गाईघाटमा मेरा साँझहरू

श्रमीक पार्कमा रहेको स्रष्टा स्मारक । तस्बीरः नीराजन शिरीष

गाईघाट बजारमा शुरुमा पाइला राख्दा लागेको थियो, यो नगरमा मानिसहरुको उती चाप रहेनछ । तर तरकारी बजारतिर साँझतिर डुल्दै जाने काम थालेपछि मेरो पूर्वानुमानले नराम्ररी फेल खायो जसरी हाम्रो मौसम बिभागको पूर्वानुमान शाखाले आज मौसम सफा रहन्छ भनेको दिनमा झमझम पानी पर्दछ ! गाईघाट बजारबाट पूर्वतिर बरुवाको बगर जाने बाटोमा प्रत्येक साँझ लम्वेतान भिड हुन्छ मान्छेहरुको । यहाँ मानिसहरु आफ्ना उत्पादनहरु लिएर प्रत्येक साँझ सडकको दुई किनारमा ब्यवसाय चलाएर बसिहेका हुन्छन । ब्यवसायका लागि सयौं बस्तुहरु सडकमा बिछ्याइएका हुन्छन – तरकारी देखि जिरामसलासम्म, काष्ठकला देखि अरु धातुका बस्तुहरू ! र , अचम्म लाग्दो कुरो त प्रत्येक ब्यापारीहरुकहाँ मानिसहरुको उत्तिकै चाप देखिन्छ । मानिसहरुको बार्गेनिङ चलिरहेको हुन्छ । जस्तो ३० रुपैया केजी भन्टा छ भने ग्राहक १ रुपैया नै कम सही २९ रु. मा किन्न चाहन्छ । र, यो खरिद – बिक्रीको श्रृङ्खला झमक्कै साँझ नपरुन्जेल चलिरहन्छ अनवरत ।
मलाई तरकारी किन्नु पर्दैन । यसको मतलब तरकारी नै खाँदिन मैले हैन । होटलमा खानाखाने बन्दोबस्ती गरेपछि खरिदबिक्रीको झण्झटबाट मुक्ति मिल्ने हुनाले म यो तरकारी बजारमा आफ्ना केहि साथीहरुसँग मिलेर घुम्न जाने मात्र गर्छु । र, मानिसहरुको भीडमा हराइरहेको पाउँछु आफूलाई । प्रत्येक साँझ घाम डुबेपछि गाईघाटको मौसम अलिकति चिसो हुन्छ – विशेष गरी त्यही तरकारीबजारको छेउछाउ । दिनभरको उखरमाउलो गर्मीलाई बिर्सन भएपनि साँझतिर घुम्नु जरुरी हुन्छ यतातिर । मानिसहरु मध्यरातसम्म झुण्डझुण्ड बनाएर साँझको हावा खान सडकमा असरल्लै पोखिएका हुन्छन ।
तरकारी बजारतिर घुम्न जाँदा सबभन्दा बेफाइदाको कुरा यहाँ हुने मानिसहरुको भीडलाई छिचोल्नु नै हो । मानिसहरु अत्यन्तै अस्तब्यस्त ढंगमा यता उता गरिरहेका हुन्छन् । मान्छेहरुसँग ठोक्किदै, ठेलिदै बाटो पार गर्नुपर्छ । त्यसकारण अलिक लामै समय भयो म त्यतातिर घुम्न निस्केको छैन । त्यसकारण, त्यसपछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – श्रमीक पार्क । दिनभर यहाँ मानिसहरुका लागि प्रवेश निषेध गरिएको छ । बिहान र साँझपख केहि घण्टा मात्र खोलिने यो पार्क मजदुरहरुको सम्मानमा बनाइएको हुनुपर्छ । किनकी, पार्कभित्र मानिसहरुले श्रम गर्दैगर्दाका केहि मूर्तिहरु ठड्याइएका छन् । ती बडो कलात्मक छन् । कृषि वा परम्परागत श्रमलाई निकृष्ट कामका रुपमा हेर्ने अचेलका युवाहरु पनि यी मूर्तिहरु देखेपछि साँच्चिकै श्रमप्रेमी हुन्छन भन्ने मेरो विश्वास छ । यी अत्यन्तै आकर्षक ढंगले कुँदिएका छन् । तथापि श्रमीक पार्कमा पनि एकाध आधुनिक प्रेमीहरुको उत्ताउलो प्रेमप्रदर्शनले अरु एक्लै वा समूहमा त्यहाँ घुम्न निस्किनेहरुलाई बडो अप्ठ्यारोमा पार्दछ । हुन पनि अचेल प्रेमी/प्रेमिका भेटिँदासाथ आलिङ्गनमा बेरिनु र चुम्बनको वर्षा गर्नु उति अस्वभाविक विषय पनि रहेन । परन्तु, हामी एउटा अत्यन्तै बन्द संस्कृतिबाट गुज्रिरहेका हामीहरुलाई उनीहरुका क्रियाकलापहरुले केहि अप्ठ्यारोमा पार्दो रहेछ ! अझ कहिले काही त यी दृश्यहरु हेर्दै गर्दा रोमाञ्चक कुरा दिमागमा खेल्न शुरु गर्दछ – काश, म पनि उनीहरु झैं किशोर भैदिएको भए ? घरब्यवहार, समाज, संस्कृति एउटा कुनामा थन्काएर म पनि प्रेमको उत्कृष्ट आनन्द भोग गरिहेको हुन्थेँ सायद !
श्रमीक पार्क पछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – म बस्ने स्थानबाट  सिधैं उत्तरतिर । अर्थात करमगाछी साइड । यो अलि विशेष गन्तब्य पनि हो । गाईघाटमा जस्तो सवारीहरुको चाप नहुने भएकाले पनि यहाँका लब्धप्रतिष्ठित मानिसहरुको रोजाइ बनेको छ यो ठाउँ । हावाको सिरसिरे झोक्का चलिरहन्छ यो ठाउँमा । त्यसैले अचेल म यतातिर बरालिन थालेको छु । म बस्नेतिरका साथीहरु उति घुमन्ते छैनन् । यही एउटा कुरा बिझाउँछ मनमा । कि एक्लैएक्लै डुल्नु पर्छ । भोला एउटा साथि छन् नजिकै तर उनको रोजाई लभ्ली डाँडा ! भन्छन् – केटाकेटीहरुको प्रेमलाई अनुभव गर्न पाइन्छ नजिकैबाट । म प्रेमदेखि वाक्क परेको मान्छे, तरकारी बजारदेखि श्रमीक पार्क हुँदै करमगाछीतिर बरालिन आईपुगेको छु । मेरो खोजी हो – एकदम शान्त र एकलाँस तर सुन्दर गन्तब्य ! बरु त्यो ७ कि.मी पर रहेको चुहाडेको जंगललाई गाईघाटको छेवैमा ल्याउन मिल्ने भएपनि त हुन्थ्यो नि !

