प्रस्तुत फोटो उमेश भाईले किन र कुन मोडमा खिचे मैले यस ब्लगमा यसै भनेर भन्न सक्दिन तर पृष्ठभूमीमा देखिएको धौलागिरि हिमालको मनमोहक दृश्यले सायद उनलाई लोभ्याएर यो फोटो खिचेका हुन् कि भन्ने सम्म अनुमान गर्न सक्छु । उनले जे जति कारणले यो फोटो खिचेको भए पनि फोटोमा एउटा इट्टा भट्टा र त्यसबाट निक्लीरहेको धुँवाले हाम्रो गाउँमा पनि केही व्यवसायिक गतिविधीहरू हुन थालेका छन् भन्नु अस्वभाविक हुँदैन् ।
फोटोमा देखिएको ईट्टा भट्टा युवा व्यवसायीद्धय कुलबहादुर महत र दानबहादुर महत (शंकर) दाजुभाईहरुले संचालन गरेका हुन् । उनीहरुको बाहेक अहिले रत्नेचौर गाउँभरी झण्डै आधा दर्जन इट्टा भट्टीहरु संचालनमा छन् । दुई जिल्ला सदरमुकामहरू बाग्लुङ र बेनीको मध्यभागमा पर्ने भएकाले पनि यस गाउँमा थुप्रै व्यवसायिक संभाव्यताहरु रहेका छन् जस मध्ये एउटा इट्टा उत्पादन तथा यसको विक्री वितरण पनि हो । यसरी महत दाजुभाईले झैं अरु युवाहरुले पनि विभिन्न व्यवसायहरु कुखुरा पालन, तरकारी खेती, भुजा उत्पादन तथा विक्रीवितरण, पशुपालन, दुग्ध व्यवसाय तथा होटल व्यवसाय गर्ने हो भने खाडी मुलुकमा बगाउने पसिनाको मूल्यभन्दा आफ्नै गाउँमा बढी लाभ लिन सकिने देखिन्छ ।
चौरेली युवाहरुको नयाँ वर्ष ?
नयाँ वर्ष मनाउने सबैका आ–आफ्नै तौरतरिकाहरु हुन्छन् । ती सृजनात्मक वा रचनात्मक पनि हुन्छन् । र, कतिपयले साथीभाई एकै ठाउँमा भेला भै रमाईलो साथ नयाँ वर्ष मनाउने गर्दछन् । र, हामी केही चौरेली युवाहरुले चाहिँ २०६६ को निराश वर्षको अन्तिम दिन हामी मध्ये धेरैका लागि उति लाभदायक नभएकाले सफ्ट ड्रिंक र चिकेन खाएर रमाईलो गर्यौ । धेरैले यसलाई नराम्रो अर्थमा लेलान् । तर हामीले जुनियर वा सिनियरको घेरालाई तोडेर सबै एकै ठाउँमा भेला भै अति संयमित तरिकाले ड्रिंक्स गर्ने काम गर्यौं । हामीले त्यहाँ पिउने र पिलाउने काम मात्र होइन् हाम्रा गाउँका युवाहरुलाई एकत्रित पारी रत्नेचौर युवा क्लबलाई छिट्टै नै सक्रिय बनाउने योजना पनि बनाएका थियौं र त्यो काममा अहिले निरन्तर लागि परेकै छौं ।
जेहोस्, हाम्रो चीरपरिचीत रमाईलो गर्ने जक्सन “झलक दाई” को पसलमा के थिएन र हुँदैन् हामीले सबथोक पाउँछौं । र, त्यो दिन पनि हर्षोल्लास साथ त्यो इभ मनायौं । हुन् त हामीले रमाईला गफगाफहरु धेरै गर्यौ तर त्यसको अर्थ कहिल्यै यस्तो नहोस् कि हामी युवाहरु गम्भिर छैनौं । त्योदिन त्यहाँ भेला भएका थुप्रै साथीहरुले जम्मा एक चिजको कमीको महशुस गरे । हो, हामीसँग सिर्फ एक चिजको कमी थियो – रसिक झलक दाई !
दिलकुमारी थापाको निधन
रत्नेचौर १ किराखोर निवासी ७५ वर्षीय दिलकुमारी थापाको बैशाख १ गते उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । लामोसमयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित स्वः थापाको आज बैशाख २ गते रत्नेचौर –५, स्थित झिल्पोक भन्ने स्थानमा दाहसंस्कार गरियो । स्वः थापाका एक मात्र छोरा शिव थापा रोजगारीका शिलशिलामा मलेशियामा कार्यरत रहेको हुँदा क्रियाकर्म नीजका देवर सोमबहादुर थापाले गर्नुभएको छ ।
प्राचिन महत्वको बुढो पोखरी
रत्नेचौरका सम्पूर्ण भूमी पुत्र तथा पुत्रीहरूलाई तल प्रस्तुत गरिएको फोटोसँग सम्बन्धित इतिहास तथा आफ्ना अनुभवहरू जे–जस्ता छन् कमेन्टका रुपमा लेखिदिनु होला !
वि.सं. १८२५ भन्दा पहिले नै रत्नेचौर बासीले यसलाई खानेपानी जम्मा गर्न लागि बनाइएको भनिने यस पोखरीसँग थुप्रै किस्साहरू जोडिएर रहेका छन् । मैले सानो छँदा बुढापाका मान्छेहरुबाट सुने अनुसार दोश्रो फोटोमा देखाइएको नीलो घेराभित्रको क्षेत्रमा नागहरू बस्ने र नीलो रेखाले देखाइएको पोखरीको बिचमा ठडाइएको काठको स्तम्भ (मौलो) वरिपरी आएर जम्मा हुने गर्दथे रे ! यस कुरामा के कति विश्वसनीयताका आधारहरु छन् वा होलान् त्यो त अध्ययन कै विषय नै हो तथापी हाम्रो गाउँमा मानिसहरुको बसोवास धेरै पहिले देखि नै भएको आधारस्तम्भका रुपमा हामीले यस पोखरीलाई लिन सक्दछौं । रत्नेचौरमा जन्मेर यो पोखरीमा भैंसी हुल्न आउनेहरु अहिले कहाँ कहाँ पुगिसके त्यसको हिसाब किताब यो पोखरीले खोजीरहेछ ।






