चिया, ठेला र एउटा किशोर

जेष्ठ महिनाको एक उदाश शनिबार, उस्तै उदाश अनुहार बोकेको एक किशोरले कुरियर मार्फत आएको मेरो दुई बोरा सामान आफ्नो ठेलामा गुडाउँदै ल्याएर आयो । कालो बर्णको मायालाग्दो अनुहार भएको त्यो किशोरसँग केही भलाकुशारी गर्ने मनशायले चिया पिउने प्रस्ताव राखेँ । उसले खुशी भएको खास भाव मुहारमा नझल्काईकन मेरो प्रस्तावलाई स्वीकार ग¥यो । मलाई ऊ अलि शिष्ट नभए जस्तो लाग्यो । कम्तिमा पनि बिहानबिहान उसलाई चिया पिउनेभन्दा उत्कृष्ट अर्को प्रस्ताव के हुन सक्थ्यो ? फिस्स दाँत देखाएर मुस्कुराउँदै धन्यवाद भन्न उसलाई कति गा¥हो भएको ? कस्तो शिष्टता नसिकिकेको केटो रै’छ ? आफूभन्दा सानाबाट सम्मान पाउनुपर्छ भन्ने संस्कारले. गाँजेको मलाई मनमनमा त्यस्तो लाग्नु अस्वभाविक पनि थिएन । परन्तु, विवशताको दुष्चक्रले गाँजिएको उसको त्यस्तो व्यवहारबाट दुःखी हुनु कम्तिमा पनि मेरा लागि स्वभाविक थिएन । मैले चुपचाप उसका निरीह र निर्दोष भावहरुलाई पढिरहेँ ।
“भाईको नाम के हो नी ?” चिया पिउने आकर्षक प्रस्तावपछि उसलाई मेरो प्रश्न थियो ।
“दिनेश ।” किशोरले जवाफ फर्कायो ।
“दिनेश के ?” मैले पूरा नाम बुझ्न चाहेँ ।
“मुसहर । दिनेश मुसहर ।” किशोरले हत्तोसाही हुँदै जवाफ फर्कायो ।
“ए, मुसहर ?” माध्यमिक तहको बिधार्थी हुँदा सामान्यज्ञानमा पढेको कुरा सम्झदै मैले प्रतिप्रश्न गरेँ – “साँच्ची मुसहरले त मुसा खान्छन रे नी है ! हो ?”
झुकेको मुन्टो अलि ठाडो पार्दै किशोरले जवाफ फर्कायो – “अरुले खान्छन्, मैले खाँदिन !”
“ए, अहिलेसम्म खाएको छैन ?” अनावश्यक जस्तो लाग्ने प्रश्न मैले भने विशेष जोडदिदै सोधेँ ।
उसले पूरा विश्वासका साथ जवाफ फर्कायो – “छैन !”
“अँ तिमी सानो हुँदा, तिम्ले थाहा नपाउने हुँदाताका त तिम्रो बा आमाले खुवाउनु भयो होला नी !” उसको आत्मसम्मानमा चोट पुग्ला भन्ने ठानेर मैले यो प्रश्न चाँहि गरिनँ । बरु प्रसङ्ग बदल्दै मैले अर्को प्रश्न सोधेँ । जुन म प्रायः किशोरकिशोरीहरुलाई सोध्ने गर्छु – “पढाई कहाँ पुग्यो नी तिम्रो ?” 
