एकता अर्जम सांस्कृतिक समुह को आयोजना मा यहि मिती २०६८ असोज २० गते बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो। माननिय सभासद गोबिन्द पौडेल को प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा नेत्र महत, नर बहादुर थापा मगर, राजकुमार थापा मगर, आइत परियार लगायतका राजनितिकर्मीहरुको सहभगिता रहेको थियो।
१९ बर्षीय खमबहादुर थापाको देहान्त
अर्जम/१३ असोज, काठमाडौं रहेर अध्ययन गरिरहेका अर्जम निवासी १९ बर्षिय खमबहादुर थापाको मणिपाल हस्पिटल पोखरामा हिजो उपचारका क्रममा मृत्यु भएको छ । शैक्षिकसत्र ०६४/०६५ मा श्री भानु मा.वि. (हाल उ.मा.वि) बाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेका स्व. थापा बिधालयका मेधावी छात्र भएको सम्झनुहुन्छ शिक्षिका पार्वती थापा ।
निजामति सेवामा प्रवेश गर्नु पूर्व भानु मा.वि.मा अध्यापन गराउनुभएका शिक्षक पहलमान थापाका भार्इ रहेका खमबहादुर थापाले चार्टड एकाउन्टेन्ट दोश्रो सेमेस्टर पढ्दै हुनुहुन्थ्यो । मुटुसम्बन्धी रोग तथा उच्च रक्त चापका बिरामी रहेका आफ्ना भाइको मृत्युको खबर थाहा पाउँदा साथ उनकी सहोदर दिदी पबि थापा बेहोस भएपछि उहाँको बागलुङ हस्पिटलमा उपचार भैरहेको छ । उहाँको स्वास्थ्य स्थिती सामान्य छ ।
इभरग्रीन (बि) सँग रत्नेचौर युवा क्लब स्तब्ध
लामोसमयपछि खेल मैदानमा उत्रेका रत्नेचौर युवा क्लब, रत्नेचौरका खेलाडीहरूको उत्कृष्ट खेल प्रदर्शन हुँदा हुँदै पनि बेनीमा जारी बौद्दकप – २०६८ मा इभरग्रीन युथ क्लब बेनीको बि समूहसँग १ का बिरूद्द ४ गोलले पराजित हुन पुगेको छ ।
आवश्यक तयारी बिना नै मैदानमा उत्रेका चौरेली खेलाडीहरूको प्रदर्शन हेर्न लायक थियो । खेलको १० औं मिनेट नबित्दै चौरेली खेलाडीहरूको डि-बक्समा बल ह्यान्ड भएपछि इभरग्रीनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा १ गोलले अग्रता लिएको इभरग्रीन युथ क्लबको अग्रतालार्इ खेलको ३० औं मिनेटमा चौरेली स्ट्राइकर चित्र किसानले मैदानको मध्यरेखाबाट एक्लै बल अगाडि बढाउँदै विपक्षको डि-बक्समा पुर्याएर गरेको कडा प्रहारलार्इ इभरग्रीनका गोलरक्षकले राम्रोसँग समात्न नसक्दा रत्नेचौर युवा क्लबका डिफेन्डर प्रेम बोगटीले त्यसलार्इ गोलमा परिणत गरेर खेल १-१ को बराबरीमा ल्याउन सफल भएका थिए ।
दोश्रो हाफमा रत्नेचौर युवा क्लबका खेलाडीहरूमा गतिलो तालमेल नमिल्दा इभरग्रीनले खेलमा दोश्रो गोल थप्न सफल रह्यो । इभरग्रीनको दोश्रो गोलको लगत्तै खेलमा बराबरी गर्ने मौका रत्नेचौरका खेलाडीहरूले गुमाउँदा खेलमा इभरग्रीन एकतर्फि हावी भयो । र, खेलमा इभरग्रीनले ४-१ को नतिजा निकाल्दै आफ्नो पक्षमा नतिजा पार्न सफल रह्यो ।
थापाबन्धुहरूको सप्ताह पुराण सम्पन्न
आफ्ना दिवंगत पिता पदमबहादुर थापा तथा अन्य समस्त पितृहरूको उद्दारका हेतूले रत्नेचौर १ र २ निवासी मेघराज थापा, टिकाबहादुर थापा, भूमीराज थापा, सोमबहादुर थापा, रामबहादुर थापा र रूद्रबहादुर थापाले संयुक्त रूपमा एक साताब्यापी सप्ताह पुराण सफलतापूर्वक सम्पन्न गरेका छन । गाउँकै विद्भत पण्डित तथा बनारस भारतबाट संस्कृत दर्शनमा स्नातकोत्तर गरेका सुरेश शर्मा मुख्य वाचक रहेको सप्ताह पुराणमा सयौ श्रद्दालु निम्तालुहरूले भाग लिएका थिए । पितृ उद्दारका लागि सप्ताहब्यापी पुराण लगाउने चलन पछिल्लो केहि बर्षपछि निकै प्रचलित छ । आफ्ना सम्पूर्ण कामकाजहरू छाडेर, एकाग्र भै एक साता भरी कर्ताका रूपमा श्रीमद भागवत गीता पुराणको परायण गर्दा आफ्ना दिवंगत पितृहरूको उद्दार हुने जनविश्वास रहेको पाइन्छ ।
थापाबन्धूहरूले आयोजना गरेको सप्ताह पुराण भाद्र २९ गते प्रारम्भ भर्इ आश्विन ४ गते सफलतापूर्वक सुसम्पन्न भएको थियो ।
(रत्नेचौरबाट फर्केर श्याम खत्री)





