प्रतिभाका धनी – निलकण्ठ शर्मा

साइकल चढेर कार्यालय जादैँ निलकण्ठ शर्मा

चार पाँच वर्ष अगाडि उहाँ बागलुङ् आफ्नो अफिसबाट लखर – लखर घरतिर आउँदै गर्दा मैले उहाँलाई घैयारामा भेटेको थिएँ । उहाँलाई भेट्दा साथ मैले सोधेथें – “मामा हजुरले बुढानिलकण्ठमा नाम निकाल्नु भएको थियो रे नि हो ?” उहाँले आफ्नो टाउको हल्लाउँदै स्वीकारोक्ति सूचक भावमा भन्नुभयो – “हो भानिज, नाम त निकालिएको थियो क्यारे घरको स्थितीले पढ्न जान पाइएन ।” “साँच्चि मामा त्यहाँ पढ्न गएको भए त नाम चलेको मान्छे हुनुहुन्थ्यो होला नी हैं !” मैले उहाँको प्रतिभाका बारेमा नजरअन्दाज गर्दै सोधेँ । उहाँले भन्नुभयो – “सायद डा. (एमबिबिएस) भईन्थ्यो होला भे.डा. (भेटनरी डाक्टर) भइयो ।” उहाँको रसिक जवाफले म भुतुक्कै परेको थिएँ त्यतिबेला ।
वास्तवमै प्रतिभावान उहाँ अहिले जिल्ला पशु स्वास्थ्य कार्यालयको सुब्बा हुनुहुन्छ । उहाँलाई फेरि केहि दिन अगाडि गाउँ गएको समयमा उहाँ अफिस जादैँ गर्दा मैले ढोडेनीको पूल नजिकै साईकलमा भेटेँ र यो फोटो खिचेको थिएँ । उहाँले कुराकानीको क्रममा अब छिट्टै नै आन्तरिक प्रतिस्पर्धाबाट वरिष्ठ पशु अधिकृत बन्ने कुरा सुनाउनु हुँदा मलाई यो रत्नेचौरबासीका लागि गौरवको कुरा लाग्यो । त्यसैले उहाँको बारेमा केहि लेख्ने दृष्टता गरेको हुँ । उहाँको सफलताको हार्दिक शुभकामना ! आगे तपाइँहरुको विचार !

इट्टा व्यवसायमा अग्रसर युवाहरू

इट्टा भट्टीबाट निस्केको धुवा र पृष्ठभुमीमा धौलागिरि हिमाल (फोटो : उमेश थापा)

प्रस्तुत फोटो उमेश भाईले किन र कुन मोडमा खिचे मैले यस ब्लगमा यसै भनेर भन्न सक्दिन तर पृष्ठभूमीमा देखिएको धौलागिरि हिमालको मनमोहक दृश्यले सायद उनलाई लोभ्याएर यो फोटो खिचेका हुन् कि भन्ने सम्म अनुमान गर्न सक्छु । उनले जे जति कारणले यो फोटो खिचेको भए पनि फोटोमा एउटा इट्टा भट्टा र त्यसबाट निक्लीरहेको धुँवाले हाम्रो गाउँमा पनि केही व्यवसायिक गतिविधीहरू हुन थालेका छन् भन्नु अस्वभाविक हुँदैन् ।
फोटोमा देखिएको ईट्टा भट्टा युवा व्यवसायीद्धय कुलबहादुर महत र दानबहादुर महत (शंकर) दाजुभाईहरुले संचालन गरेका हुन् । उनीहरुको बाहेक अहिले रत्नेचौर गाउँभरी झण्डै आधा दर्जन इट्टा भट्टीहरु संचालनमा छन् । दुई जिल्ला सदरमुकामहरू बाग्लुङ र बेनीको मध्यभागमा पर्ने भएकाले पनि यस गाउँमा थुप्रै व्यवसायिक संभाव्यताहरु रहेका छन् जस मध्ये एउटा इट्टा उत्पादन तथा यसको विक्री वितरण पनि हो । यसरी महत दाजुभाईले झैं अरु युवाहरुले पनि विभिन्न व्यवसायहरु कुखुरा पालन, तरकारी खेती, भुजा उत्पादन तथा विक्रीवितरण, पशुपालन, दुग्ध व्यवसाय तथा होटल व्यवसाय गर्ने हो भने खाडी मुलुकमा बगाउने पसिनाको मूल्यभन्दा आफ्नै गाउँमा बढी लाभ लिन सकिने देखिन्छ ।

चौरेली युवाहरुको नयाँ वर्ष ?

दुई दिने जिन्दगी गरौ रमाइलो

नयाँ वर्ष मनाउने सबैका आ–आफ्नै तौरतरिकाहरु हुन्छन् । ती सृजनात्मक वा रचनात्मक पनि हुन्छन् । र, कतिपयले साथीभाई एकै ठाउँमा भेला भै रमाईलो साथ नयाँ वर्ष मनाउने गर्दछन् । र, हामी केही चौरेली युवाहरुले चाहिँ २०६६ को निराश वर्षको अन्तिम दिन हामी मध्ये धेरैका लागि उति लाभदायक नभएकाले सफ्ट ड्रिंक र चिकेन खाएर रमाईलो गर्‍यौ । धेरैले यसलाई नराम्रो अर्थमा लेलान् । तर हामीले जुनियर वा सिनियरको घेरालाई तोडेर सबै एकै ठाउँमा भेला भै अति संयमित तरिकाले ड्रिंक्स गर्ने काम गर्‍यौं । हामीले त्यहाँ पिउने र पिलाउने काम मात्र होइन् हाम्रा गाउँका युवाहरुलाई एकत्रित पारी रत्नेचौर युवा क्लबलाई छिट्टै नै सक्रिय बनाउने योजना पनि बनाएका थियौं र त्यो काममा अहिले निरन्तर लागि परेकै छौं ।

चेस !!!

जेहोस्, हाम्रो चीरपरिचीत रमाईलो गर्ने जक्सन “झलक दाई” को पसलमा के थिएन र हुँदैन् हामीले सबथोक पाउँछौं । र, त्यो दिन पनि हर्षोल्लास साथ त्यो इभ मनायौं । हुन् त हामीले रमाईला गफगाफहरु धेरै गर्‍यौ तर त्यसको अर्थ कहिल्यै यस्तो नहोस् कि हामी युवाहरु गम्भिर छैनौं । त्योदिन त्यहाँ भेला भएका थुप्रै साथीहरुले जम्मा एक चिजको कमीको महशुस गरे । हो, हामीसँग सिर्फ एक चिजको कमी थियो – रसिक झलक दाई !

दिलकुमारी थापाको निधन

मृतक दिलकुमारी थापाको शव

रत्नेचौर १ किराखोर निवासी ७५ वर्षीय दिलकुमारी थापाको बैशाख १ गते उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । लामोसमयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित स्वः थापाको आज बैशाख २ गते रत्नेचौर –५, स्थित झिल्पोक भन्ने स्थानमा दाहसंस्कार गरियो । स्वः थापाका एक मात्र छोरा शिव थापा रोजगारीका शिलशिलामा मलेशियामा कार्यरत रहेको हुँदा क्रियाकर्म नीजका देवर सोमबहादुर थापाले गर्नुभएको छ ।