“आठपास गरेर नौ मा पुगेपछि छाडेँ ।”  माया लाग्दो पारामा किशोरले भन्यो । 
“ल किन छाडेको नी ? पढाइ कमजोर भएर हो ?” मेरो एउटा अर्को प्रश्न रह्यो किशोरलाई ।
“होइन ।” उसले सटिक जवाफ फर्कायो ।
“अनि किन त ?” उसको जवाफ भुइँमा झर्न नपाउँदै मैले सोधीहालेँ ।
“घरकाले छोड्न भने । नत्र त म क्लासको थर्ड हो । अहिले पनि आठबाट नौमा जाँदा थर्ड भएर गएको !” केहि फुकेको स्वरमा उसले बेलिबिस्तार लगायो – “पढाई त मेरो राम्रै छ, सर । घरकाले कमाउनपट्टि लाग भने । आठ पास गरिहालिस् त्यहाँ भन्दा धेरै किन पढ्नु प¥यो ? भन्छन् ।” 
“तिम्लाई अझ अरु पढ्न मन छ त उसोभए ?” मैले प्रश्न गरेँ ।
भर्खर ल्याएको चियाको पहिलो सुरुप लिदैं उसले भन्यो – “छ नी सर ! तर दिदैँन !”
“तिम्रा अरु साथीहरुले पनि पढाई छाडे त ?” जिज्ञासा राखेँ, मैले ।
“हजुर । हाम्रा जातका अरु चार जनाले पनि छाडे ।” उसले थकित आवाजमा जवाफ दियो ।
“ए !” मैले अरु केही भनिनँ ।
किशोरको कुरा सुन्दै गर्दा मलाई नरमाईलो लाग्दै गयो । गरिबीको दुष्चक्रमा मानिसहरु फसिरहेको दृश्यले मेरो मथिङ्गल हल्लियो । कति विवश छन् मानिसहरु कि अलिकति पैसाका कारण आफूले चाहेकोसम्म गर्न पाउँदैन । अझ दिनेशजस्ता ती हजारौं किशोरहरुले त अलिकति पैसाको अभावमा आफ्नो पढ्न पाउने अधिकारको उपभोग गर्न सम्म पाईरहेका छैनन् । मुसहर भाइँको पढ्ने ईच्छाको घाँटी थिचिएको देख्दा मलाई सरकारको विद्यार्थी भर्ना अभियान कार्यक्रमप्रति अट्टहाँस गर्न मन लाग्यो । विद्यालय आईरहेका ऊ जस्ता जेहेन्दार विद्यार्थीहरुलाई पढ्ने वातावरण दिन नसक्नेहरुले के भर्ना कार्यक्रमको फगत नारा लगाउनु ? 
मसँग छुट्टिएर जाने बेलामा मैले उसलाई प्रस्ताव गरेँ – “ल पढ्ने नै हो भने म किताव, पोशाक र भर्ना हुने व्यवस्था मिलाउछुँ । पढ्ने ?”
उसले सहमति जनायो । मैले मेरो मोबाइल नम्बर दिएँ । ऊ चियाको अन्तिम घुट्को निलेर मबाट विदा भयो । उत्तरतिर फर्काएर राखेको ठेलालाई फरक्क दक्षिणतिर फर्काउँदै ऊ गाईघाट झ¥यो । मेरा आँखाले उसलाई परसम्म पछ्याईरहे । उसले एकचोटी पनि फर्केर हेरेन ! र, अहिलेसम्म मेरो मोबाइलमा फोन पनि आएको छैन् – “सर म नौ कक्षा भर्ना हुन चाहन्छु !”

