स्लो बाइकमा महतको पकड

बिजेता बसन्त महत

 

बेनी,म्याग्दी/

अघिपछि अलि गतिमै बाइक हाँक्ने रत्नेचौर २ का बसन्त महतले हिजो आषाढ ६ गते भने अत्यन्तै ढिलो गतिमा बाइक हाँकेर जिल्लामा आयोजित ‘स्लो बाइक रेस’ मा प्रथम स्थान हासिल गरी नगद रू ५ हजार प्राप्त गर्न सफल भएका छन् । जेसिस म्याग्दीले आफ्नो स्थापना दिवसका अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगितमा ३४ जना अरू प्रतिस्पर्धीहरूलार्इ पाखा लगाउँदै महतले शिर्षस्थान हासिल गर्न सफल भएका हुन ।

६० मिटरको दुरी निर्धारण गरी सवै भन्दा ढिलो बाईक हाँक्नेले जित हात पारेका हुन् । बाईक स्टार्ट गरेपछी बन्द गर्न नपाईने, निर्धारित सिमाभन्दा बाहिर जान नपाईने र भुइमा खुट्टाले टेक्न नपाईने जस्ता नियमहरुलाई पालना गर्दै महतले २ मिनेट ३० सेकेन्डमा उक्त दुरी पारेका थिए । उनीभन्दा २३ सेकेण्ड अगाडि उक्त दुरी पार गर्ने अर्का एक जना प्रतियोगि स्पर्धामा द्भितीय भएका थिए । 

रत्नपुत्र महतको यस सफलताका लागि हाम्रो ब्लगका तर्फबाट हार्दिक बधार्इ तथा उत्तरोत्तर प्रगतिको कामना छ ।

