मकैमा घोगा लाग्दैछ, धान रोप्ने काम पर सर्दैछ

पूर्ब मनसुन अर्थात प्रि मनसुन निर्धारित समयमै अर्थात जेष्ठ २८ गते शुरू भएर दुई हप्तासम्म चले पनि मनसुनी वर्षामा नियमितता नभए पछि किसानहरू मर्कामा परेका छन् । केहि वर्ष अगाडिसम्म रत्नेचौर तथा यसका आसपासका छिमेकी गाउँहरू धाईरिङ, मालिका, कुडुँले र गौश्वारामा आषाढ अन्त्यसम्ममा करिब ७० प्रतिशत खेतहरूमा धान रोपिसक्ने गरिन्थ्यो । तर दुई चार वर्ष यतादेखि ठिक–ठिक समयमा खेतीबालिका कामहरू गर्न नसकिएको अनुभव सुनाउनुहुन्छ रत्नेचौर–१ का गोविन्द बोगटी ।

यसपाला मकैमा केहि ढिलो गरी घोगा लागेको र अझै कतिपय खेतहरूमा घोगा लाग्न भर्खर शुरू गरेकाले समेत धान रोप्ने काममा केहि ढिला भएको अनुभव छ, लामगराका युवा कृषक महेन्द्र बोगटीको । रत्नेचौर वार्ड नं. २ स्थित लामाचौर (लाचौर) का मकै नलगाइएका खेतहरूमा भने धान रोप्ने काम फटाफट भएको छ । त्यसैगरी खोलाका छेउछाउका खेतहरूमा पनि धान रोप्ने काम पूरै सकिएको छ । तर रत्नेचौरको मुख्य फाँट मानिने गाउँको बीचको फाँटमा भने धान रोप्ने काम १० प्रतिशत पनि सकिएको छैन् ।

सुन्तला फूल खेल्दै आयो अब त बरिख लाईगयो

बारीमा कोदो रोप्ने काम भने लगभग अन्तिम चरणमा पुगेको छ । तथापि कोदोको बिऊ आवश्यकता अनुरुप उत्पादन हुन नसकेकाले कोदो रोप्ने काम भने केहि प्रभावित भएको छ । कतिपय कृषकहरूले बिऊको अभावमा बारीमा मास तथा स्यालटुङको गेडा छर्न बाध्य भएका छन् ।

भानु मा.वि.बाट ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण

फलामे ढोका मानिने प्रवेशिका परिक्षामा भानु माध्यमिक विद्यालय रत्नेचौरका कुल ५६ जना विद्यार्थीहरू मध्ये जम्मा २२ जना विद्यार्थीहरू मात्र उत्तिर्ण हुन सफल भएका छन् । १५ जना प्रथम श्रेणी र ७ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका हुन् । परिक्षामा उत्तिर्ण विद्यार्थीको नामवली तल उल्लेख गरे बमोजिम रहेको छ । प्रथम श्रेणी ः अर्जमबाट आरती थापा, नीरु आले, सरोज आले, सुजन आचार्य, अन्जु थापा, विष्णुमाया थापा र सन्दिप नेपाली । त्यसैगरी प्रथम श्रेणीमै चौरबाट विदुर किसान, विकास थापा, धना पुन, रत्न थापा, गोविन्द शर्मा र सागर महत । मिलनचोकबाट भानु मा.वि.मा अध्ययन गरेका निलम पुन र विश्वास चापागाई पनि प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएका छन् । द्धितिय श्रेणी ः अर्जमबाट ओमकला थापा, गणेश थापा र विष्णु थापा । त्यसैगरी चौरबाट आश्मी महत, एकेन्द्र बोगटी र बेबिना कार्की । मिलनचोकबाट अनुषा कार्की रहेका छन् ।

सल्लेरीको झाडी सफाइ गरियो

सुजन थापा
२३, जेष्ठ\रत्नेचौर
रत्नेचौर गाविस वार्ड नं. २ स्थित सालघारी सामुदायिक वनको सल्लीबिरल्ली सफा गर्ने काम सम्पन्न भएको छ । जम्मा ५० घरधुरी उपभोक्ता रहेको यस सामुदायिक वनको झाडी तथा झरेको सल्लाको पात बर्षेनी सफा गर्ने काम हुँदै आएको छ । यस पटक पनि समूहको वार्षिक क्यालेण्डर अनुसार झाडी सफा गर्ने काम भएको हो । अन्य वार्डका सामुदायिक वनका उपभोक्ताहरुले समेत आफ्ना सामुदायिक वनको झाडी सफा गर्ने काम शुरु गरेका छन् ।

एकै ठाउँमा थुपारेको सल्लाको सुकेको पातमा आगो लगाइँदै (फोटो:सुजन)

हाम्रो गा.वि.स भवन बन्ने भो’

माओवादी युद्धकालमा देशभर थुप्रै गा.वि.स. भवनहरू विद्रोहीहरूको तारोमा परेका थिए । त्यसमध्ये एउटा गा.वि.स. भवन हाम्रो रत्नेचौर गाउँ विकास समितिको पनि थियो । माओवादीले आफ्ना केहि स्थानीय शुभेच्छुकका साथ र सहयोगमा जलाएको गा.वि.स. भवनको सट्टामा शान्ति तथा पुननिर्माण मन्त्रालयले विनियोजन गरेको लाखौंको बजेटमा चारकोठे पक्की भवन निर्माण गर्ने काम

पुननिर्माणको काम थालिएको गा.वि.स. भवन

 शुरु भएको छ ।

 रत्नेचौर गाविस कै वार्ड नं. ४ घर भै हाल बेनीबजार बस्ने निर्माण व्यवसायी श्रीमती शान्तकुमारी रावलले उक्त भवन निर्माणको ठेक्का पाउनु भएको छ । कुल २१ लाख ९८ हजार ३ सय सन्ताउन्न ३५ पैसाको लागतमा उक्त भवन निर्माणको ठेक्का लिइएको निर्माण कम्पनीका प्रवन्धक वीरेन्द्र रावलले जानकारी दिनु भएको छ । २०६६ चैत्र २६ गते, २०६७ चैत्र २६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि एक तलाको उक्त चारकोठे भवन दशै अगावै सम्पन्न हुने प्रबन्धक रावल बताउनुहुन्छ । निर्माणधिन भवनमा अध्यक्ष, उपाध्यक्ष तथा सचिवका लागि भिन्दाभिन्दै कार्यकक्ष र एउटा सभाहल हुनेछ ।