तीन वर्षपछिको हाम्रो भेट

यो अनुपम भेट

हाम्रो गाउँबाट विगत केहि वर्ष यतादेखि अध्ययनका लागि विदेशिएकाहरूको संख्या उल्लेख्य पाइएको छ । अध्ययनका हेतू को पहिले गाउँबाट विदेशियो ? भन्ने आधिकारीक तथ्याङ्क कसैसँग नभए पनि उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या उल्लेख्य रहेकोमा भने दुई मत छैन् ।
यसै साता आफ्नो उच्च शिक्षाका लागि अमेरिकाको टेक्सासमा अध्ययनरत मेरा बालसखा विकाश रावलसँग गाउँ आएको सुअवसरमा उनीसँग विशेष भेट हुने मलाई औसर मिल्यो । जनआन्दोलन भाग २ का घाईते समेत रहेका मेरा मित्र रावल २०६३ को असारमा अमेरिका गएका थिए । कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत मित्रले देशको बिग्रदो परिस्थिती र दलहरुबिच देखिएको तीव्र ध्रुविकरण देख्दा त्यो अप्रिल क्रान्तिमा आफू लगायतका नेपाली जनताले दिएको योगदानलाई राजनैतिक दलले अवमुल्यन गरेको गुनासो समेत पोखे । हामी दुई बिच व्यक्तिगत भन्दा पनि बढी राष्ट्रिय मामलाका विभिन्न घटनाहरू र तीनका अनेकन पाटाहरुका विषयमा छलफल चल्यो । आफ्नो अध्ययन सक्काए पछि नेपालमै फर्की कम्प्युटर विज्ञानको क्षेत्रमा सक्दो योगदान दिने उनको दृढ योजनाले म पानी पानी भएँ । झण्डै दुई प्लेट वफ सेकुवा र चीसो स्प्राइटको अन्तिम चुस्की लिने समयसम्म हामीले देशको वर्तमान परिस्थितीका थुप्रै पाटाहरूका सन्दर्भमा बहस छेड्यौं । तर, छुट्टिने बेलामा यी २४ वर्षीय युवाको आन्दोलनका समयमा टाउकोमा लागेको चोट र भाँच्चिएको दातको निशानी आजपर्यन्त यस्तै देख्दा भने म निकैबेर स्तब्ध रहेँ !

पसिना बगाए यहि फल्छ मोती

अञ्चलमा अति नै प्रतिष्ठित गैर्‍हसरकारी संस्था धौलागिरि सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा कृषि प्राविधिकका रुपमा १३ वर्षसम्म जागिर गरेपछि उहाँलाई थाहा लाग्यो – जागिर खाएर प्रगति लगभग असम्भव छ । जागिर जीविकोपार्जनका लागि भन्दा पनि बढी निर्वाहमुखी मात्र भयो भन्ने उहाँले ठम्माउनु भयो अनि उहाँको दिमागमा एउटा योजना फुर्‍यो – राम्ररी उपयोग हुन नपाएको आफ्नै बारीमा व्यावसायिक तरकारी खेती गर्ने ! उहाँ अर्थात रत्नेचौर –४ निवासी ४१ वर्षिय नीरबहादुर थापा ।
घरनजिकैको धारामा खेर गईरहेको पानीलाई संकलन गर्नका लागि २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरिसकेपछि उहाँ आफ्नो व्यवसायिक सफलतामा अझ अरू ढुक्क हुन सकेको बताउनुहुन्छ । अहिले उहाँको बारीमा लगभग १२ क्विन्टल उत्पादन दिन सक्ने करेलाका बोटहरू छन् । तर लामोसमयदेखि गाउँमा पानी नपर्नाले उहाँ अलिकति चिन्तित पनि हुनुहुन्छ । तर जब उहाँका आँखाहरू आफ्नो २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरीमा पुग्छन् अनि उहाँ केही आशावादी बन्नुहुन्छ । र, मुस्काउँदै निश्चिन्त हुनुहुन्छ – कि सिंचाईको समस्या भने पर्दैन् । पर्न दिदिँन् । खाडीको टाउको दुख्ने घाममा गैची बेल्ता गर्ने आफ्नै गाउँले दाजुभाईप्रति उहाँलाई ठूलो दया जागेको महशुस हुने बताउँदै उहाँ भन्नुहुन्छ, “खाडीमा बगाउने पसिना आफ्नै गाउँ ठाउँमा बगाउने हो भन्ने शिर उठाएर जिउन सकिन्छ । भर्खर मात्र व्यवसायिक तरकारी खेतिमा कटिबद्ध भएर लागि पर्नु भएका थापा एकदिन जिल्लाकै नमुना तरकारी उत्पादक हुन सक्ने विश्वास ब्यक्त गर्नुहुन्छ, उहाँकै छिमेकी तथा चीरपरिचित समाजसेवी टेकबहादुर रावल । उहाँको व्यवसायिक तरकारी खेतीको सफलताका लागि हाम्रो पनि शुभकामना !

