छैन । रत्नेचौर ३ का कृषक लाल थापाका अनुसार अहिले गाउँमा कोदो रोप्ने काम शुरू भएको छ । सम्भवतः असारको अन्तिम वा साउनको पहिलो हप्तापछि मात्र रोपाइँको काम शुरू हुनेछ । 

गार्इघाटमा मेरा अन्तिम दिनहरू

मुलुककै पहिलो सिमेन्ट उध्योग परिसरमा लेखक । तस्बीरः चन्दा सुब्बा
गाईघाट बसाईका एकदमै अन्तिम दिनहरु गन्दै छु म । यस बिचमा बरुवा खोलामा धेरै पानी बग्यो तर गर्मीका केहि कठिन रातहरु सिवाय गाईघाटको नरमाईलो भन्ने कुरा मलाई केहि लागेन ! म पश्चिमको तन्नेरी, लागेको थियो – पूर्वका बाठा मान्छेहरुबीचमा मलाई धेरै असहज हुनेछ । किन्तु, त्यो मेरो भ्रामक सोचाई मात्र रहेछ, अहिले पुष्टि भएको छ । एकादुई मान्छेहरुलाई छाडेर भन्ने हो भने अधिकांश मान्छेहरु यहाँका पनि सोझा नै पाएँ मैले । दुईचारजना मान्छे त जहाँ पनि हुन्छन् नी अरुलाई ठगेर खान पल्केका ! यसलाई हाम्रो संस्कारमा उति अस्वभाविक मान्दैनौ पनि हामी ! एउटा संयोग मानुँ या के यहाँको बसाइँमा एउटा यस्तै घटनाले मलाई निश्चित बनाईदियो – नेपालभर टाठाबाठा भनिएका किर्ते काम गर्नेहरुको बरोबर उपस्थित छ । गाईघाटमा पाइला टेकेको हप्तादिन नपुग्दै एउटा खबर थाहा पाएँ मैले, कि केही मानिसहरुले बसपार्कको लागि भनि छुट्टयाइएको जग्गालाई प्लटिङ गरी ब्यक्तिका नाममा बेचेछन् । केहि बर्ष पहिले हाम्रो बेनीमा पनि ठ्याक्कै यस्तै घटना घटेको थियो । घटना थियो – केहि मानिसहरुले खाद्य संस्थानको भण्डार भएको सरकारी जग्गा आफ्नो नाममा पास गरेका थिए । यी दुई उदाहरणहरु नै काफी छन् कि हाम्रा देशमा केहि मानिसहरु कागको फूल चोर्ने दक्षता राख्दछन् । र, पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म देशका प्रत्येक कुनामा ती ठगहरुको C.P (चहलपहल) हेर्न लायकको छ ।
एउटा स्थान विशेषले ठगहरु मात्र हैन सज्जनहरुको पनि संगत पाएको हुन्छ भन्ने तथ्यको उदाहरण पनि हो उदयपुर । जस्तो हिजो रोमन म्यागसेसे पुरस्कार पाएर वायरलेस हिरो महाबीर पुनले म्याग्दीको नाममा एउटा रौनक दिए त्यस्तै यो ठाउँ पनि राष्ट्रिय महत्व बोकेका केहि ब्यक्तित्वहरुको जन्मथलो रहेछ । काङ्ग्रेस नेता एवं बुद्धिजीवी डा. नारायण खड्का, नेपाल बार एशोसियनका पूर्व अध्यक्ष एवं चर्चीत कानुनवेत्ता शम्भु थापा र रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजीव थापा । चर्चीत अनुहारहरुको यो फेहरिस्तमा अझ अरु नामहरु छन् जो जनप्रशासन एवं निजामति सेवाका उच्च ओहोदामा छन् । तर गाँठी कुरो के हो भने यति हुँदा हुँदै पनि उदयपुरसँग विकासको खास मार्गचित्र छैन । गुरुयोजना छैन । गाईघाटबाट सिधैं दक्षिणतिर चुरे नाघेर लाहान हुँदै यात्रा गर्ने जोकोही उदयपुरेले सवारीको झ्यालबाट जलजलेमा पुगेपछि एकपटक यस सिमेन्ट कारखानाको चिम्नी नियाल्न पाउँछ, र आत्मसन्तुष्टिको एक चिम्टी लामो निश्वास लिन्छ – वाह नेपालकै पहिलो सिमेन्ट उद्योग मेरो जिल्लामा ! तर देशकै पहिलो र ठूलो सिमेन्ट कारखाना उदयपुर सिमेन्ट कारखानाको अवस्था दुरूह छ, यतापट्टि कसैको चासो छैन । फगत सवारीको सिसाबाट चिम्नीमा निस्किरहेको धुँवा नियालेर – राम्रै चलेको छ कारखाना ! भन्ने असत्य विश्वास लिनु बाहेक ।
जलजले हुँदै थुप्रै सेता नम्बर प्लेटधारी सरकारी गाडीहरु ओहोरदोहोर गरे होलान्, विकासको सपनाहरु बाढ्न खप्पिस चिटिक्क परेका मान्छेहरु बोकेर हिड्ने निलो नम्बर प्लेटधारी ल्यान्ड क्रुजरहरुको पनि राम्रै चहलपहल भएको होला गाईघाट–लाहान रुटमा तर कसैले यसलाई सायद चिहाएनन् वा चिहाए पनि खास महत्व दिएनन् । त्यसैले यो दिनानुदिन जिर्ण हुँदै गएको छ । केहि बर्षपछि यसलाई राष्ट्रिय खबरपत्रिकाहरुले विशेष महत्वका साथ आफ्ना खबर पत्रिकाहरुमा राम्रै स्थान दिनेछन् – देशको पहिलो सिमेन्ट कारखाना   बन्द !
यहाँको अस्तब्यस्त तस्बीरले समस्त देशकै प्रतिबिम्ब उतारेको छ भन्न मलाई कुनै हिच्किचाहट छैन । दायाँ बाया साइडमा लहरै लगाइएका कदमका बोटहरुले गाईघाटलाई जति सुन्दर देखाएका छन् उती नै कुरुप चित्रको प्रदर्शन गरिरहेछन् – नगरक्षेत्रको सडकको भत्केको पीच, सडक छेवैमा फालिएका फोहोर, सडकै छोप्ने गरि गरिएका फुटपाथ ब्यापार, त्रियुगा पुलको छेवैमा फ्याँकिएको फोहोर र सडकमा राखिएका निर्माण सामाग्रीहरुले । हासिल गरिएका विकासका उपलब्धिहरुलाई संरक्षण नगर्ने हो भने ती उपलब्धीहरुले हाम्रा जीवनयापनमा केही औचित्य राख्दैन् । म त गाईघाट बसाईको अन्तिम प्रहरहरु गनिरहेको एउटा यात्री, मैले आग्रह मात्र गर्न सक्छु नगरवासीहरुलाई – यो तपाइँहरुको नगर हो, त्यसकारण यसको ब्यवस्थापन गर्नु पनि तपाइँहरुको दायित्व हुन आउँछ !

