खाँबु, उदयपुरयात्राका क्रममा देखिएका केहि झलकहरू

रानीवास उदयपुर जाने बाटोमा 
खाँबु उदयपुरको रमाइलो दृश्य

आकर्षक एउटा पहाडी घर

रानीबास पुगेपछि एउटा पोज दिदै

गाइघाटको एक दृश्य

गार्इघाट एक्सप्रेस १

नवबर्षको पहिलो रात नै म रेडक्रसको विशेष कार्यक्रम अन्तरगत पूर्वी नेपालको एक जिल्ला उदयपुरमा जानुपर्ने भएपछि मैले रात्री बसको टिकट लिएको थियो । त्यस हेतु, काठमाडौंबाट म सिधैं गाईघाटको लागि हानिएको थिएँ । सिटको छेउमा कस्तो मान्छे पर्ने हो/हुन् ? एकखालको जिज्ञासाले चिमोटीरहेथ्यो । मलाई बससम्म पुर्‍याउन आएका मेरा कोठेसाथी मोहबाबुले मलाई आँखा सन्काए । कारण बसको ढोकाबाट एउटी सुन्दर ठिटी भित्र छिरेकी थिई र सरासर मेरो सिट नजिकिदै थिई । तर उसको अगाडि आएको अधवैशें मेरो छेउमा आएर बसेपछि भने हामी दुवै जिल्लराम पर्‍यौं । युवती हाम्रो पारिपट्टिको सिटमा आएर बसी । उसको पछिपछि अर्की युवती (तर ऊ जत्ती सुन्दर हैने) आएर बसी । पहेंलो टिसर्ट लगाएकी सुन्दर युवती छेउतिरको सिटमा बसी, पछि आएकी चाँहि झ्यालपट्टिको सिटमा ! मेरा कोठेसाथी खिस्रिक्क परेको मेरो अनुहारलाई अन्तिम पटक नियाल्दै तहाँबाट ओझेल भए, एकछिनपछि बस पनि गुड्यो ।
म चुपचापै बसेँ । बेलाबखत आफुबसेको सिटपारीपट्टि आँखा पुग्ने र जुध्ने भैरह्यो । ऊ पनि मुस्कुराईदिन्थी, मैले मुस्काएको देखेपछि । बारम्बार मेरा आँखा पारिपट्टि पुगिरहँदा पनि मेरो छेवैको सिटमा बसेका अधवैंशेलाई कुन्नी किन चिहाइरहेका थिएनन् । सायद चुम्बकको नियम लागू भयो कि ? समान ध्रुवहरु विकर्षित हुन्छन् ! जेहोस् मैले अधवैशेलाई खास ध्यान दिने काम गरिरहेको थिइँन ।
आफूलाई पूरै वेवास्ता गरिरहेको मसँग मेरो आडैको अधवैंशे केहि सोध्न चाहेजस्तो देखिन्थे । सोध्न खोज्थे, अनि सोध्दैनथे । यो उपक्रम निकैवेर चलिरह्यो ! अन्ततः पारिपट्टिकी युवती पनि सिटमै झुल्न थाली । उसले विस्तारै मुस्काउन छाडेपछि अधवैंशे बल्ल मेरो विकल्प बन्न पुगे ! कुराको शुरुवात मैले नै गरेँ ।
मसँगै यात्रा गर्नुहुने साथी मनबीर रार्इ ।

“हजुरको घर कहाँ ?”