एकैदिनमा दुईको मृत्यु !

आज एकैदिन बैशाख २९ गते हाम्रो गाउँमा २ जना बयोबृद्धको देहावसान भएको छ । आज बिहानै करिब ४ बजे रत्नेचौर–३, निवासी ८७ वर्षीय वयोवृद्ध भैरबबहादुर बोगटीको मृत्यु भएको हो । २ छोरा र ४ छोरीका पिता स्वः बोगटी गाउँमा धेरै वर्ष बाँच्नेहरु मध्ये एक हुनुहुन्थ्यो । स्वः बोगटी भारतीय सेनाको रिटायर्ड सुवेदार समेत हुनुहुन्थ्यो । रत्नेचौरका बोगटीहरूको लागि एक जिम्मेवार अभिभावकको भूमिका खेल्दै आउनुभएका बोगटीको निधनले विशेषत ः बोगटी बन्धु सेवा समाजले आफ्नो एक जिम्मेवार संरक्षक गुमाएको छ ।

त्यसै गरी रक्सीका पारखीहरु माझ मीठो रक्सी बनाउनमा प्रख्यात रत्नेचौर १ निवासी ७६ वर्षीया बसन्धरी थापाको दिउँसो २ बजे निधन भएको छ । पछिल्लो समय उहाँ श्वासप्रश्वास सम्बन्धी रोगबाट आक्रान्त हुनुहुन्थ्यो । रक्सी उत्पादन गरी व्यावसायिक जीवन निर्वाह गर्दै आउनुभएको उहाँको निधनले कम्तीमा पनि उहाँले उत्पादन गरेको मीठो रक्सीको स्वाद लिएकाहरूले जीवनमा सायदै दोहोर्‍याएर अब यस्तो मौका पाउने छन् ।

खेलाडी जन्माउन नसकेको बुढो चौर

एकताका विश्व फुटबल जगतमा डेभिड बेकह्याम छाईरहदा हामी थुप्रै चौरेली ठीटाहरुको एउटै मात्र सपना बेकह्यामले जस्तै फ्रि–किक हिर्काउनु हुन्थ्यो । अनि हामी मध्ये थुप्रैले रोनाल्डो र काकाको नक्कल गर्न पनि पछि पर्दैनथ्यौं । अझ हाँसो उठ्दो कुरो त हामी मध्ये धेरैलाई ब्याक्की बस्न अल्छी लाग्दो हुन्थ्यो । बाफरे, हामी त सबका सब स्ट्राइकर अर्थात बेकह्याम, रोनाल्डो, हेनरी अनि जिदान ! हुँदा हुँदा भर्खर बलसँग अभ्यस्त भएका एकाध गोलकिपरहरु समेत ओलिभर कान हुन हुरुक्कै ! अनि साँच्ची मैले त लेख्नै बिर्सेको, डि–बक्सभित्र विपक्षीले फल गरे पछि प्राप्त पेनाल्टी हान्न गोलकिपर बाहेकका हामी सबै तत्पर हुन्थ्यौं । हामी सबैका आ–आफ्नै नियम हुन्थे । एक जना “हेन्ड, हेन्ड, बल रोक” भन्दै चिच्याइरहेको हुन्थ्यो भने अर्को चाहिँ “कहाँ हुन्छ हेन्ड? कुममा पो लागेको हो” भन्दै बल अगाडि बढाइ रहेको हुन्थ्यो । अहिले सम्झदा पनि हाँसोको फोहोरा छुट्न थाल्दछ । अनि गम्भिरतापूर्वक सोच्न मन लाग्छ, यति ठूलो क्रेज हुँदा हुँदै पनि आखिर हाम्रा गाउँबाट किन एकजना पनि व्यवसायिक खेलाडी बन्न सकेनौं ?
खेलकुदका लागि हामी किशोरदेखि भारतीय सेनाका निवृत्त भएका भू.पु. सैनिकहरु पनि लागेकै थिए । उनीहरुले बनाईदिएको बास्केटबल कोर्टमा तिज तथा दशैंको अबसरमा कहिलेकाही खेलहरु आयोजना नभएका पनि होईनन् । अझ लेख्नै पर्ने त, हामी मध्ये कतिपयहरु बास्केटबलका राम्रा र सम्भावित खेलाडीका रुपमा परिचित हुन थालेका थियौं । आखिर प्रख्यात बास्केटबल प्रतियोगिता एनबिएमा क्लबहरूले प्रदशर्न गर्ने खेल र उनीहरूको टिमवर्कको कुराका बारेमा आफूले जाने नजानेका कुराहरु बख्यान लगाउन बाहेक हामीले केहि प्रगति पनि गर्न सकेनौ ! अब हाम्रो  मुर्खाइका अघि विचारा ती निवृत्त बृद्ध सैनिकहरुको के जोड लाग्थ्यो र ! आफ्नो कमाईको केही अंश बास्केटबल खेलको विकास गर्न खोजेका थिए तर त्यो अनुत्पादक लगानी बाहेक केहि हुन सकेन । आखिर उनीहरुको लगानी जे जस्तो भए पनि त्यो लगानीलाई एकत्रित गरी आफूले सिकेको बास्केटबल खेल्ने सिप युवाहरुलाई सिकाएर उत्कृष्ट बास्केटबल खेलाडी बनाउन लागि परेका हर्कबहादुर रावल, टेकबहादुर रावल, भेषबहादुर रावल तथा लालबहादुर खत्री जस्ता होनहार भू.पु. हरुको सपना आजपर्यन्त पूरा हुन सकेको छैन् । बरु ती श्रद्धेय ब्यक्तित्वहरुको नेतृत्वमा बनाइएको बास्केटबल कोर्ट सुनसान मसानघाट जस्तो लम्पसार परिरहेको छ ।

