रावलको कुल पुजाको एक दृश्य

जेष्ठ २८ मा आयोजित रावल कुल पूजाको एक दृश्य तस्बीरः सुमित्रा रावल

गाउँमा रेडक्रसको भवन बनाउन बिदेशमा खेलको आयोजना गरिदैँ

रेडक्रस रत्नेचौर उपशाखाको जिर्ण भवन तस्बीरः नीराजन शिरीष

बायाँ चित्रमा देखाइएको भवन हो- रत्नेचौर १ स्थित रत्नेचौर रेडक्रस उपशाखाको भवन । यो भवन खासमा गा.वि.स भवन हो । द्दन्दकालमा विद्रोही माओवादीहरूको निशाना बनेको यो भवन क्षतिग्रस्त भैसकेपछि  यस भवनमा त्यसयताका कुनै पनि गा.वि.स. सचिव फर्केर आएनन् । यसै भवनको तल्लो तहमा रहेको रत्नेचौर उपस्वास्थ्य चौकी बुढोपोखरी मुनि आफ्नै पक्कि भवनमा सरेपछि यो भवन खण्डहर जस्तै बनेको थियो । तर यस भवनमा रहेका केहि कोठाहरूमा ठूली रानी वन सा.व.उ.स को कार्यालय, एक नं. वार्डको सा.व.उ.स को कार्यालय राख्ने काम भयो । र, पहिले उपस्वास्थ्य चौकी रहेको कोठामा भने रत्नेचौर रेडक्रसको उपशाखाको कार्यालय राख्ने काम भयो । मर्मत सम्भार गरिएको भएपनि अत्यन्तै साँघुरो, जिर्ण र दयनीय स्थितीमा रहेको यो कोठाबाट रत्नेचौर रेडक्रसको उपशाखाका पदाधिकारीहरूले छुट्टै स्थानमा भवन बनाउने निर्णय गरेका छन् ।

उनीहरूको यो अभियानमा सहयोग पुर्याउने हेतुका खातिर हाल नर्वेजियन रेडक्रस अन्तरगत नर्वेको सुदुर उत्तरी शहर ट्रोम्सोमा कार्यरत रत्नेचौर – २ का नीराजन थापाले ट्रोम्स रेडक्रस युथ र सहकर्मी युवा प्रतिनिधीको विशेष सहयोगमा आज जून ६ मा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्दैछन् । स्थानीय समय अनुसार साँझ ७ बजे स्थानीय एक फूटबल मैदानमा आयोजना गर्न लागिएको उक्त मैत्रिपूर्ण फुटबलमा बिभिन्न लब्ध प्रतिष्ठित ब्यक्तित्वहरू तथा संघसंस्थाहरूले सहयोग पुर्याएको थापाले बताए । ट्रोम्स नगरपालिकाका मेयर एरिल्ड हसबर्ग, डा. गणेश आचार्य, डा. रञ्जन पराजुली, ट्रोम्सो बिश्वबिध्यालयका रेक्टर यार्ली आरबक्के, सहप्राध्यापक भिदार भाम्बेम लगायतका स्थानीय लब्ध प्रतिष्ठितहरूले खेलमा सहभागिता जनाउँदैछन् ।

२५, ५० र १२५ क्रोनर दरका टिकटको ब्यवस्था गरिएको उक्त मैत्रीपूर्ण खेल आयोजनाको तयारी क्रममा ट्रोम्स रेडक्रस युथकी लिडर थेरेसा क्राम्भिक लगायतका रेडक्रस स्वयंसेवक तथा सदस्यहरूले महत्वपूर्ण सहयोग पुर्याएका छन् ।