झण्डै बगाएन बरूवाले …

बरूवा खोलाको बगर नियाल्दै । तस्बीरः हिमाल कार्की पप्पे
एक रात एकाध घण्टा पानी दर्कदा यहाँका खोलाहरुमा पानीको सतह यति माथि आउँछ भन्ने थाहा भएको भए म कुनै हालतमा मोटरसाइकल हाँकेर साउनेको उकालो चढ्ने नै थिइँन । तर त्यो शनिबार मलाई रानीबास पुग्नु थियो । दुईटा माध्यमिक विधालयका  कक्षा ५ देखि १० का भाईबैनीहरुलाई मलेरिया र सुपानेट झुलका बारेमा कक्षा लिनुपर्ने थियो । तसर्थः कार्यालयबाट संस्थाकै रातो गल्यामर बाइकमा उत्तरतिरको पहाडतिर हुँइकिएँ । झण्डै २ कि.मी टाढा उत्तरतिर आइपुगेपछि बरुवा खोलामा मैले ४ नम्बरमा हाँकिरहेको मोटरसाइकलको गियर डाउन गरेँ । बाइक खोलाको मध्य भागमा गएर टक्क रोकियो । पानीले बाइकसँगै झण्डै मलाई पनि बगाएको ! १ नम्बर गियरमा खोला तरिरहेको ठानेको मैले २ नम्बर गियरमा बाइक खोला पार गराउँदै रहिछु । फेरि गियर डाउन गरेँ । र, खोला तरेँ ।
खोला तर्दा पानीले झण्डै बगाएको घटनाले भन्दा आधा शरीर पानीले निथ्रुक्क भिजाएकोमा मलाई बढी चिन्ता लाग्यो । झोलामा अर्को जोर कपडा पनि राखेको थिइँन । किनकी भोलीपल्ट त म फेरि गाईघाट नै फर्किदै थिएँ । यस्तो बेला आमाले भनेको एउटा कुरा सम्झदा सम्झदै पनि वास्ता नगरेकोमा पश्चाताप हुन्छ – यात्रामा निस्कदा कम्तीमा पनि अर्को एक जोर कपडा चाँहि राख्नु पर्छ हैं ! तर म यसपाली पनि पानीले भिजेको बिरालोको चालमै आफ्नो यात्रामा निस्कँे । खोला तरिसकेपछि देखेँ, तीन थान युवतीहरु बगरमा मतिर नै हेरेर खित्का छाडिरहेका थिए । सायद उनीहरुले ठाने – खुब हिरो बनेको थियो, बल्ल स्वाद खायो ! खुच्चिङ !
साउनेको जंगलको ग्राभेल बाटोमा उकालो चढ्दै गर्दा गाईघाटको पुछारबाट बग्ने त्रियुगा खोला र त्यसको बगर आँखामा झल्कियो । हिउँदमा मृत प्रायः लाग्ने यी खोलाहरु बर्षामा उर्लिएर आउँदा रहिछन् । यी साना खोलाहरुको फराकिला बगर हेरेर पनि मैले सहजै वर्षामा यिनीहरुको वहावको आँकलन गरेको छु । गाईघाटबाट पूर्वतिर बसाहामा पुग्दा त्यहाँका प्रायः घरहरुको स्वरुप देख्दा मलाई आश्चर्य लागेको थियो । ती प्रायः घरका भुँइतला पूरै खाली देखिन्थेँ । अर्थात् भुइँतलाको चारकिल्लामा ढुंगामाटोको गार्हो वा काठले बारिएको पाइएन । बरु काठका पिल्लर ठडाइएर उपल्लो तलामा मात्र मानिसहरु बस्ने गर्दारैछन् । हाम्रो पहाडतिर त मैले यस्ता प्रकृतिका घरहरु भेटेकै थिइँन । पछि थाहा पाएँ – वर्षाको समयमा तल्लो क्षेत्र पूरै डुवानमा पर्ने भएपछि मानिसहरुले यस्तो उपाय अबलम्बन गरेका रहिछन् । 
सामान्य रुपमा बग्न दिइएका नदिहरुका छेउछाउमा बस्ने तराइबासीहरुले त डुबानको यस्तो पिडा खेप्नुपर्दो रहिछ भने छिमेकी राष्ट्रसँगको विशेष सम्झौता मार्फत बाँधिएका बाँधहरुको छेउछाउमा बस्ने तराइबासीहरुको पिडा झन कस्तो होला ? मैले यहाँ आएपछि सुनेको थिएँ – बिधुत र सिचाँइबाट सर्बाधिक फाइदा लिन पाइने दुहाइदिदै बाँधिएका बाँधहरुबाट नेपालीहरु झन बढि पिडीत छन् । हिउँदमा हाम्रा किसानहरुले सिंचाइ गर्ने पानी पाउँदैनन्, बर्षामा आँगन आँगनमा पौडी पोखरी पाउँछन । मैले के पनि सुनेको छु भने देशका बारेमा केही पनि मतलब नराख्ने त्यो जो सुकै नेपाली होस् ऊ ती पानीका ठूला ठूला बाँधहरु बाँधिएका ठाउँमा पुग्यो भने देशलाई अत्यन्तै माया गर्ने नेपाली भएर फर्कन्छ रे । उसका रक्त नलीहरु अझ अरु सक्रिय हुन थाल्छन् रे । र, शरीरभित्र तातो रगत उम्लीरहेको अनुभूत गर्छ अरे !
बरुवाको भेलमा हेलिएको म डेढ घण्टापछि रानीबास पुगेँ । पाइन्ट खासै चिसो थिएन तर जुता भने अझैपनि चिसा न थिए । डाँडोमा पुग्दा बडो आनन्दको अनुभूति भयो । गाईघाटको ३८ डिग्रीको उखरमौलो गर्मीमा उसिनिएको मैले रानीवासको चिसो हावामा सास फेर्न पाउनुलाई स्वर्गको सुखसँग दाँजे । यसलाई उदयपुरकोे वैशिष्टयता मान्नुपर्ला कि एक घण्टाको यात्रा अवधीमा मानिसहरु खाडीको गर्मीदेखि युरोपको जस्तो चिसो हावापानीको महशुस गर्न सक्दछन । 
साँझ खाना खाने बेलामा होटलमा बसेकाहरु कुरा गर्दै थिए – त्यहाँ तल (गाईघाट) मा भन्दा त यता पहाडतिरको सबै कुरा ठिक । पानी उस्तै मीठो । हावा उस्तै शितल । मच्छर पनि नलाग्ने । घर गोठ पानीले डुबाउँला भन्ने पनि भएन । सबै कुरा यतैको ठिक । कसैले यो कुराको प्रतिवाद गरेन । मलाई लाग्यो त्यही भएर त मधेसी नेताहरुमा काठमान्डुमा थातथलो जोर्ने मोह पलाएको होला !