इनारका डिलमा नानीबाबुहरू

इनारबाट पानी तान्दै विधार्थीहरू
केही हप्ता पहिले म गाईघाटबाट २४ कि.मी पूर्वको गा.वि.स. बसाहामा पुगेको थिएँ । यो भव्य सुन्दर गाउँमा रहेको कलेजसहितको माध्यमिक विद्यालयमा पुग्दा मैले बडो आनन्दको सास लिएको थिएँ । किनकी, मलाई विद्यालय वा कलेज भएका गाउँहरुमा पुग्दा पृथक खालको सुखानुभूति हुने गर्दछ । यस्ता ठाउँहरुमा पुग्दा म सोच्छु – कि यी ठाउँका मानिसहरु कति भाग्यमानि छन्, जोसँग नेपालका कतिपय विकट गाउँका स–साना नानीबाबुहरुले प्राथमिक शिक्षा आर्जनका लागि घण्टौंको यात्रा गर्नु पर्ने जस्तो विवशता छैन । तर केही आधारभूत पूर्वाधार अभावका कारण त्यहाँका स–साना नानीबाबुहरुले अनावश्यक दुःख झेल्नु परेको देख्दा सारै दुःख लाग्यो ।
जाडो मौसमका दिनहरुमा त पानी उति पिउनु नपर्ला वा घरैबाट ल्याएको एक बोतल पानीले बिधालय अवधीभर थेग्ला तर गर्मी मौसममा ? मलाई सोच्दै गर्दा रिगंटा चल्ला जस्तो भो ! म इनार छेउको आँपको गाँछीमा शितल तापेर बसिरहेको थिएँ, गर्मी थेग्नै नसकिने उखुमको थियो । मेरो ठिक पारीपट्टि सिमेन्टेड एउटा घैटो थियो । र, एउटा धारा पनि । र, म बसेको ठाउँबाट दाहिनेपट्टि २०–२५ मिटरको दुरीमा दुई–तीन कक्षामा पढ्ने बच्चाहरुको झुण्ड इनारको छेउमा पानी तान्दै थिए । पैतिस चालीस मिटर गहिरो ईनारबाट बच्चाहरु पानी निकाल्न निकै नै सकस मान्दै थिए । नमानुन पनि किन ? बिचराहरू ! मैले उनीहरुलाई पानी निकाल्न सघाएँ । उनीलहरुले एक गाग्री पानी रित्याएर गए । मैले चुपचाप उनीहरु कुदेको हेरिरहे । उनीहरु कुद्दै कुद्दै कक्षाकोठामा पुगे र एउटै झुण्ड भएर झ्यालबाट मलाई चियाइरहे ।
यत्रो कलेज समेत भएको ४ देखि २५÷३० वर्ष सम्मका बिधार्थीहरुले अध्ययन गर्ने ठाउँमा पिउने पानीको उचीत प्रबन्ध नभएको बारे जिज्ञासा राख्दा एक शिक्षकले गुनासो गरे –  “पिउने पानीको अत्यन्तै अभाव छ यहाँ ! तैपनि एउटा एन.जि.ओ. ले बिधलयका लागि भनेर पानीको ब्यवस्था गर्दैछ । हेर्नुन (त्यही सिमेन्टेड ट्याङ्की र त्यससँग जोडिएको धारातिर देखाउदै उनले भने) ती ट्याङकी र धारा त बनिसकेको छ नी ! अब यो वर्ष पानी पनि आउनेछ ! पक्कै आउनेछ !” उनले अगाडि थप्दै गए – “तीन वर्षे कार्यक्रम अन्तरगत यहाँ पानीको ब्यवस्था गर्दैछ सर त्यो एनजिओले ! ०६७ मा पानी ट्याङ्की बन्यो, ०६८ मा धारा अब ०६९ मा पानी आउँछ !” मैले ब्यङ्ग्यात्मक शैलीमा प्रतिवाद गरे – “हैन सर, हजुरहरुले यो धाराको पानी त ०७० सालमा मात्रै पिउन पाउनुहोला ! के थाहा त्यो एनजिओले यो बर्ष पाइपमात्र गाड्ने पो हो कि ?” उनी सहमत भए – “हो त हैं सर मैले त कस्तो भुसुक्कै बिर्सेको ?!” हाम्रो पानी गफ निकै नै लम्बिदै गयो । अन्ततः उनले नै हाम्रो पानी संवादलाई बिट मार्दै भने – “यस्तै हो सर, हिजो यहाँ ईनार नहुँदा बिधार्थीहरु त्यता पर पर सम्म पुगेर पानी पिेउने गर्दथे । कम्तिमा पनि अहिले इनारमैं सही पिउने पानी त छ नी !” मैले केही पनि बोल्न आवश्यक ठानिनँ । चुपचाप नै रहे !