गाईघाटमा मेरा साँझहरू

श्रमीक पार्कमा रहेको स्रष्टा स्मारक । तस्बीरः नीराजन शिरीष

गाईघाट बजारमा शुरुमा पाइला राख्दा लागेको थियो, यो नगरमा मानिसहरुको उती चाप रहेनछ । तर तरकारी बजारतिर साँझतिर डुल्दै जाने काम थालेपछि मेरो पूर्वानुमानले नराम्ररी फेल खायो जसरी हाम्रो मौसम बिभागको पूर्वानुमान शाखाले आज मौसम सफा रहन्छ भनेको दिनमा झमझम पानी पर्दछ ! गाईघाट बजारबाट पूर्वतिर बरुवाको बगर जाने बाटोमा प्रत्येक साँझ लम्वेतान भिड हुन्छ मान्छेहरुको । यहाँ मानिसहरु आफ्ना उत्पादनहरु लिएर प्रत्येक साँझ सडकको दुई किनारमा ब्यवसाय चलाएर बसिहेका हुन्छन । ब्यवसायका लागि सयौं बस्तुहरु सडकमा बिछ्याइएका हुन्छन – तरकारी देखि जिरामसलासम्म, काष्ठकला देखि अरु धातुका बस्तुहरू ! र , अचम्म लाग्दो कुरो त प्रत्येक ब्यापारीहरुकहाँ मानिसहरुको उत्तिकै चाप देखिन्छ । मानिसहरुको बार्गेनिङ चलिरहेको हुन्छ । जस्तो ३० रुपैया केजी भन्टा छ भने ग्राहक १ रुपैया नै कम सही २९ रु. मा किन्न चाहन्छ । र, यो खरिद – बिक्रीको श्रृङ्खला झमक्कै साँझ नपरुन्जेल चलिरहन्छ अनवरत ।
मलाई तरकारी किन्नु पर्दैन । यसको मतलब तरकारी नै खाँदिन मैले हैन । होटलमा खानाखाने बन्दोबस्ती गरेपछि खरिदबिक्रीको झण्झटबाट मुक्ति मिल्ने हुनाले म यो तरकारी बजारमा आफ्ना केहि साथीहरुसँग मिलेर घुम्न जाने मात्र गर्छु । र, मानिसहरुको भीडमा हराइरहेको पाउँछु आफूलाई । प्रत्येक साँझ घाम डुबेपछि गाईघाटको मौसम अलिकति चिसो हुन्छ – विशेष गरी त्यही तरकारीबजारको छेउछाउ । दिनभरको उखरमाउलो गर्मीलाई बिर्सन भएपनि साँझतिर घुम्नु जरुरी हुन्छ यतातिर । मानिसहरु मध्यरातसम्म झुण्डझुण्ड बनाएर साँझको हावा खान सडकमा असरल्लै पोखिएका हुन्छन ।
तरकारी बजारतिर घुम्न जाँदा सबभन्दा बेफाइदाको कुरा यहाँ हुने मानिसहरुको भीडलाई छिचोल्नु नै हो । मानिसहरु अत्यन्तै अस्तब्यस्त ढंगमा यता उता गरिरहेका हुन्छन् । मान्छेहरुसँग ठोक्किदै, ठेलिदै बाटो पार गर्नुपर्छ । त्यसकारण अलिक लामै समय भयो म त्यतातिर घुम्न निस्केको छैन । त्यसकारण, त्यसपछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – श्रमीक पार्क । दिनभर यहाँ मानिसहरुका लागि प्रवेश निषेध गरिएको छ । बिहान र साँझपख केहि घण्टा मात्र खोलिने यो पार्क मजदुरहरुको सम्मानमा बनाइएको हुनुपर्छ । किनकी, पार्कभित्र मानिसहरुले श्रम गर्दैगर्दाका केहि मूर्तिहरु ठड्याइएका छन् । ती बडो कलात्मक छन् । कृषि वा परम्परागत श्रमलाई निकृष्ट कामका रुपमा हेर्ने अचेलका युवाहरु पनि यी मूर्तिहरु देखेपछि साँच्चिकै श्रमप्रेमी हुन्छन भन्ने मेरो विश्वास छ । यी अत्यन्तै आकर्षक ढंगले कुँदिएका छन् । तथापि श्रमीक पार्कमा पनि एकाध आधुनिक प्रेमीहरुको उत्ताउलो प्रेमप्रदर्शनले अरु एक्लै वा समूहमा त्यहाँ घुम्न निस्किनेहरुलाई बडो अप्ठ्यारोमा पार्दछ । हुन पनि अचेल प्रेमी/प्रेमिका भेटिँदासाथ आलिङ्गनमा बेरिनु र चुम्बनको वर्षा गर्नु उति अस्वभाविक विषय पनि रहेन । परन्तु, हामी एउटा अत्यन्तै बन्द संस्कृतिबाट गुज्रिरहेका हामीहरुलाई उनीहरुका क्रियाकलापहरुले केहि अप्ठ्यारोमा पार्दो रहेछ ! अझ कहिले काही त यी दृश्यहरु हेर्दै गर्दा रोमाञ्चक कुरा दिमागमा खेल्न शुरु गर्दछ – काश, म पनि उनीहरु झैं किशोर भैदिएको भए ? घरब्यवहार, समाज, संस्कृति एउटा कुनामा थन्काएर म पनि प्रेमको उत्कृष्ट आनन्द भोग गरिहेको हुन्थेँ सायद !
श्रमीक पार्क पछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – म बस्ने स्थानबाट  सिधैं उत्तरतिर । अर्थात करमगाछी साइड । यो अलि विशेष गन्तब्य पनि हो । गाईघाटमा जस्तो सवारीहरुको चाप नहुने भएकाले पनि यहाँका लब्धप्रतिष्ठित मानिसहरुको रोजाइ बनेको छ यो ठाउँ । हावाको सिरसिरे झोक्का चलिरहन्छ यो ठाउँमा । त्यसैले अचेल म यतातिर बरालिन थालेको छु । म बस्नेतिरका साथीहरु उति घुमन्ते छैनन् । यही एउटा कुरा बिझाउँछ मनमा । कि एक्लैएक्लै डुल्नु पर्छ । भोला एउटा साथि छन् नजिकै तर उनको रोजाई लभ्ली डाँडा ! भन्छन् – केटाकेटीहरुको प्रेमलाई अनुभव गर्न पाइन्छ नजिकैबाट । म प्रेमदेखि वाक्क परेको मान्छे, तरकारी बजारदेखि श्रमीक पार्क हुँदै करमगाछीतिर बरालिन आईपुगेको छु । मेरो खोजी हो – एकदम शान्त र एकलाँस तर सुन्दर गन्तब्य ! बरु त्यो ७ कि.मी पर रहेको चुहाडेको जंगललाई गाईघाटको छेवैमा ल्याउन मिल्ने भएपनि त हुन्थ्यो नि !