भानु उ. मा.वि. बाट प्रवेशिकामा ६३ प्रतिशत उत्तीर्ण

यस बर्ष भानु उ.मा.वि. बाट प्रवेशिका परीक्षामा संलग्न ३३ जना बिधार्थी मध्ये ३ जना प्रथम श्रेणीमा १७ जना द्धितीय श्रेणीमा र १ जना तृतीय श्रेणीमा गरी कुल २१ जनाले मात्र प्रवेशिका परीक्षा उत्तिर्ण गरेका छन् । जिल्लाका अरू केहि सामुदायिक बिधालयहरूले प्रवेशिकाको नतिजामा शतप्रतिशत सफलता हासिल गरेकोमा भानु उ.मा.वि. बाट भने ६३.६३ प्रतिशत विधार्थीहरू मात्र उत्तीर्ण भएका छन ।

विधालयले आशातित नतिजा हासिल गर्न नसकेको सन्दर्भमा ब्लगका सम्पादक नीराजन शिरीषले बिधालयका बिज्ञान शिक्षक दिनेश बोगटीलार्इ सम्पर्क गर्दा ब्यावस्थापकिय कमजोरी एवं शैक्षिक गुणस्तर कायम गर्न नसकिएकाले यस्तो भएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, नियमित कोचिङ् तथा होस्टेल सुविधाका विषयमा विधालय एवं अभिभावकबीच विशेष सहमती हुन नसक्दा प्रवेशिकामा बिधार्थीले राम्रो गर्न सक्ने अवस्था रहँदा रहँदै पनि त्यस्तो हुन नसकेको हो ।

रत्नपुत्रः केभिन (गणेश) रावल जिल्लाकै कान्छो पप गायक

नवोदित पपगायक केभिन रावल

 

मलार्इ यति धेरै माया नगर कि मरी जाउँला

मलार्इ यति धेरै आफ्नो नबनाऊ कि बाँच्न नसकुँ म ….

यी माथिका हरफहरू कविता वा भावना होइनन् यि हरफहरू त एक प्रेमील युवाका गितका हरफहरू हुन । रत्नेचौर – ४ निवासी खिमबहादुर रावलका एक मात्र पुत्ररत्न २२ बर्षिय गणेश रावल (केभिन) ले हालै एउटा पपगीत रेकर्ड गराएका छन, र यी माथीका हरफहरू उनैका गीतका शब्दहरू हुन । ५ मिनेट ३६ सेकेण्ड लामो मनको कुरा बोलको पपगित प्रेममा आधारित गीत हो । शब्दका चयनका दृष्टिकोणमा पनि अत्यन्तै सुन्दर उक्त गीतको मेलोडी पनि राम्रो छ । सम्भवतः कम उमेरमै गित रेकर्ड गराउने जिल्लाकै उनी पहिलो युवा हुन । बागलुङबजारस्थित डिग्निटी कलेजमा अध्ययनरत रावल क्रिकेटका पनि राम्रा खेलाडी मानिन्छन् । उनीसँग फेसबुकमा जोडिनलार्इ यहाँ थिच्नुस । र, उनले रेकर्ड गरेको गित सुन्न र डाउनलोड गर्न यहाँ थिच्नुस । केभिनलार्इ हाम्रो रत्नेचौर ब्लगको तर्फबाट सफलताको हार्दिक शुभकामना ।