उनी मसँग विदा भएर गएपछि पनि निकैबेरसम्म म त्यही आँपको गाछीमा बसिरहेँ । अनुहारभरी पसिनैपसिना बोकेका नानीबाबुहरु कुद्दै कुद्दै ईनारमा आउने, न्वारनदेखिको बल लगाएर पानी तान्ने र एउटा मैलो जालीले पानी छानेर पिउने काम जारी नै राखे । बिद्यालयमा छुट्टीको अन्तिम घण्टी नबजुन्जेल उनीहरुको यो उपक्रम चलिरह्यो । मैले चुपचाप हेर्नु बाहेक अर्को विकल्प थिएन ।
हुन त यो मेरो अनुभव पढ्नु भएका कतिपयलाई विश्वास नलाग्नु स्वभाविकै हो कि स्नातक तहसम्म अध्ययन अध्यापन हुने ठाउँमा एक कक्षामा पढ्ने बच्चाले इनारबाट पानी झिकेर पिउनु पर्छ ! तर यो कोरा काल्पनिक कुरो हैन । यो फगत साहित्य लेखेको हैन मैले । तर यो वास्तविकता हो – उदयपुर जिल्लाको बसाहा गा.वि.स. मा रहेको नारद आदर्श उ.मा.वि. को । स्नातक तह पनि पढाई हुने एउटा कलेजको ! यो दुर्दशाको एउटा चित्र हो – हाम्रो देशको !

गजबको गाईघाट !

फेरि एकपटक ती युवतीलाई मैले गाईघाटको मुख्य सडकमा केहि युवतीहरूसँगै हिडिरहेको देखेँ । गाईघाटको मुख्यचोकमा रहेको थापादाईको चिया पसलमा साथीहरूसँग चिया पिउँदै गर्दा मैले उनको एक झलक पाएको थिएँ । बोलाउन चाहेको थिएँ, तर आँट आएन । उसो त साथीहरूको बीचमा हुँदा युवतीलाई हेरिनु र ऊसँग नजिकिएर कुरा गर्न जानू हाम्रो जस्तो बन्द समाजमा अशोभनीय विषय नै भयो तथापी म यस मुद्धामा अलि फरक मान्यता राख्दछु । मलाई के विश्वास छ भने मित्रतामा लिङ्ग प्रमुख विषय होइन । हुन सक्दैन । बरु मित्रतामा त विचार र ब्यवहारले महत्वपूर्ण अर्थ राख्दछ !
ती युवती आक्कल झुक्कल देखिने र परिचय नहुने स्थिती लामो समयसम्म रहिरहेकै छ । तर मलाई थाहा छैन – यो परिस्थिती कतिञ्जेलसम्म लम्बिरहने हो ! हुन सक्ला मित्रताका लागि उनीसँग भेट हुनेछ । वा हुनसक्ला उनीसँग अब फेरि भेट नहोला ! उनीसँगको मेरो मित्रता होला या नहोला, किन्तु गाईघाट आएपछि विभिन्न उमेर समूहका मानिसहरुसँग मेरो सम्बन्ध विस्तार भएको छ । म यसैमा खुशी छु । केहि साथीहरुसँग म देश, काल र परिस्थितीका बारेमा छलफल गर्दछु, केही युवावयका साथीहरु छन् जो सँग मेरो सिर्फ ‘युवक’ कुराकानीमात्र हुने गर्दछ । केही बच्चाहरू मेरा साथी भएका छन् जो सँग म खाने, खेल्ने र रमाईलो गर्ने विषयमा मात्र भलाकुसारी गर्दछु । दिनहरु रमाईलै बितिरहेका छन् । र, एक शब्दमा भन्नुपर्दा मेरो गाईघाट बसाई जीवनको एक सुन्दरम् क्षण बनेको छ ।
