![]() |
| बरूवा खोलाको बगर नियाल्दै । तस्बीरः हिमाल कार्की पप्पे |
एक रात एकाध घण्टा पानी दर्कदा यहाँका खोलाहरुमा पानीको सतह यति माथि आउँछ भन्ने थाहा भएको भए म कुनै हालतमा मोटरसाइकल हाँकेर साउनेको उकालो चढ्ने नै थिइँन । तर त्यो शनिबार मलाई रानीबास पुग्नु थियो । दुईटा माध्यमिक विधालयका कक्षा ५ देखि १० का भाईबैनीहरुलाई मलेरिया र सुपानेट झुलका बारेमा कक्षा लिनुपर्ने थियो । तसर्थः कार्यालयबाट संस्थाकै रातो गल्यामर बाइकमा उत्तरतिरको पहाडतिर हुँइकिएँ । झण्डै २ कि.मी टाढा उत्तरतिर आइपुगेपछि बरुवा खोलामा मैले ४ नम्बरमा हाँकिरहेको मोटरसाइकलको गियर डाउन गरेँ । बाइक खोलाको मध्य भागमा गएर टक्क रोकियो । पानीले बाइकसँगै झण्डै मलाई पनि बगाएको ! १ नम्बर गियरमा खोला तरिरहेको ठानेको मैले २ नम्बर गियरमा बाइक खोला पार गराउँदै रहिछु । फेरि गियर डाउन गरेँ । र, खोला तरेँ ।
खोला तर्दा पानीले झण्डै बगाएको घटनाले भन्दा आधा शरीर पानीले निथ्रुक्क भिजाएकोमा मलाई बढी चिन्ता लाग्यो । झोलामा अर्को जोर कपडा पनि राखेको थिइँन । किनकी भोलीपल्ट त म फेरि गाईघाट नै फर्किदै थिएँ । यस्तो बेला आमाले भनेको एउटा कुरा सम्झदा सम्झदै पनि वास्ता नगरेकोमा पश्चाताप हुन्छ – यात्रामा निस्कदा कम्तीमा पनि अर्को एक जोर कपडा चाँहि राख्नु पर्छ हैं ! तर म यसपाली पनि पानीले भिजेको बिरालोको चालमै आफ्नो यात्रामा निस्कँे । खोला तरिसकेपछि देखेँ, तीन थान युवतीहरु बगरमा मतिर नै हेरेर खित्का छाडिरहेका थिए । सायद उनीहरुले ठाने – खुब हिरो बनेको थियो, बल्ल स्वाद खायो ! खुच्चिङ !
साउनेको जंगलको ग्राभेल बाटोमा उकालो चढ्दै गर्दा गाईघाटको पुछारबाट बग्ने त्रियुगा खोला र त्यसको बगर आँखामा झल्कियो । हिउँदमा मृत प्रायः लाग्ने यी खोलाहरु बर्षामा उर्लिएर आउँदा रहिछन् । यी साना खोलाहरुको फराकिला बगर हेरेर पनि मैले सहजै वर्षामा यिनीहरुको वहावको आँकलन गरेको छु । गाईघाटबाट पूर्वतिर बसाहामा पुग्दा त्यहाँका प्रायः घरहरुको स्वरुप देख्दा मलाई आश्चर्य लागेको थियो । ती प्रायः घरका भुँइतला पूरै खाली देखिन्थेँ । अर्थात् भुइँतलाको चारकिल्लामा ढुंगामाटोको गार्हो वा काठले बारिएको पाइएन । बरु काठका पिल्लर ठडाइएर उपल्लो तलामा मात्र मानिसहरु बस्ने गर्दारैछन् । हाम्रो पहाडतिर त मैले यस्ता प्रकृतिका घरहरु भेटेकै थिइँन । पछि थाहा पाएँ – वर्षाको समयमा तल्लो क्षेत्र पूरै डुवानमा पर्ने भएपछि मानिसहरुले यस्तो उपाय अबलम्बन गरेका रहिछन् ।
सामान्य रुपमा बग्न दिइएका नदिहरुका छेउछाउमा बस्ने तराइबासीहरुले त डुबानको यस्तो पिडा खेप्नुपर्दो रहिछ भने छिमेकी राष्ट्रसँगको विशेष सम्झौता मार्फत बाँधिएका बाँधहरुको छेउछाउमा बस्ने तराइबासीहरुको पिडा झन कस्तो होला ? मैले यहाँ आएपछि सुनेको थिएँ – बिधुत र सिचाँइबाट सर्बाधिक फाइदा लिन पाइने दुहाइदिदै बाँधिएका बाँधहरुबाट नेपालीहरु झन बढि पिडीत छन् । हिउँदमा हाम्रा किसानहरुले सिंचाइ गर्ने पानी पाउँदैनन्, बर्षामा आँगन आँगनमा पौडी पोखरी पाउँछन । मैले के पनि सुनेको छु भने देशका बारेमा केही पनि मतलब नराख्ने त्यो जो सुकै नेपाली होस् ऊ ती पानीका ठूला ठूला बाँधहरु बाँधिएका ठाउँमा पुग्यो भने देशलाई अत्यन्तै माया गर्ने नेपाली भएर फर्कन्छ रे । उसका रक्त नलीहरु अझ अरु सक्रिय हुन थाल्छन् रे । र, शरीरभित्र तातो रगत उम्लीरहेको अनुभूत गर्छ अरे !
बरुवाको भेलमा हेलिएको म डेढ घण्टापछि रानीबास पुगेँ । पाइन्ट खासै चिसो थिएन तर जुता भने अझैपनि चिसा न थिए । डाँडोमा पुग्दा बडो आनन्दको अनुभूति भयो । गाईघाटको ३८ डिग्रीको उखरमौलो गर्मीमा उसिनिएको मैले रानीवासको चिसो हावामा सास फेर्न पाउनुलाई स्वर्गको सुखसँग दाँजे । यसलाई उदयपुरकोे वैशिष्टयता मान्नुपर्ला कि एक घण्टाको यात्रा अवधीमा मानिसहरु खाडीको गर्मीदेखि युरोपको जस्तो चिसो हावापानीको महशुस गर्न सक्दछन ।
साँझ खाना खाने बेलामा होटलमा बसेकाहरु कुरा गर्दै थिए – त्यहाँ तल (गाईघाट) मा भन्दा त यता पहाडतिरको सबै कुरा ठिक । पानी उस्तै मीठो । हावा उस्तै शितल । मच्छर पनि नलाग्ने । घर गोठ पानीले डुबाउँला भन्ने पनि भएन । सबै कुरा यतैको ठिक । कसैले यो कुराको प्रतिवाद गरेन । मलाई लाग्यो त्यही भएर त मधेसी नेताहरुमा काठमान्डुमा थातथलो जोर्ने मोह पलाएको होला !