रावल तथा थापा थरेहरूले कुल पूजा गर्ने

जेष्ठ महिनाको दशमीमा कुल पूजा गर्दै आएका रावल थरेहरूले १ दशक पछाडि यो बर्ष दशमीकै तिथीमा जेष्ठ २८ गते शनिवारका दिन आफ्नो कुल पूजाको मिति तय गरेका छन् । कुल पूजामा रत्नेचौर तथा भैरहवामा छरिएर रहेका रावलहरू भेला हुने गर्दछन् । कुल पूजाले सबै दाजुभार्इहरूलार्इ धेरै वर्षको अन्तरालमा एकदिन सँगै बसी रमार्इलो गरी आफ्नो कुललार्इ सम्झने अवसर दिने भएकाले कसैले पनि कुलपूजाहरू सकभर छुटाउँदैनन् ।

अचेल नेपालमा कुनै पनि कार्यक्रम गर्दा फेसबुकमा त्यो कार्यक्रमका बारेमा सम्पूर्ण जानकारीहरू समेटेर इभेन्ट्स बनाउने प्रचलन रहेको छ । यस्ता खालका सृजनात्मक क्रियाकलापले धेरै मानिसहरू ध्यान खिच्ने भएकाले फेसबुकमा यस्ता कार्यक्रमहरू सृजना गर्नुलार्इ महत्वका साथ हेर्ने गरिन्छ । सम्भवतः गाउँमा हुने कुनै पनि खालको कार्यक्रमको इभेन्ट्स बनार्इ प्रचार प्रसार गर्ने पहिलो ब्यक्ति बन्न पुगेका छन् सागर रावल जसले फेसबुकमा रावल थरेहरूको कुलपूजाको प्रचारका लागि इभेन्टस बनाएका छन् ।

त्यसै गरी जेष्ठी पूर्णीमाको अवसरमा कुल पुजा गर्दै आएका थापा थरेहरूले पनि लामो समयको अन्तराल पश्चातः यस बर्ष आफ्नो कुल पूजा गर्ने भएका छन् । असार १ गते कुल पूजा गर्ने निधो गरिएको जानकारी दिदै रत्नेचौर २ का सुजन थापाले भने – कुल पूजाले खबरा, भैरहवा तथा बागलुङमा छरिएर रहेका दाजुभार्इहरूसँग बर्षौपछि पुनर्मिलन गराउने हुनाले म निकै नै उत्साहित छु ।

स्मरण रहोस् थापाथरेको कुल पूजामा मस्ट मात्र हुन्छ । मस्टले एकै खुट्टाले करिब २ कि.मी दुरीको यात्रा गरी कुलस्थान सम्म आउने गर्दछन् । वैज्ञानिक र एक्काइसौ शताब्दी भनिए पनि कुल पूजामा देखिने कतिपय घटनाहरू विज्ञानका लागि चूनौतीका रूपमा खडा हुने गर्दछन् । जस्तोकि थापा थरेको कुल पुजामा मस्टको मुख्य साँढ खसीले मुलघरमा पूजा गरि कुलस्थानतर्फ हिड्ने अवधीभर तीन वटा खुट्टाले मात्र यात्रा गर्छ ।

यदि यहाँहरूसँग पनि आफ्ना कुल पूजा सम्बन्धी केहि रमार्इला र अविश्वसनीय स्मरणहरू छन् भने प्रतिक्रियाका रूपमा लेखी ब्यक्त गर्नुहोला ।

युवाहरूले शुरू गरे सामूहिक तरकारी खेती

अगन्धर तिवारी
म्याग्दीको रत्नेचौर गाविसमा आठ जना किसानले शुरु गरेको सामुहिक कृषि फाराम जिल्लाकै नमुना कृषि फारामका रुपमा स्थापित भएको छ ।
रत्नेचौर गाविस-४ का नीरबहादुर थापा, कृष्ण बोगटी, ओमबहादुर रोका, नर बहादुर रोका लगायतका किसानले ६ महिना अगाडी नौ रोपनी जमिन लिजमा लिएर शूरु गरेको बेमौषमी तरकारी खेती जिल्लाकै नमुना तरकारी खेती मात्रै नभई, रोजगार नपाएर बिदेश जानेहरूका लागि एक उदाहरण समेत बनेको छ ।
गाउँका सक्रिय किसान नीरबहादुर थापाको अध्यक्षतामा बैदेशिक रोजगारबाट फर्किएका दुइजना लगायत अन्य केहि युवाको सक्रियतामा गाउँमा केहि गरौं भन्ने उद्धेश्यका साथ सात महिना अगाडी नमुना सामुदायिक कृषक समुह गठन गरि काम शुरु गरेका हुन् ।