विस्तारै यहाँको वातावरणमा भिज्दै गर्दा केही अवस्थाहरुमा मैले अप्ठ्यारो महशुस गर्नु स्वभाविकै ठानेको छु । र, कतिपय ती मेरा लागि अलिकति अस्वभाविक नै छन् । नियन्त्रण बाहिरका कुराहरू छन् । तीनलाई त कि म अनुभव गर्न मात्र सक्दछु वा तीनका बारेमा अरुबाट सुनिरहन विवश हुनसक्दछु । 
जस्तो कि सार्वजनिक यातायातमा भएको सिन्डिकेट प्रणाली मैले यहाँ भोगेको एक नमीठो अनुभूति हो । बिहान ८ बजे गन्तब्य प्रस्थानका लागि तयार भएको एउटा सार्वजनिक सवारी साधन दिउँसो २ बजे छुट्यो भन्दा उदयपूर बाहिरका धेरै मान्छेहरुलाई अचम्म लाग्न सक्ला तर यो यहाँका सर्वसाधरणको दैनिकी हो । एउटा बस भित्र र माथि मान्छे र सामाग्रीले भरिभराउ नभैन्जेल एक डेग अगाडि सर्दैन । यात्रुहरू ढिला भो जाऔं भनेर गुनासो गरिरहेका बखत बसको चालक नजिकैको चिया पसलमा एक थान शिखर चुरोट ओठमा च्याप्दै मस्तसँग दूध चिया पिईरहेको दृश्य कम्तिमा पनि गाईघाटमा अनौठो मानिदैन । 
त्यस्तै, मुलुकभरी स्वभाविक लाग्ने ट्राफिक सन्दर्भ यहाँ पनि दुरुस्तै छ । जस्तो ट्राफिकसँग चिनजान भएका मानिसहरू मोटरसाइकलमा विना हेल्मेट यात्रा गर्न पाउँछन् । र, मोटरसाइकलमा आफूबाहेक तीनजनालाई डुलाउन पाउँछन् । तर यदि तपाई ट्राफिक ब्यवस्थापनको जिम्मा पाएको मानिससँग अपरिचित हुनुहुन्छ भने ऊ तपाइँलाई देख्न साथ परैबाट हात ठडाउँदै सिठ्ठी फुकिरहेको हुन्छ – “रोक्नुस्, चिट काटेर जानुस् !” मुलुकभरमै यस्तो नियम छ त अब गाईघाटमा मात्र यस्तो नहोस् कसरी ? मानिसहरु चुपचाप सहिरहेका छन् ! र, यो क्रम निर्वाध चलिरहेकै छ !
बैशाखको पहिलो साता मैले एउटा सूचना सुनेको थिएँ । एउटा पिकअप भ्यानमा चर्को आवाजमा माइकबाट कोहि चिच्चार्इरहेथ्यो – नगरपालिकाको सूचना ! सूचनाले बाटोमा राखिएका निर्माण सामाग्री हटाउनका लागि एक हप्तेको अल्टिमेटम दिएको थियो यहाँका सर्वसाधारण र उद्योगी ब्यापारीलाई । तर आश्चर्यको कुरा छ, नगरपालिकाले सूचना दिएको डेढ महिना पुगिसक्यो तर बाटाहरुमा निर्माण सामाग्री पहिलेभन्दा धेरै थुप्रेका छन् । मान्छेहरुले निर्माण सामाग्री बाटोमा अझै थुपार भन्ने बुझे या नगरपालिकाले सूचना भनेको छु मान्छेहरुले शिरोपर गरेहोलान् नी भन्ने ठान्यो कि ? बाटोमा ईटा, गिट्टी, बालुवा र छडहरू छरपरस्टै छन् ! यस्तो बेला मैले मेरा केहि पत्रकार साथीहरुलाई दुखेसो पनि पोखेको छु – हैन किन चुपचाप छन् तिम्रा पत्रिकाहरू ?