स्लो बाइकमा महतको पकड

बिजेता बसन्त महत

 

बेनी,म्याग्दी/

अघिपछि अलि गतिमै बाइक हाँक्ने रत्नेचौर २ का बसन्त महतले हिजो आषाढ ६ गते भने अत्यन्तै ढिलो गतिमा बाइक हाँकेर जिल्लामा आयोजित ‘स्लो बाइक रेस’ मा प्रथम स्थान हासिल गरी नगद रू ५ हजार प्राप्त गर्न सफल भएका छन् । जेसिस म्याग्दीले आफ्नो स्थापना दिवसका अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगितमा ३४ जना अरू प्रतिस्पर्धीहरूलार्इ पाखा लगाउँदै महतले शिर्षस्थान हासिल गर्न सफल भएका हुन ।

६० मिटरको दुरी निर्धारण गरी सवै भन्दा ढिलो बाईक हाँक्नेले जित हात पारेका हुन् । बाईक स्टार्ट गरेपछी बन्द गर्न नपाईने, निर्धारित सिमाभन्दा बाहिर जान नपाईने र भुइमा खुट्टाले टेक्न नपाईने जस्ता नियमहरुलाई पालना गर्दै महतले २ मिनेट ३० सेकेन्डमा उक्त दुरी पारेका थिए । उनीभन्दा २३ सेकेण्ड अगाडि उक्त दुरी पार गर्ने अर्का एक जना प्रतियोगि स्पर्धामा द्भितीय भएका थिए । 

रत्नपुत्र महतको यस सफलताका लागि हाम्रो ब्लगका तर्फबाट हार्दिक बधार्इ तथा उत्तरोत्तर प्रगतिको कामना छ ।