सुनसान बास्केटबल कोर्ट

भलिबलमा भने हाम्रा एकदुई जना अग्रजहरुले जिल्लास्तरमा समेत नाम कमाएको कुरा अहिले पनि मेरो सम्झनामा ताजै छ । दुर्गा श्रेष्ठ र विष्णु थापाहरु राम्रा स्पाइकरका रुपमा परिचित नाम थिए । तर यति हुँदा हुँदै पनि भलिबलका क्षेत्रमा पनि हाम्रो गाउँले गर्व गर्ने लायकको कुनै खेलाडी पाउन सकेन । विभिन्न समयमा गाउँस्तरीय भलिबल प्रतियोगितहरु पनि आयोजना गरिएका थिए । मलाई राम्ररी याद छ, ती कुनै पनि प्रतियोगिता कहिल्यै पनि विवादमुक्त रहन सकेनन् । गाउँकै भद्र भलादमीहरुले विवाद मिलाउनुको साटो, आफ्नो खुर्पेटोबाट आँसी झिकेर नेट काट्न कस्सिएको घटनाले अझै पनि लज्जित पारेको अनुभूति हुन्छ ।
पछिल्ला चारपाच वर्ष यतादेखि भने हामीहरु क्रिकेट खेल्ने काममा निकै नै अभ्यस्त बन्दै आयौं । विशेष गरी बागलुङ बस्ने हाम्रा सहकर्मी शिव बोगटी क्रिकेट एशोसियन अफ नेपाल, बागलुङमा अध्यक्ष बनेपछि यसको क्रेजलाई रत्नेचौरमा स्थापित गर्न खोजेका थिए, र उनको अभियानमा प्रत्यक्ष सहभागी हुन पुगे विशेष गरी इन्डियामा अध्ययन गर्न गएका बहालवाला तथा भू.पु इन्डियन आर्मीका छोराहरु अर्थात हाम्रा अग्रज तथा सहकर्मीहरु गोपाल रावल, रिक्की पुन, गणेश रावल र दलबहादुर रावल लगायतका युवाहरु । तथापि क्रिकेट अभियानले पनि त्यति प्रभाव छाड्न सकेन गाउँमा । जब जव पाकिस्तान, अष्ट्रेलिया, भारत, श्रीलंका, दक्षिण अफ्रिका तथा इंग्लाण्डबीच एकदिवसीय म्याचहरु हुन्थे गाउँमा पनि क्रिकेट क्रेज हुरुक्कै बढेर जान्थ्यो अनि जब ती देशहरुबीच एकदिवसीय म्याच हुदैँनथे तब हाम्रो क्रिकेटले पनि लोप्पा खान्थ्यो ।
यसरी विशेष कालखण्डमा विशेष खेलहरु खेलिए । अनि फेरि ती बन्द गरिए । कुनै पनि खेलमा नियमित अभ्यास नै हुन पाएन । अनि ती फेरि कहिल्यै नउठ्ने गरी लगभग बन्द भए । र, हामीले त्यतिखेर खेल्ने मैदानहरु अहिले शुन्य प्राय ः बन्दै गए । तैपनि कहिले काही गाउँ जाँदा स–साना बालकहरु क्रिकेटको ब्याट र रबरको बल समात्दै खेल मैदानमा क्रिकेट खेलिरहेको देख्छु अनि मनमा एकाएक एउटा भावना जागेर आउँछ, सबैसँग समन्वय गरेर सुस्ताएको बास्केटबल, भलिबल, फुटबल र क्रिकेटलाई एकैसाथ ब्युँताऊ र पवित्र रत्नभूमिबाट तेन्दुलकर, बे्रटली, लारा, म्याडोना, रोनाल्डो र मेस्सीहरु उत्पादन भएको हेर्न पाऔं ! मनको भित्रीकुनाबाट कतै विझाएर आउँछ, तर यो सजिलो विषय पनि त होइन !