अझ आश्चर्यको कुरा त नियमित जनसम्पर्कमा रहनु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख अर्थात प्रमुख जिल्ला अधिकारीलाई भेट्न पास लिनु पर्छ रे गाईघाटमा ! एोक, डेढ घण्टाको पखाईपछि यहाँले उनलाई भेट्न पाउन पनि सक्नुहुन्छ, नपाउन पनि ! अजब देशको गजब कहानी भनेको सायद यहि नै हो !

होटल बब्लु टु होटल झापाली

यता आएको एकहप्ता बित्न नपाउँदै मैले ट्याम्पोचोकमै रहेको बब्लुको होटलमा खाना खान बन्द गर्नुपर्ने भयो । कारण, म उनको होटलभन्दा २५ मिनेटको दूरीमा बोक्सेमा बस्नुपर्ने भयो । यसको मतलब अब मैले उनकोमा ५० रू. छाकको खाना खान पाउने भइँन । साथमा थुप्रै चिजमा पाईने बोनस अब मेरा निम्ति ‘आकाशको फल’ सरोवर नै हुने भए । त्यस माथि मलाई सबभन्दा बढि मन पर्ने गोलगोल आकृतिको ‘तिलौरा’ नामको खानेकुरा पनि मैले खान नपाउने भए । खानासँगै तिलौरा दिइने गाईघाटको एउटा मात्र होटल उनको रहेछ ! मलाई थकथक लाग्यो ! 
मेरोभन्दा दुई गुणा बढि पुट्ट अगाडि निस्केको उनको पेट, मैले जस्तै हाफ पाइन्ट र एउटा सर्टमा सजिने उनी, उनको मधेसी लवज, मिठासता साथै विभिन्न भाषा, संस्कृति र स्थानबाट गाईघाटमा आएका मानिसहरू भेट हुने साझा चौपारी जस्तो उनको होटल यी सबै विशेष चिजबिजहरूबाट टाढा हुनुपर्ने भयो । त्यति मात्र हैन खाना पछि मीठा पान खाने मेरो नियमिततामा पनि अवरोध भएको छ । कारण बन्यो – बोक्सेमा मेरो बसाई !
उसो त पान खाने मान्छेहरू मलाई उति मन पर्दैन । खासमा पानका पारखीहरूले पान चपाउँदै गर्दा भित्ता, भुई, बलेनी, सडक वा जहाँपनि पिच्च थुकेर घिनलाग्दो पाराले रातै रंगाएको त झन म सहनै सक्दिन । परन्तु, गाईघाट आएपछि मेरो एउटा लत बसेको छ – खाना खाईसकेपछि पान खाने ! बोक्सेतिर पान पसल मैले देखेको छैन, तर लत परेपछि आफ्नो ईच्छा पूर्तिका लागि मानिसलाई केहिले नरोक्नेको एउटा उदाहरण म बन्ने गरेको छु । हरेक बिहान साढे नौ बजेतिर म मेरा मित्रहरूलाई कल गर्छु । उनीहरू “हेल्लो” को औपचारिकता पनि पूरा नगरी सिधै बोल्छन् – “सुपारी कति राख्न लगाउने ? तुलसी पनि मिलाउन भन्ने कि ?” म सिर्फ यत्ति भन्ने गर्छु – “बढिया मीठा पान बनाउन लगाउनू !” हुन त सधैं पानका लागि साथीहरूकै ढुवानीमा निर्भर हुँदा नियमित पान सेवन गर्न नपाइने नै रहेछ । परन्तु मिठा पान सेवन गर्ने मौका त्यति धेरै गुमाउनुभने परेको छैन । र, अचम्म लाग्दो कुरो म अझै मिठा पान सेवनबाट जर्दा पान सेवनमा उक्सिकेको छैन । हुनसक्छ सायद किनकी पान महात्म्य मैले उति जानिसकेको छैन । अँ साँच्ची मैले पान चपाउँदै गर्दा पटकैपिच्छे थुक्नू पर्दैन ! मीठा पान खाने मान्छेहरू पानको गुलियो निल्न सक्छन् ! यो विषयमा पनि मलाई उति ज्ञान छैन तर दश कक्षा पढ्दै गर्दा आफूसँगै मीठा पान खान सिकाएका मेरा इन्डियन सहपाठी राजेशले भनेका थिए – “मीठा पानले स्वास्थ्यमा उति असर गर्दैन् ।”