झण्डै बगाएन बरूवाले …

बरूवा खोलाको बगर नियाल्दै । तस्बीरः हिमाल कार्की पप्पे
एक रात एकाध घण्टा पानी दर्कदा यहाँका खोलाहरुमा पानीको सतह यति माथि आउँछ भन्ने थाहा भएको भए म कुनै हालतमा मोटरसाइकल हाँकेर साउनेको उकालो चढ्ने नै थिइँन । तर त्यो शनिबार मलाई रानीबास पुग्नु थियो । दुईटा माध्यमिक विधालयका  कक्षा ५ देखि १० का भाईबैनीहरुलाई मलेरिया र सुपानेट झुलका बारेमा कक्षा लिनुपर्ने थियो । तसर्थः कार्यालयबाट संस्थाकै रातो गल्यामर बाइकमा उत्तरतिरको पहाडतिर हुँइकिएँ । झण्डै २ कि.मी टाढा उत्तरतिर आइपुगेपछि बरुवा खोलामा मैले ४ नम्बरमा हाँकिरहेको मोटरसाइकलको गियर डाउन गरेँ । बाइक खोलाको मध्य भागमा गएर टक्क रोकियो । पानीले बाइकसँगै झण्डै मलाई पनि बगाएको ! १ नम्बर गियरमा खोला तरिरहेको ठानेको मैले २ नम्बर गियरमा बाइक खोला पार गराउँदै रहिछु । फेरि गियर डाउन गरेँ । र, खोला तरेँ ।
खोला तर्दा पानीले झण्डै बगाएको घटनाले भन्दा आधा शरीर पानीले निथ्रुक्क भिजाएकोमा मलाई बढी चिन्ता लाग्यो । झोलामा अर्को जोर कपडा पनि राखेको थिइँन । किनकी भोलीपल्ट त म फेरि गाईघाट नै फर्किदै थिएँ । यस्तो बेला आमाले भनेको एउटा कुरा सम्झदा सम्झदै पनि वास्ता नगरेकोमा पश्चाताप हुन्छ – यात्रामा निस्कदा कम्तीमा पनि अर्को एक जोर कपडा चाँहि राख्नु पर्छ हैं ! तर म यसपाली पनि पानीले भिजेको बिरालोको चालमै आफ्नो यात्रामा निस्कँे । खोला तरिसकेपछि देखेँ, तीन थान युवतीहरु बगरमा मतिर नै हेरेर खित्का छाडिरहेका थिए । सायद उनीहरुले ठाने – खुब हिरो बनेको थियो, बल्ल स्वाद खायो ! खुच्चिङ !
साउनेको जंगलको ग्राभेल बाटोमा उकालो चढ्दै गर्दा गाईघाटको पुछारबाट बग्ने त्रियुगा खोला र त्यसको बगर आँखामा झल्कियो । हिउँदमा मृत प्रायः लाग्ने यी खोलाहरु बर्षामा उर्लिएर आउँदा रहिछन् । यी साना खोलाहरुको फराकिला बगर हेरेर पनि मैले सहजै वर्षामा यिनीहरुको वहावको आँकलन गरेको छु । गाईघाटबाट पूर्वतिर बसाहामा पुग्दा त्यहाँका प्रायः घरहरुको स्वरुप देख्दा मलाई आश्चर्य लागेको थियो । ती प्रायः घरका भुँइतला पूरै खाली देखिन्थेँ । अर्थात् भुइँतलाको चारकिल्लामा ढुंगामाटोको गार्हो वा काठले बारिएको पाइएन । बरु काठका पिल्लर ठडाइएर उपल्लो तलामा मात्र मानिसहरु बस्ने गर्दारैछन् । हाम्रो पहाडतिर त मैले यस्ता प्रकृतिका घरहरु भेटेकै थिइँन । पछि थाहा पाएँ – वर्षाको समयमा तल्लो क्षेत्र पूरै डुवानमा पर्ने भएपछि मानिसहरुले यस्तो उपाय अबलम्बन गरेका रहिछन् । 
सामान्य रुपमा बग्न दिइएका नदिहरुका छेउछाउमा बस्ने तराइबासीहरुले त डुबानको यस्तो पिडा खेप्नुपर्दो रहिछ भने छिमेकी राष्ट्रसँगको विशेष सम्झौता मार्फत बाँधिएका बाँधहरुको छेउछाउमा बस्ने तराइबासीहरुको पिडा झन कस्तो होला ? मैले यहाँ आएपछि सुनेको थिएँ – बिधुत र सिचाँइबाट सर्बाधिक फाइदा लिन पाइने दुहाइदिदै बाँधिएका बाँधहरुबाट नेपालीहरु झन बढि पिडीत छन् । हिउँदमा हाम्रा किसानहरुले सिंचाइ गर्ने पानी पाउँदैनन्, बर्षामा आँगन आँगनमा पौडी पोखरी पाउँछन । मैले के पनि सुनेको छु भने देशका बारेमा केही पनि मतलब नराख्ने त्यो जो सुकै नेपाली होस् ऊ ती पानीका ठूला ठूला बाँधहरु बाँधिएका ठाउँमा पुग्यो भने देशलाई अत्यन्तै माया गर्ने नेपाली भएर फर्कन्छ रे । उसका रक्त नलीहरु अझ अरु सक्रिय हुन थाल्छन् रे । र, शरीरभित्र तातो रगत उम्लीरहेको अनुभूत गर्छ अरे !
बरुवाको भेलमा हेलिएको म डेढ घण्टापछि रानीबास पुगेँ । पाइन्ट खासै चिसो थिएन तर जुता भने अझैपनि चिसा न थिए । डाँडोमा पुग्दा बडो आनन्दको अनुभूति भयो । गाईघाटको ३८ डिग्रीको उखरमौलो गर्मीमा उसिनिएको मैले रानीवासको चिसो हावामा सास फेर्न पाउनुलाई स्वर्गको सुखसँग दाँजे । यसलाई उदयपुरकोे वैशिष्टयता मान्नुपर्ला कि एक घण्टाको यात्रा अवधीमा मानिसहरु खाडीको गर्मीदेखि युरोपको जस्तो चिसो हावापानीको महशुस गर्न सक्दछन । 
साँझ खाना खाने बेलामा होटलमा बसेकाहरु कुरा गर्दै थिए – त्यहाँ तल (गाईघाट) मा भन्दा त यता पहाडतिरको सबै कुरा ठिक । पानी उस्तै मीठो । हावा उस्तै शितल । मच्छर पनि नलाग्ने । घर गोठ पानीले डुबाउँला भन्ने पनि भएन । सबै कुरा यतैको ठिक । कसैले यो कुराको प्रतिवाद गरेन । मलाई लाग्यो त्यही भएर त मधेसी नेताहरुमा काठमान्डुमा थातथलो जोर्ने मोह पलाएको होला !

