दिलकुमारी थापाको निधन

मृतक दिलकुमारी थापाको शव

रत्नेचौर १ किराखोर निवासी ७५ वर्षीय दिलकुमारी थापाको बैशाख १ गते उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । लामोसमयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित स्वः थापाको आज बैशाख २ गते रत्नेचौर –५, स्थित झिल्पोक भन्ने स्थानमा दाहसंस्कार गरियो । स्वः थापाका एक मात्र छोरा शिव थापा रोजगारीका शिलशिलामा मलेशियामा कार्यरत रहेको हुँदा क्रियाकर्म नीजका देवर सोमबहादुर थापाले गर्नुभएको छ ।

अर्जममा मोटरसाईकल दुर्घटना

 

दुर्घटनाग्रस्त मोटरसाइकल

 भकिम्ली ग्रामिण सडकखण्डको स्तरोन्नती नहुँदा यस भेगका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् । अफ्ठेरो सडक तथा यस सडकखण्डमा गुड्ने सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु चढाउने कार्यले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यसै बिचमा गत चैत्र १९ गते साँझ यस सडक खण्डको रत्नेचौर – ६ अर्जम स्थित रामचन्द्र नि.मा.वि. भन्दा ५० मिटर माथिको सडकबाट म्याग्दी कालि संचार सहकारीको ग ३ प ४१०८ को मोटरसाईकल सडकबाट झण्डै १०० मिटर तल गणेश मन्दिरमा झर्दा त्यसमा सवार उक्त संस्थाका प्राविधिक विजय गुरुङ गम्भिर घाईते भएका छन् । अफ्ठेरो बाटो र उच्च गतिका कारण दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी अर्जमवासीले बताए । उक्त दुर्घटना गाउँको बिचमा नभै कुनै निर्जन ठाउँमा भएको भए घाईते गुरुङको घटनास्थलमै मृत्यु हुन सक्ने प्रत्यक्षदर्शीले आशंका व्यक्त गरे । गाउँको बिचमा दुर्घटना भएकाले तत्काल उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ् पुर्‍याई प्राथमिक उपचार पश्चात पोखरा स्थित मणिपाल हस्पिटलको सघन उपचार कक्षमा दुई दिनको उपचार पछि निजको होश खुलेको बताईएको छ ।

रातो घेरामा मोटरसाइकल खसेको स्थान, पहेंलो धर्को मोटरसाइकल झर्दाको सम्भावित क्षेत्र