रत्नेचौर, १६ श्रावण
जेहेन्दार तर आर्थिक विपन्नताले उच्च शिक्षा संकटमा पर्न लागेको विदुर किसानको उच्च शिक्षा अध्ययनको भविष्यलाई सुनिश्चित गर्न यस ब्लग मार्फत थालिएको सहयोग अभियानले सफलता प्राप्त गरेपछि यो अभियानलाई निरन्तर चल्ने अभियानका रुपमा विकास गरिएको छ । जेहेन्दार विद्यार्थी सहयोग अभियान नामकरण गरिएको यस अभियानले आफ्नो कार्यक्रम प्रत्येक वर्ष प्रवेशिका परिक्षाको परिणाम घोषणा भए पछि भानु मा.वि. रत्नेचौरमा गर्नेछ ।
श्रावण १६ गते अभियानको पहिलो कार्यक्रम भानु मा.वि.रत्नेचौरको प्रांगणमा सम्पन्न भएको छ । Continue reading
ने.का.को गाउँ अधिवेशन सम्पन्न
नेपाली कांग्रेसले यसै वर्ष आफ्नो महाधिवेशन गर्ने तयारी गरिरहेको बेला ने.का. रत्नेचौरले पनि आफ्नो गाउँ अधिवेशन सम्पन्न गरेको छ । आफ्ना करिब ५ दर्जन संगठित सदस्य र शुभेच्छुकको एक भेलाबाट यहि श्रावण १६ गते बेनीमा आयोजना हुन लागेको जिल्ला अधिवेशनका लागि १० जना प्रतिनिधि छनौट गर्ने काम समेत सम्पन्न गरेको छ ।
छनौट भएका प्रतिनिधिमा ने.का. जिल्ला कार्य समितिका उपसभापति नेत्रबहादुर महत र सदस्य देबी रावल समेत रहेका छन् । अन्य प्रतिनिधीहरुमा गोविन्द शर्मा, कमला किसान र मिनबहादुर खत्री (रत्नेचौर–४), चन्द्रकला आले र नन्दकुमार श्रेष्ठ अर्जम त्यसैगरी मोहन महत (रत्नेचौर–२), सन्ते थापा (रत्नेचौर–३) र बिक्रम बोगटी (रत्नेचौर–५) रहेका छन् ।
चाँप, राजनीति र विज्ञापन
यो चाँपको बुटो (रूख) पनि अचम्मको छ । यसका थुप्रै फाईदा रत्नेचौरबासी विशेषगरी वार्ड नं. १, बुढोचौरका बासिन्दाहरूलाई पुग्नु स्वभाविक नै हो । मलाई अझै राम्ररी याद छ – रत्नेचौरमा बाटो नआइपुग्दाको बखत यहि चाँपको बुटोको सामुन्ने भलिबल मैदान थियो, जहाँ मेरा अग्रजहरू भलिबल खेल्ने गर्थे । यसो घुम्दै त्यतैतिर गएको मौका पारी मामाहरूले आफ्नो घडि, ज्याकेट र पर्स आदिजस्ता सामाग्रीहरू रूङने जिम्मा मलाई दिएका हुन्थे । त्यसपछि मेरो जिम्मा हुन्थ्यो चौतारी नपाइसकेको त्यो रुखको जरामाथि बसेर मामाहरूको सामान हेर्ने ।
बर्षैपिच्छे दशैंको बेला त्यही रूखको हाँगामा हालिने पिङ खेल्नका लागि म यति लालयित हुन्थेँ कि राती अबेर सम्म म त्यही बुटोको वरिपरी हुन्थे । पालैपालो गरी पिङ खेल्ने र आफूभन्दा साना वा बराबरका तर केहि कमजोर साथीहरू छन भने त झन पालो मिचीमिची पिङ खेल्ने गरेको सम्झना झल्झल्ती आईरहन्छ ।
सायद २०५३ सालतिरको तिजमा हुनुपर्छ यो रुखको वरिपरी चौतारी चिन्ने काम भएको थियो । त्यसपछि त झन मान्छेहरू भेला हुने विभिन्न विषयमा छलफल गर्ने र निर्णय गर्नेदेखि लिएर दुःख सुखका कुरा गर्ने साझा थलोको रुपमा यो चौतारीको विकास हुन पुग्यो । तर विशेषगरी दुई वा केही व्यक्तिहरू जम्मा भई तेस्रो पक्षको दोहोलो काढ्ने काम हुन थालेपछि भने चौतारीको दुर्नाम हुन थाल्यो ।
अहिले त यो रुखको महत्व यति बढेछ कि बागलुङतिर भर्खर सञ्चालनमा आएका उच्च मा.वि.हरूको विज्ञापन गर्ने थलोको रुपमा विकास भैसकेछ । म्याग्दी जिल्लाका ४१ गा.वि.स.हरू मध्ये आफ्नो गा.वि.स.अति नै सुगम र सुविधायुक्त भएको हाँक दिने हाम्रा गाउँबासीहरू अरू त अरू भानु मा.वि. लाई मा.वि. स्थाई गराई उच्च मा.वि समेत बनाउन पहल गर्दैनन् । अझ हाँसो उठ्दो विषय त नेकपा एमाले म्याग्दीको कमाण्ड गर्नुभएका तथा निवर्तमान जि.वि.स उपसभापति भूपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस म्याग्दीका उपसभापति नेत्रबहादुर महत एवं राप्रपाका जिल्ला अध्यक्ष तथा राजाको प्रत्यक्ष शासनकालका मनोनित उपसभापति एकेन्द्रबहादुर रावल समेत यसै गा.वि.स.का स्थाई बासिन्दाहरू हुनुहुन्छ ।
अनौ समातिरहेका कलिला हात
सायद यहाँहरू मध्ये धेरैले थुप्रै वर्खाहरूमा हलि, बाउसेको काम गर्नु भएको थियो होला –आफ्ना खेत खलियानहरूमा । अनि सायद धानको बिउ रोप्ने कामको पनि मज्जा पक्कै लिनुभएको थियो होला । सायद अहिले ती पलहरू मीठो सम्झना मात्र भएका पनि होलान् । अर्थात यसरी खेतमा गई हलि, बाउसे र खेतालीको काम नगरेको बर्षौ भैसकेको पनि होला ।
अचेल त गाउँघर तिर अनौ समाउने युवा जोश र जाँगर विदेशिएका छन् । विदेशिनुमा उनीहरूको आफ्नै विवशता पनि होलान् । तथापि खेत बारीहरू ढिलो चाँडो रोप्ने र छर्ने काम भने पूर्ववत चलिरहेकै छ । यसपाली श्रावण ७ गते शुक्रबार घर गएको थिएँ । झण्डै २ हप्ता पछि म गाउँ गएको थिएँ । र, शनिवारको दिन फर्कने बेलामा मैले भर्खर एसएलसी उत्तिर्ण भाईले हलो जोतिरहेको पाएँ । मलाई लाग्यो युवा जनशक्तिको अभावमा नौ – दश पढ्दै गरेका थुप्रैले जोत्ने र खन्ने काम गर्नु परिरहेको छ । अझ पाँच छ कक्षामा पढ्ने बहिनीहरूले धान र कोदो रोपिरहेको देख्दा मन त्यसै त्यसै अमिलिदो रहेछ ।
श्रावणको पहिलो हप्ता शुरु हुँदानहुदै रत्नेचौरका ९० प्रतिशत भन्दा बढी खेतहरू रोपिइसकेका छन् ।


