थापाबन्धुहरूको सप्ताह पुराण सम्पन्न

सप्ताहमा सहभागीहुँदै थापा बन्धुहरू । तस्बीरः हाम्रो रत्नेचौर

कथा वाचन गर्दै मुख्य कथा वाचक सुरेश शर्मा

आफ्ना दिवंगत पिता पदमबहादुर थापा तथा अन्य समस्त पितृहरूको उद्दारका हेतूले रत्नेचौर १ र २ निवासी मेघराज थापा, टिकाबहादुर थापा, भूमीराज थापा, सोमबहादुर थापा, रामबहादुर थापा र रूद्रबहादुर थापाले संयुक्त रूपमा एक साताब्यापी सप्ताह पुराण सफलतापूर्वक सम्पन्न गरेका छन । गाउँकै विद्भत पण्डित तथा बनारस भारतबाट संस्कृत दर्शनमा स्नातकोत्तर गरेका सुरेश शर्मा मुख्य वाचक रहेको सप्ताह पुराणमा सयौ श्रद्दालु निम्तालुहरूले भाग लिएका थिए । पितृ उद्दारका लागि सप्ताहब्यापी पुराण लगाउने चलन पछिल्लो केहि बर्षपछि निकै प्रचलित छ । आफ्ना सम्पूर्ण कामकाजहरू छाडेर, एकाग्र भै एक साता भरी कर्ताका रूपमा श्रीमद भागवत गीता पुराणको परायण गर्दा आफ्ना दिवंगत पितृहरूको उद्दार हुने जनविश्वास रहेको पाइन्छ ।

थापाबन्धूहरूले आयोजना गरेको सप्ताह पुराण भाद्र २९ गते प्रारम्भ भर्इ आश्विन ४ गते सफलतापूर्वक सुसम्पन्न भएको थियो ।

(रत्नेचौरबाट फर्केर श्याम खत्री)

स्वर्गीय पिताको पुण्य तिथीमा १८ पुराण तथा ब्राम्हण भोजन

आफ्ना स्वर्गीय पिता ओमबहादुर बोगटीको १७ औं पुण्य तिथीको अवसर पारी रत्नेचौर-१ का समाजसेवी दिपक बोगटीले १३५ ब्राम्हणलार्इ भेला पारी भोजन गराउने कार्यक्रम सम्पन्न गरेका छन । सम्भवतः जिल्लामै पहिलोपटक सम्पन्न कार्यक्रममा विभिन्न स्थानबाट ब्राम्हणहरू भेला भएका थिए । बोगटीले आयोजना गरेको भोजन कार्यक्रममा उपस्थित ब्राम्हणले विभिन्न धार्मीक ग्रन्थहरू पाठ समेत गरेका थिए । महागरूड पुराण, रूद्री, चण्डी, सुर्यपुराण लगायतका १८ वटा पुराणहरूको पाठ गरिएको कार्यक्रममा गुन्जेको वेदपाठको ध्वनीले वातावरण नै गुञ्जायमान भएको थियो ।

असोज ४ गते सम्पन्न गरिएको उक्त भोजन कार्यक्रममा बोगटीले कार्यक्रममा भजन किर्तनका लागि उपस्थित भजन मण्डलीलार्इ रू ५ हजार तथा वार्ड नं. १, २, ३ र ४ का आमासमूहहरूलार्इ नगद रू ५ हजारका दरले सहयोग गरेका थिए । साथै उनले उपल्लाचौर स्थित उपल्लाचौर प्राथमिक बिधालयलार्इ पनि रू ५ हजार सहयोग प्रदान गरेका थिए । त्यसैगरी, उनले हालै मात्र  संस्कृत दर्शनमा स्नातकोत्तरमा सर्वोत्कृष्ट भर्इ राष्ट्रपति डा. रामबरण यादवका हातबाट सम्मानित हुन पुगेका रत्नपुत्र सुरेश शर्मालार्इ समेत उनको उत्तोरत्तर प्रगतिको शुभकामना सहित पवित्र शिव पुराण प्रदान गरी ओढाइ सम्मान गरेका थिए । विभिन्न १८ पुराणहरू वाचन गरिएको कार्यक्रममा पुराण श्रवणका लागि सयौंको उपस्थिती रहेको थियो ।

(रत्नेचौरबाट फर्केर प्रविण खत्री)

