तीन वर्षपछिको हाम्रो भेट

यो अनुपम भेट

हाम्रो गाउँबाट विगत केहि वर्ष यतादेखि अध्ययनका लागि विदेशिएकाहरूको संख्या उल्लेख्य पाइएको छ । अध्ययनका हेतू को पहिले गाउँबाट विदेशियो ? भन्ने आधिकारीक तथ्याङ्क कसैसँग नभए पनि उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या उल्लेख्य रहेकोमा भने दुई मत छैन् ।
यसै साता आफ्नो उच्च शिक्षाका लागि अमेरिकाको टेक्सासमा अध्ययनरत मेरा बालसखा विकाश रावलसँग गाउँ आएको सुअवसरमा उनीसँग विशेष भेट हुने मलाई औसर मिल्यो । जनआन्दोलन भाग २ का घाईते समेत रहेका मेरा मित्र रावल २०६३ को असारमा अमेरिका गएका थिए । कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत मित्रले देशको बिग्रदो परिस्थिती र दलहरुबिच देखिएको तीव्र ध्रुविकरण देख्दा त्यो अप्रिल क्रान्तिमा आफू लगायतका नेपाली जनताले दिएको योगदानलाई राजनैतिक दलले अवमुल्यन गरेको गुनासो समेत पोखे । हामी दुई बिच व्यक्तिगत भन्दा पनि बढी राष्ट्रिय मामलाका विभिन्न घटनाहरू र तीनका अनेकन पाटाहरुका विषयमा छलफल चल्यो । आफ्नो अध्ययन सक्काए पछि नेपालमै फर्की कम्प्युटर विज्ञानको क्षेत्रमा सक्दो योगदान दिने उनको दृढ योजनाले म पानी पानी भएँ । झण्डै दुई प्लेट वफ सेकुवा र चीसो स्प्राइटको अन्तिम चुस्की लिने समयसम्म हामीले देशको वर्तमान परिस्थितीका थुप्रै पाटाहरूका सन्दर्भमा बहस छेड्यौं । तर, छुट्टिने बेलामा यी २४ वर्षीय युवाको आन्दोलनका समयमा टाउकोमा लागेको चोट र भाँच्चिएको दातको निशानी आजपर्यन्त यस्तै देख्दा भने म निकैबेर स्तब्ध रहेँ !

इट्टा व्यवसायमा अग्रसर युवाहरू

इट्टा भट्टीबाट निस्केको धुवा र पृष्ठभुमीमा धौलागिरि हिमाल (फोटो : उमेश थापा)

प्रस्तुत फोटो उमेश भाईले किन र कुन मोडमा खिचे मैले यस ब्लगमा यसै भनेर भन्न सक्दिन तर पृष्ठभूमीमा देखिएको धौलागिरि हिमालको मनमोहक दृश्यले सायद उनलाई लोभ्याएर यो फोटो खिचेका हुन् कि भन्ने सम्म अनुमान गर्न सक्छु । उनले जे जति कारणले यो फोटो खिचेको भए पनि फोटोमा एउटा इट्टा भट्टा र त्यसबाट निक्लीरहेको धुँवाले हाम्रो गाउँमा पनि केही व्यवसायिक गतिविधीहरू हुन थालेका छन् भन्नु अस्वभाविक हुँदैन् ।
फोटोमा देखिएको ईट्टा भट्टा युवा व्यवसायीद्धय कुलबहादुर महत र दानबहादुर महत (शंकर) दाजुभाईहरुले संचालन गरेका हुन् । उनीहरुको बाहेक अहिले रत्नेचौर गाउँभरी झण्डै आधा दर्जन इट्टा भट्टीहरु संचालनमा छन् । दुई जिल्ला सदरमुकामहरू बाग्लुङ र बेनीको मध्यभागमा पर्ने भएकाले पनि यस गाउँमा थुप्रै व्यवसायिक संभाव्यताहरु रहेका छन् जस मध्ये एउटा इट्टा उत्पादन तथा यसको विक्री वितरण पनि हो । यसरी महत दाजुभाईले झैं अरु युवाहरुले पनि विभिन्न व्यवसायहरु कुखुरा पालन, तरकारी खेती, भुजा उत्पादन तथा विक्रीवितरण, पशुपालन, दुग्ध व्यवसाय तथा होटल व्यवसाय गर्ने हो भने खाडी मुलुकमा बगाउने पसिनाको मूल्यभन्दा आफ्नै गाउँमा बढी लाभ लिन सकिने देखिन्छ ।

चौरेली युवाहरुको नयाँ वर्ष ?

दुई दिने जिन्दगी गरौ रमाइलो

नयाँ वर्ष मनाउने सबैका आ–आफ्नै तौरतरिकाहरु हुन्छन् । ती सृजनात्मक वा रचनात्मक पनि हुन्छन् । र, कतिपयले साथीभाई एकै ठाउँमा भेला भै रमाईलो साथ नयाँ वर्ष मनाउने गर्दछन् । र, हामी केही चौरेली युवाहरुले चाहिँ २०६६ को निराश वर्षको अन्तिम दिन हामी मध्ये धेरैका लागि उति लाभदायक नभएकाले सफ्ट ड्रिंक र चिकेन खाएर रमाईलो गर्‍यौ । धेरैले यसलाई नराम्रो अर्थमा लेलान् । तर हामीले जुनियर वा सिनियरको घेरालाई तोडेर सबै एकै ठाउँमा भेला भै अति संयमित तरिकाले ड्रिंक्स गर्ने काम गर्‍यौं । हामीले त्यहाँ पिउने र पिलाउने काम मात्र होइन् हाम्रा गाउँका युवाहरुलाई एकत्रित पारी रत्नेचौर युवा क्लबलाई छिट्टै नै सक्रिय बनाउने योजना पनि बनाएका थियौं र त्यो काममा अहिले निरन्तर लागि परेकै छौं ।

चेस !!!

जेहोस्, हाम्रो चीरपरिचीत रमाईलो गर्ने जक्सन “झलक दाई” को पसलमा के थिएन र हुँदैन् हामीले सबथोक पाउँछौं । र, त्यो दिन पनि हर्षोल्लास साथ त्यो इभ मनायौं । हुन् त हामीले रमाईला गफगाफहरु धेरै गर्‍यौ तर त्यसको अर्थ कहिल्यै यस्तो नहोस् कि हामी युवाहरु गम्भिर छैनौं । त्योदिन त्यहाँ भेला भएका थुप्रै साथीहरुले जम्मा एक चिजको कमीको महशुस गरे । हो, हामीसँग सिर्फ एक चिजको कमी थियो – रसिक झलक दाई !

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू

म यहाँहरुको आफ्नै भाई वा दाजु अथवा साथी तपाईं हाम्रो प्यारो रत्नेचौरको लागि केही गर्न सकिन्छ कि भन्ने लागेर यो सानो प्रयास गर्न लगेको छु । भोली ब्लगिङ गर्दै गएर छिट्टै नै हाम्रो गाउको वेबसाईट लन्च गर्ने मेरो सानो प्रयासमा यहाँहरुको सयोग रहनेनै छ । आश गर्छु म ।