भानु उ. मा.वि. बाट प्रवेशिकामा ६३ प्रतिशत उत्तीर्ण

यस बर्ष भानु उ.मा.वि. बाट प्रवेशिका परीक्षामा संलग्न ३३ जना बिधार्थी मध्ये ३ जना प्रथम श्रेणीमा १७ जना द्धितीय श्रेणीमा र १ जना तृतीय श्रेणीमा गरी कुल २१ जनाले मात्र प्रवेशिका परीक्षा उत्तिर्ण गरेका छन् । जिल्लाका अरू केहि सामुदायिक बिधालयहरूले प्रवेशिकाको नतिजामा शतप्रतिशत सफलता हासिल गरेकोमा भानु उ.मा.वि. बाट भने ६३.६३ प्रतिशत विधार्थीहरू मात्र उत्तीर्ण भएका छन ।

विधालयले आशातित नतिजा हासिल गर्न नसकेको सन्दर्भमा ब्लगका सम्पादक नीराजन शिरीषले बिधालयका बिज्ञान शिक्षक दिनेश बोगटीलार्इ सम्पर्क गर्दा ब्यावस्थापकिय कमजोरी एवं शैक्षिक गुणस्तर कायम गर्न नसकिएकाले यस्तो भएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, नियमित कोचिङ् तथा होस्टेल सुविधाका विषयमा विधालय एवं अभिभावकबीच विशेष सहमती हुन नसक्दा प्रवेशिकामा बिधार्थीले राम्रो गर्न सक्ने अवस्था रहँदा रहँदै पनि त्यस्तो हुन नसकेको हो ।