रेडियो दिदीबहिनीलाई बोगटीको सहयोग

नीराजन शिरीष

सहयोगदाता दिपक बोगटी

देशमै पहिलो पटक महिलाहरुको एकल ब्यवस्थापनमा सञ्चालित पर्वत कुश्मा स्थित एफ.एम रेडियो दिदीबहिनीले हरितालिका तिजका अवसरमा आयोजना गर्ने महिला महोत्सवमा तीज गीत प्रतियोगिताको प्रथम पुरस्कारको राशी रु. २० हजार बिगत केहि वर्षदेखि मलेशियामा ब्यवसाय गर्दै आएका रत्नेचौर, म्याग्दीका दिपक बोगटीले प्रायोजन गरेका छन ।
म्याग्दी जिल्लाका चर्चीत राजनीतिज्ञ तथा समाजसेवी स्व. ओमबहादुर बोगटीका जेष्ठ सुपुत्र दिपक बोगटी सामाजिक सेवामा निकै नै सक्रिय छन । विभिन्न चाड पर्वका अवसरमा मलेशियामा आयोजना गरिने कार्यक्रममा समेत उनको सक्रिय सहभागिता र सहयोग रहँदै आएको छ । गत वर्ष मलेशिया भ्रमणका बखत ए.ने.क.पा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समृद्द मलेशिया निर्माणका अगुवा तत्कालिन राष्ट्रपति महावीर महाथीरको रुदैँ गरेको तस्विर, समृद्ध मलेशिया निर्माणमा उनको अनुभव समेटिएको पुस्तक, एउटा कलम र डायरी उपहार प्रदान गर्दै बोगटीले महाथीरको जीवनकथामा समेटिएका राम्रा पक्षहरुलाई आफुले दिएको खाली डायरीमा टिपोट गर्न प्रचण्डलाई सुझाव दिदाँ प्रचण्ड लगायत कार्यक्रममा उपस्थित ब्यक्तिहरु भावुक रहेको क्षण अविस्मरणीय रहेको बताउँछन । साथै उक्त क्षणले सधैं आफुलाई सामाजिक सेवाका लागि प्रेरित गरेको जानकारी गराउँदै समाजमा तत्काल परिवर्तनको आभाष मिल्ने खालका गतिविधि सञ्चालनका लागि जस्तोसुकै किसिमको सहयोग गर्न आफु तयार रहेको बताउँछन ।

यस बर्षको बजेटले रत्नेचौर गाउँलार्इ केहि राहत

सम्भवतः पहिलो पटक बागलुङ-बेनी-जोमसोम सडक खण्डका लागि यस पटकको बजेटमा ठूलो अंकको बजेट बिनियोजन गरिएको हो । यो पटक यस राजमार्गका लागि नेपाल सरकारले ५६ करोड रूपैया बिनियोजन गरेको छ । उच्च स्रोतका अनुसार, यस रकम मध्येबाटै काम हुने गरी यस आर्थिक वर्ष ०६८/०६९ मा बागलुङ-बेनी सडक खण्डको हालसम्मको पीच भएको स्थान (डोजरे डाँडो) बाट ३ कि.मी थप पिच (झण्डै भुवाने) सम्म र त्यसबाट उताको पूरै भागमा नाली निर्माण तथा ग्राभेलिङको काम हुनेछ । अब यस आ.व.को अन्त्यसम्म रत्नेचौरबासीले बागलुङसम्मै पक्की पीच बाटोमा यात्रा गर्न पाउनेछन् ।

त्यस्तै यस आ.व.मा रत्नेचौर-१ स्थित खेलमैदानलार्इ अञ्चलस्तरीय रंगशालाका रूपमा बिस्तार गर्नका लागि ४ लाख रूपैयाँ विनियोजन गरिएको छ । श्रोतका अनुसार, यो खेलमैदान रंगशालाका रूपमा विकास नहुन्जेल प्रत्येक वर्ष रकम विनियोजन हुँदै जानेछ । यसै आ‍.व‍.मा ५ साले कुलो भनिने पूरानो सिंचाइ आयोजना मर्मतका लागि पनि ढेड लाख रकम बिनियोजन हुने काम भएको छ । यसै आ.व. मा शिक्षा मन्त्रालयबाट प्राप्त हुने गरी भानु उ.मा.वि. को टिनको छानालार्इ फेरि पक्की सिमेन्टेड छाना निर्माणका लागि रू. २० लाख विनियोजन हुने पनि निश्चित भएको छ ।