हालै एक भेलाले रत्नेचौर युवा क्लबको समिति पुर्नगठन गरेको छ । रत्नेचौर ४ निवासी ओम रोकाको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा ४ का मन्नु रावल, सचिवमा १ का हरि महत, सहसचिवमा २ का सुजन थापा, कोषाध्यक्षमा १ का कृष्ण बोगटी र सदस्यहरुमा २ का बेलबहादुर महत र जितेन्द्र अधिकारी १ का हरि बोगटी, हिरासिंह बोगटी, जितबहादुर महत र ४ का पूर्ण थापा मगर रहेका छन् । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा रत्नेचौर ४ निवासी समाजसेवी टेकबहादुर रावल तथा बसन्त बोगटी लगायत हुनुहुन्छ ।
कार्यक्रमलाई सुरक्षित र मर्यादित रुपमा सञ्चालनका लागि कार्यक्रमको अवधी छोट्याइएको जानकारी कोषाध्यक्ष कृष्ण बोगटीले टेलिफोन मार्फत दिनुभएको छ । साथै कार्यक्रम अवधिभर जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षाकर्मी खटाउने पनि जानकारीमा आएको छ । हालसम्म सन्तोष रावलले सुदिप मेमोरियल कोषबाट रु. २० हजार, दिपक बोगटीले रु १० हजार, शिब बोगटीले रु ७ हजार ७ सय ७७, नीराजन थापाले ५ हजार ५ सय ५५ र केहि गैर्हसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको कार्यक्रम व्यवस्थापनका एक सदस्य शंकर महतले जानकारी गराउनु भयो ।
Category Archives: फोटो ग्यालेरी
ने.का.को गाउँ अधिवेशन सम्पन्न
नेपाली कांग्रेसले यसै वर्ष आफ्नो महाधिवेशन गर्ने तयारी गरिरहेको बेला ने.का. रत्नेचौरले पनि आफ्नो गाउँ अधिवेशन सम्पन्न गरेको छ । आफ्ना करिब ५ दर्जन संगठित सदस्य र शुभेच्छुकको एक भेलाबाट यहि श्रावण १६ गते बेनीमा आयोजना हुन लागेको जिल्ला अधिवेशनका लागि १० जना प्रतिनिधि छनौट गर्ने काम समेत सम्पन्न गरेको छ ।
छनौट भएका प्रतिनिधिमा ने.का. जिल्ला कार्य समितिका उपसभापति नेत्रबहादुर महत र सदस्य देबी रावल समेत रहेका छन् । अन्य प्रतिनिधीहरुमा गोविन्द शर्मा, कमला किसान र मिनबहादुर खत्री (रत्नेचौर–४), चन्द्रकला आले र नन्दकुमार श्रेष्ठ अर्जम त्यसैगरी मोहन महत (रत्नेचौर–२), सन्ते थापा (रत्नेचौर–३) र बिक्रम बोगटी (रत्नेचौर–५) रहेका छन् ।
चाँप, राजनीति र विज्ञापन
यो चाँपको बुटो (रूख) पनि अचम्मको छ । यसका थुप्रै फाईदा रत्नेचौरबासी विशेषगरी वार्ड नं. १, बुढोचौरका बासिन्दाहरूलाई पुग्नु स्वभाविक नै हो । मलाई अझै राम्ररी याद छ – रत्नेचौरमा बाटो नआइपुग्दाको बखत यहि चाँपको बुटोको सामुन्ने भलिबल मैदान थियो, जहाँ मेरा अग्रजहरू भलिबल खेल्ने गर्थे । यसो घुम्दै त्यतैतिर गएको मौका पारी मामाहरूले आफ्नो घडि, ज्याकेट र पर्स आदिजस्ता सामाग्रीहरू रूङने जिम्मा मलाई दिएका हुन्थे । त्यसपछि मेरो जिम्मा हुन्थ्यो चौतारी नपाइसकेको त्यो रुखको जरामाथि बसेर मामाहरूको सामान हेर्ने ।
बर्षैपिच्छे दशैंको बेला त्यही रूखको हाँगामा हालिने पिङ खेल्नका लागि म यति लालयित हुन्थेँ कि राती अबेर सम्म म त्यही बुटोको वरिपरी हुन्थे । पालैपालो गरी पिङ खेल्ने र आफूभन्दा साना वा बराबरका तर केहि कमजोर साथीहरू छन भने त झन पालो मिचीमिची पिङ खेल्ने गरेको सम्झना झल्झल्ती आईरहन्छ ।
सायद २०५३ सालतिरको तिजमा हुनुपर्छ यो रुखको वरिपरी चौतारी चिन्ने काम भएको थियो । त्यसपछि त झन मान्छेहरू भेला हुने विभिन्न विषयमा छलफल गर्ने र निर्णय गर्नेदेखि लिएर दुःख सुखका कुरा गर्ने साझा थलोको रुपमा यो चौतारीको विकास हुन पुग्यो । तर विशेषगरी दुई वा केही व्यक्तिहरू जम्मा भई तेस्रो पक्षको दोहोलो काढ्ने काम हुन थालेपछि भने चौतारीको दुर्नाम हुन थाल्यो ।
अहिले त यो रुखको महत्व यति बढेछ कि बागलुङतिर भर्खर सञ्चालनमा आएका उच्च मा.वि.हरूको विज्ञापन गर्ने थलोको रुपमा विकास भैसकेछ । म्याग्दी जिल्लाका ४१ गा.वि.स.हरू मध्ये आफ्नो गा.वि.स.अति नै सुगम र सुविधायुक्त भएको हाँक दिने हाम्रा गाउँबासीहरू अरू त अरू भानु मा.वि. लाई मा.वि. स्थाई गराई उच्च मा.वि समेत बनाउन पहल गर्दैनन् । अझ हाँसो उठ्दो विषय त नेकपा एमाले म्याग्दीको कमाण्ड गर्नुभएका तथा निवर्तमान जि.वि.स उपसभापति भूपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस म्याग्दीका उपसभापति नेत्रबहादुर महत एवं राप्रपाका जिल्ला अध्यक्ष तथा राजाको प्रत्यक्ष शासनकालका मनोनित उपसभापति एकेन्द्रबहादुर रावल समेत यसै गा.वि.स.का स्थाई बासिन्दाहरू हुनुहुन्छ ।

