सुजन थापा
२३, जेष्ठ\रत्नेचौर
रत्नेचौर गाविस वार्ड नं. २ स्थित सालघारी सामुदायिक वनको सल्लीबिरल्ली सफा गर्ने काम सम्पन्न भएको छ । जम्मा ५० घरधुरी उपभोक्ता रहेको यस सामुदायिक वनको झाडी तथा झरेको सल्लाको पात बर्षेनी सफा गर्ने काम हुँदै आएको छ । यस पटक पनि समूहको वार्षिक क्यालेण्डर अनुसार झाडी सफा गर्ने काम भएको हो । अन्य वार्डका सामुदायिक वनका उपभोक्ताहरुले समेत आफ्ना सामुदायिक वनको झाडी सफा गर्ने काम शुरु गरेका छन् ।
रिपोर्टिङ गरेर फर्किदै
गाउँमा घट्ने हरेक घटनाहरूलाई विश्वमा छरिएर रहेका रत्नेचौरबासीमा अति छिटो सम्प्रेषण गर्ने हाम्रो अभियानको मुख्य उद्देश्य हो । स्थलगत रिपोर्टिङका क्रममा हुरीबतास, पानी केहि चिजको पनि पर्वाह नहुँदो रहेछ । तलको फोटो गा.वि.स भवनसम्बन्धी स्थलगत रिपोर्टिङ सकेपछि बेनी फर्कदाको हो !
हाम्रो गा.वि.स भवन बन्ने भो’
माओवादी युद्धकालमा देशभर थुप्रै गा.वि.स. भवनहरू विद्रोहीहरूको तारोमा परेका थिए । त्यसमध्ये एउटा गा.वि.स. भवन हाम्रो रत्नेचौर गाउँ विकास समितिको पनि थियो । माओवादीले आफ्ना केहि स्थानीय शुभेच्छुकका साथ र सहयोगमा जलाएको गा.वि.स. भवनको सट्टामा शान्ति तथा पुननिर्माण मन्त्रालयले विनियोजन गरेको लाखौंको बजेटमा चारकोठे पक्की भवन निर्माण गर्ने काम
शुरु भएको छ ।
रत्नेचौर गाविस कै वार्ड नं. ४ घर भै हाल बेनीबजार बस्ने निर्माण व्यवसायी श्रीमती शान्तकुमारी रावलले उक्त भवन निर्माणको ठेक्का पाउनु भएको छ । कुल २१ लाख ९८ हजार ३ सय सन्ताउन्न ३५ पैसाको लागतमा उक्त भवन निर्माणको ठेक्का लिइएको निर्माण कम्पनीका प्रवन्धक वीरेन्द्र रावलले जानकारी दिनु भएको छ । २०६६ चैत्र २६ गते, २०६७ चैत्र २६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि एक तलाको उक्त चारकोठे भवन दशै अगावै सम्पन्न हुने प्रबन्धक रावल बताउनुहुन्छ । निर्माणधिन भवनमा अध्यक्ष, उपाध्यक्ष तथा सचिवका लागि भिन्दाभिन्दै कार्यकक्ष र एउटा सभाहल हुनेछ ।
तीन वर्षपछिको हाम्रो भेट
हाम्रो गाउँबाट विगत केहि वर्ष यतादेखि अध्ययनका लागि विदेशिएकाहरूको संख्या उल्लेख्य पाइएको छ । अध्ययनका हेतू को पहिले गाउँबाट विदेशियो ? भन्ने आधिकारीक तथ्याङ्क कसैसँग नभए पनि उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या उल्लेख्य रहेकोमा भने दुई मत छैन् ।
यसै साता आफ्नो उच्च शिक्षाका लागि अमेरिकाको टेक्सासमा अध्ययनरत मेरा बालसखा विकाश रावलसँग गाउँ आएको सुअवसरमा उनीसँग विशेष भेट हुने मलाई औसर मिल्यो । जनआन्दोलन भाग २ का घाईते समेत रहेका मेरा मित्र रावल २०६३ को असारमा अमेरिका गएका थिए । कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत मित्रले देशको बिग्रदो परिस्थिती र दलहरुबिच देखिएको तीव्र ध्रुविकरण देख्दा त्यो अप्रिल क्रान्तिमा आफू लगायतका नेपाली जनताले दिएको योगदानलाई राजनैतिक दलले अवमुल्यन गरेको गुनासो समेत पोखे । हामी दुई बिच व्यक्तिगत भन्दा पनि बढी राष्ट्रिय मामलाका विभिन्न घटनाहरू र तीनका अनेकन पाटाहरुका विषयमा छलफल चल्यो । आफ्नो अध्ययन सक्काए पछि नेपालमै फर्की कम्प्युटर विज्ञानको क्षेत्रमा सक्दो योगदान दिने उनको दृढ योजनाले म पानी पानी भएँ । झण्डै दुई प्लेट वफ सेकुवा र चीसो स्प्राइटको अन्तिम चुस्की लिने समयसम्म हामीले देशको वर्तमान परिस्थितीका थुप्रै पाटाहरूका सन्दर्भमा बहस छेड्यौं । तर, छुट्टिने बेलामा यी २४ वर्षीय युवाको आन्दोलनका समयमा टाउकोमा लागेको चोट र भाँच्चिएको दातको निशानी आजपर्यन्त यस्तै देख्दा भने म निकैबेर स्तब्ध रहेँ !