स्लो बाइकमा महतको पकड

बिजेता बसन्त महत

 

बेनी,म्याग्दी/

अघिपछि अलि गतिमै बाइक हाँक्ने रत्नेचौर २ का बसन्त महतले हिजो आषाढ ६ गते भने अत्यन्तै ढिलो गतिमा बाइक हाँकेर जिल्लामा आयोजित ‘स्लो बाइक रेस’ मा प्रथम स्थान हासिल गरी नगद रू ५ हजार प्राप्त गर्न सफल भएका छन् । जेसिस म्याग्दीले आफ्नो स्थापना दिवसका अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगितमा ३४ जना अरू प्रतिस्पर्धीहरूलार्इ पाखा लगाउँदै महतले शिर्षस्थान हासिल गर्न सफल भएका हुन ।

६० मिटरको दुरी निर्धारण गरी सवै भन्दा ढिलो बाईक हाँक्नेले जित हात पारेका हुन् । बाईक स्टार्ट गरेपछी बन्द गर्न नपाईने, निर्धारित सिमाभन्दा बाहिर जान नपाईने र भुइमा खुट्टाले टेक्न नपाईने जस्ता नियमहरुलाई पालना गर्दै महतले २ मिनेट ३० सेकेन्डमा उक्त दुरी पारेका थिए । उनीभन्दा २३ सेकेण्ड अगाडि उक्त दुरी पार गर्ने अर्का एक जना प्रतियोगि स्पर्धामा द्भितीय भएका थिए । 

रत्नपुत्र महतको यस सफलताका लागि हाम्रो ब्लगका तर्फबाट हार्दिक बधार्इ तथा उत्तरोत्तर प्रगतिको कामना छ ।