बोक्सेमा बसोबासको ब्यवस्था भएपछि मैले खाना खाने ठाउँ भेटेँ – झापाली होटल ! सबै कुरा बब्लुकै होटलको जस्तो ब्यवस्था रहेछ यहाँ तर दुई चिज चाँहि नपाईने । रोटी र तिलौरा ! तर थाहा छ ? सादा भातमा दही पनि थपे दश रुप्पे बढि तिर्दा हुने । अर्थात गाईघाटमा भन्दा १० रू. सस्तो ! मिजासिला राई दाजुको परिवारले चलाएको यस होटलमा खाना खान थालेपछि मैले गाईघाट बिर्सन थालेँ । विभिन्न अफिसका केहि कर्मचारीहरूले खाना खाँदा रहेछन् – यहाँ । उनीहरूसँग पनि राम्रो चिनाजान भयो । अझ विशेष त त्यतिखेर लाग्न थाल्यो जतिबेला पहाडमा आफ्नो जागिरे जीवनको आधा समय बिताएका मधिसे कर्मचारीहरू र मधेसमा आफ्नो जागिरे जीवनको आधा कार्यकाल बिताएका पहाडे कर्मचारीहरूले आफ्नो जागिरे जीवनका रमाईला अनुभवहरू बाढ्न थाले । 
मसँगै खाना खाने बस्नेत सर निकै रमाईला मान्छे छन । उनीसँग जीवन भोगाइका थुप्रै अनुभूतिहरू छन् । र, ती अधिकांश रमाईला र रोचक छन् । एक साँझ उनले सुनाए, उनलाई पनि अरू कसैले सुनाएको एउटा घटना ! “सुदुर पश्चिमेली एउटा हाकिम तराईको एउटा जिल्लामा आएछ । र, पहिलो दिन आफ्नो भान्छेलाई खाना पस्कन अर्‍हाउँदै आफ्नै बोलीमा भनेछ – भात गाड् ! तराइको भान्छे बिचरोलाई हाकिमको कुराले सारै पिरोलेछ ! उसलाई लागेछ – यत्रो दुःख गरेर पकाएको खाना सित्तैमा किन गाड्नु ? कतै मैले नमीठो पो पकाएछु कि ? बिचरो डरले थुरथुर हुँदै हाकिमको अगाडि नतमस्तक भएर उभ्भिएछ । उता हाकिमलाई लागेछ – भान्छेले आफूले भनेको मानेन ! उसले अलि कडा रुपमा प्रस्तुत हुँदै फेरि अर्‍हाउँदै भनेछ – सुनेन ? जा भात गाड् ! बिचरा भान्छेले केही उपाए नभेटेपछि करेसामा लगेर सबै भात गाडिदिएछ ! निकै बेरसम्म भान्छेले खाना नपस्केको देखेपछि हाकिमले हकारेछ – हैन ख्वै मलाई भात ? भान्छेले पूरा हिम्मतका साथ जवाफ दिएछ – अनि साबले नै गाड्न भन्नुभएको हैन ? मैले त पछाडि लगेर गाडिदिएँ ! भान्छेले हाकिमलाई लगेर भात गाडेको ठाउँ देखाइदिएछ । बिचरो हाकिम जिल्लाराम !” खासमा हाकिमकोघरतिर भात पस्कनुलाई गाड्नु भन्दा रहेछन् ! फरकफरक भूगोलका मानिसहरूबीचमा कुराकानी हुँदा हुने भाषाको बुझाईसम्बन्धि बस्नेत सरले सुनाएको यो घटना मलाई निकै रमाईलो लाग्यो !