खाँबु, उदयपुर ।
“खाँबु भनेको कहाँ नी ?”
गाईघाटबाट गाडीमा दुईघण्टा पहाडतिर ।
“यहाँ (काठमाडौं) बाट त्यहाँ (गाईघाट) पुग्न कति टाइम लाग्छ ?”
कुनैले नौ, कुनैले दश, कुनैले एघार, बार्‍ह, तेर्‍ह घण्टासम्म लगाईदिन्छन । निश्चित उत्तर चाँहिरहेको मेरो प्रश्नको एउटा अनिश्चित जवाफ दिए, उनले ।
“जस्तो अब साढे चार बजे चढेको हामीहरू भोली बिहान कतिखेर पुगौंला त्यहाँ ?” एउटा निश्चित जवाफको पखाईमा मैले प्रश्न गरेँ ।
उहि हो तीन, साढे तीन, चार कि साढे चार नत्र ढिलोमा पाँच बजेसम्म पुर्‍याउँला ! फेरि अनिश्चित उत्तर फर्काए, उनले । मैले उनीसँग हार मान्नु पर्‍यो । सवाल जवाफको कार्यक्रममा मैले वाकोभर दिएँ ।
त्यसपछि मैले प्रश्न गरिनँ । चुपचाप बसेँ ।
“अन्त (अनि त) सर पनि हाम्रो पूर्वतिर जाने ?” उनको पहिलो प्रश्न थियो – मलाई ।
मैले टाउको हल्लाएँ ।
“घर कहाँ नी सरको ? उनको अर्को प्रश्न ।”
म्याग्दी !
“ए, बागलुङतिर ?”
के को बागलुङतिर ? म्याग्दी म्याग्दीतिर नै छ नी ! झोक्किन मन लागेथ्यो तर संयम भएँ । र, जवाफमा मैले टाउको हल्लाएँ ।
“के कति कामले हो कुन्नी ?”
मलेरिया सम्बन्धी कार्यक्रममा हो, तीन महिनाको लागि । मैले स्पष्ट पार्न चाहेँ ।
“हाम्रोमा पनि सुपानेट (किटनाशक झुल) देको छ । तर मच्छर लाग्दैन ! पहाडतिर पर्छ हाम्रो गाउँ ।”
ए, त्यो दिने संस्था अर्कै हो । तर जहाँ जहाँ झुल दे’को छ तहाँ तहाँ हामीहरू पुग्छौं – झुलको प्रयोग सिकाउन । मैले जवाफ दिएँ ।
“अन्त सरको शुभनाम ?” प्रसङ्ग बदल्दै उनले सोधेँ ।
मनबहादुर । मैले ढाँटेर भनेँ ।
“कस्सम ?” उनले पत्याएनन् सायद !
ल किन नी ? मेरो नामै त मनबहादुर हो ! नपत्याएँको ?
“हैन, हैन । पत्याएँ । मेरो नाम पनि मनबहादुर नै हो ! अनि हजुर मनबहादुर के ? म त राई !”
उनले राई भन्दा बित्तिकै म झसंग भएँ । राई त बढो रिसाहा हुन्छन् । हाम्रोतिर यस्तै विश्वास छ ! अब आफूलाई सच्चाउन आवश्यक ठानेँ र भनेँ – “सुन्नु न ! त्यो मनबहादुर चाँहि मेरो न्वारनको नाम हो पुरेतले राख्देको । असली चाँहि नीराजन हो । म थापा हुँ ।” खासमा न्वारनको मेरो असली नाम मनबहादुर हैन, कुरा मिलाउन एउटा झुट आवश्यक देखेर बोलीदिएँ खासै प्रतिक्रिया दिएनन् उनले ।
हाम्रो वार्तालाप एकछिन स्थगित भयो । उनले सिटमुनिबाट चाउँचाउँको कार्टुन बाहिर निकाले र त्यहाँ भित्र राखिएका चार पाँचवटा चल्लाहरुलाई पानी दिदै भने – “यो चेक गर्न लान आँटेको सर – उता पहाडमा । काठमान्डुबाट ल्याएर आएको हाम्रोतिर हुन्छ कि हुन्न चेक गर्न !” मैले उनलाई ढाढस दिदैं बोलेँ – “होला नी । किन नहुनु?” पानी दिएपछि मनबहादुरले कार्टुन फेरि सिटमुनि नै छिराए ।
बस धार्केमा आएर रोकियो । मनबहादुर म नास्ताका लागि झर्‍यौं । अरु यात्रुहरु पनि झरे । तर पहेंलो टिसर्टवाली र उसकी साथी अझै निदाइरहेका थिए । मैले ‘उठनुस’ भनिनँ !
एउटा पुरी, मासु र तर्कारीको गरेर १८० रू. पर्छ ! साहुनीले मूल्य सुनाई । मैले तीन घण्टा पहिले काठमान्डुमै खाएको खाजा सम्झेँपछि भने खास खान मन नलागेको अनुभव भयो । मनबहादुरले पनि खाएनन् । बसमा उक्लदै गर्दा, केहि महिना पहिलको खबरपत्रिकाहरूमा प्रधानमन्त्री बाबुरामले हाइवेका खाजा/खाना पसलको निरीक्षणमा आएको र ‘रिजनेवल प्राइस’ मा खाना/खाजा बेच्न अर्‍हाएको समाचार पढेको याद भयो । याद मात्र भयो, तर यत्रो पैसा कसरी हुन्छ जाबो त्यति खानेकुराको ? सोध्न डर लाग्यो !