तरकारी बारीमा कृषक नीरबहादुर थापा तस्बीरः अगन्धर तिवारी

चारजना युवा मध्ये ओमबहादुर रोका र नरबहादुर रोका चार वर्षबिदेश बसेर फर्किएका छन् । ‘बिदेशमा बस्दा र त्यहाँ परिश्रम गर्दाको अवस्थालाई सम्झिए हामीले नयाँ कन्सेप्ट अनुसार यस्तो खेती शुरु गरेका हौं ।’ किसान नरबहादुरले भने, ‘त्यहाँ गर्नेअनुसार यहाँ काम गर्ने हो भने मासिक चालिस हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’
रत्नेचौर गाविसस्थीत लुङ्गुरचौरमा रहेको भलिवल खेल्ने मैदानका रुपमा उपयोगमा आइरहेको नौ रोपनी जमिनलाई वार्षिक २५ हजार भाडा तिर्नेगरि लिजमा लिएको समितिका अध्यक्ष निरबहादुर थापाले बताए ।
‘पहिलो वर्षभएकोले अहिले हामिले धेरै नाफाको लक्ष्य राखेका छैनौं ।’ उनले भने, ‘ यो वर्षदशओटा प्लास्टीक टनेल बनाउने र सबै जग्गामा परिक्षणका रुपमा मात्रै खेति गर्दै छौं ।’ उनका अनुसार एउटा टनेल बनाउनका लागि कम्तिमा १५ हजार रुपैयाँ खर्च हुन्छ । दशओटा टनेलमध्ये तिनओटाका लागि २१ हजार रुपैयाँ बराबरको प्लास्टिक जिल्ला कृषिविकास कार्यालयले सहयोग गरेको उनले बताए ।
यो वर्षचारसय बोट काँक्रा, घिरौंला, लौका लगायतका लहरे बाली, १४ सय बोट गोलभेँडा र करिव दुइ रोपनी जग्गामा बोडी, सिमी लगायतको बाली लगाएका छन् ।
कृषि फाराम बेनी-बाग्लुङ सडकको छेवैमा रहेकोले उत्पादित सामाग्रिहरू बजारसम्म पुर्‍याउनका लागि पनि कुनै समस्या नभएकोले आफुहरूको व्यवसाय सफल हुनेमा ढुक्क रहेको उनिहरूले बताएका छन् ।
‘योजना अनुसार काम गरेकोले हामी पुरा सफल हुन्छौं ।’ युवाहरूले भने, ‘पहिलो वर्षसबै खर्च कटाएर चार लाख, दोश्रो वर्षआठ लाख र तेश्रो वर्षदश लाख आम्दानी गर्ने लक्ष्य छ ।’
सिञ्चाइको अभावमा व्यवसायलाई निरन्तरता दिन समस्या पर्ने भएकोले त्यसको समाधानका लागि फाराम नजिकै ३५ हजार लिटर क्षमताको प्लास्टीक पोखरी समेत निर्माण गर्ने तयारी रहेको युवाहरूले बताएका छन् ।
गाउँका सक्रिय युवाहरूले सामुहिक रुपमा शुरु गरेको जिल्लाकै नमुना कृषि फारामलाई थप प्रोत्साहन गर्नका लागि प्लास्टीक पोखरी निर्माणका लागि २५ हजार रुपैयाँ नगद तथा अन्य प्राविधिक सहयोग गरिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषिविकास अधिकृत महेशचन्द्र आचार्यले बताए ।
लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीका केहि सचेत युवाहरूले शुरु गरेको कृषि फारामले समग्र युवावर्गलाई नै एकपटक सोच्न बाध्य बनाएको कृषि विशेषज्ञहरूको भनाई छ ।
बेनीअनलार्इनबाट