रूखबाट खस्दा घाइते

रत्नेचौर १, घर्तिथर निवासी ४० वर्षिय सहनशिला पुन काप्राको रूखबाट खस्दा घाइते भएकी छन । हिजो बिहिबारका दिन अचार खानलार्इ काप्राको फुल टिप्ने क्रममा उनी रूखबाट खसेकी हुन । उनको बाँया हातको हड्डी टुक्रनुका साथै पिठ्युमा पनि चोट लागेको छ । घाइते पुनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । हाल उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताए । ४-५ दिनको आराम पछि उनलार्इ डिस्चार्ज गरिने चिकित्सकलार्इ उदृत गर्दै उनका आफन्तले बताए । विभिन्न महिला तथा ब्यवसायिक समूहकी क्रियाशिल सदस्य पुन रत्नेचौर गा.वि.स. कै अनुकरणीय ब्यावसायिक अगुवा कृषक हुन ।

 

दोश्रो दिनसम्म ११ लाख जम्मा, युवाहरूको स्वयंसेवा प्रशंसनीय

  • शंकर महतको सहयोगमा

आजसम्म प्राप्त जानकारी अनुसार करिब ११ लाख जम्मा भएको छ । हिजो यज्ञको दोश्रो दिन हिमालय बाबा रू १ लाख १, एकेन्द्र रावल ५ हजार १ सय ५, लक्ष्मीदेबी कँडेल, चितवन ५ हजार १ सय ५१, बिष्णुप्रसाद शर्मा तित्याङ, बागलुङ ५ हजार ५ सय ५१, दिलकुमारी रावलले, रू. ७ हजार १ सय प्रदान गर्नु भएको छ । त्यसैगरी यज्ञको तेस्रो दिन आज पनि उल्लेखनीयरूपमा रकम जम्मा हुन गएको जानकारी प्राप्त भएको छ । दशरथ श्रेष्ठ .न.पा.२, बागलुङ १ लाख ११ हजार १ सय ११, गोबिन्दबहादुर बोगटी रू १ लाख, सन्तोष रावल ले रू, ५१ हजार प्रदान गर्नुभएको छ । यज्ञमा प्राप्त सहयोगको पूर्ण विवरण यसै ब्लग मार्फत शिघ्र सार्वजनिक गरिनेछ ।
रत्नेचौरबाट संवाददाता शंकर महतका अनुसार यज्ञमा दर्शन गर्न आउने श्रद्दालुहरूको बाक्लो उपस्थिती रहेको छ । साथै श्रद्दालुहरूको उपस्थितीले समस्त गाउँको रौनक नै हेर्नलायकको छ । स्थानीय ब्यापारमा उल्लेख्य बृद्दि भएको छ । यज्ञमा रत्नेचौर युवा क्लबका सदस्यहरूले स्वंयसेवकको भूमिका जिम्मेवारी पूर्वक बहन गरेको र आयोजक तथा यज्ञमा आएका श्रद्दालुहरूले युवाहरूको स्वंयसेवा कार्यको मुक्तकण्ठले प्रंशसा गरेका छन ।