होटल बब्लु टु होटल झापाली

यता आएको एकहप्ता बित्न नपाउँदै मैले ट्याम्पोचोकमै रहेको बब्लुको होटलमा खाना खान बन्द गर्नुपर्ने भयो । कारण, म उनको होटलभन्दा २५ मिनेटको दूरीमा बोक्सेमा बस्नुपर्ने भयो । यसको मतलब अब मैले उनकोमा ५० रू. छाकको खाना खान पाउने भइँन । साथमा थुप्रै चिजमा पाईने बोनस अब मेरा निम्ति ‘आकाशको फल’ सरोवर नै हुने भए । त्यस माथि मलाई सबभन्दा बढि मन पर्ने गोलगोल आकृतिको ‘तिलौरा’ नामको खानेकुरा पनि मैले खान नपाउने भए । खानासँगै तिलौरा दिइने गाईघाटको एउटा मात्र होटल उनको रहेछ ! मलाई थकथक लाग्यो ! 
मेरोभन्दा दुई गुणा बढि पुट्ट अगाडि निस्केको उनको पेट, मैले जस्तै हाफ पाइन्ट र एउटा सर्टमा सजिने उनी, उनको मधेसी लवज, मिठासता साथै विभिन्न भाषा, संस्कृति र स्थानबाट गाईघाटमा आएका मानिसहरू भेट हुने साझा चौपारी जस्तो उनको होटल यी सबै विशेष चिजबिजहरूबाट टाढा हुनुपर्ने भयो । त्यति मात्र हैन खाना पछि मीठा पान खाने मेरो नियमिततामा पनि अवरोध भएको छ । कारण बन्यो – बोक्सेमा मेरो बसाई !
उसो त पान खाने मान्छेहरू मलाई उति मन पर्दैन । खासमा पानका पारखीहरूले पान चपाउँदै गर्दा भित्ता, भुई, बलेनी, सडक वा जहाँपनि पिच्च थुकेर घिनलाग्दो पाराले रातै रंगाएको त झन म सहनै सक्दिन । परन्तु, गाईघाट आएपछि मेरो एउटा लत बसेको छ – खाना खाईसकेपछि पान खाने ! बोक्सेतिर पान पसल मैले देखेको छैन, तर लत परेपछि आफ्नो ईच्छा पूर्तिका लागि मानिसलाई केहिले नरोक्नेको एउटा उदाहरण म बन्ने गरेको छु । हरेक बिहान साढे नौ बजेतिर म मेरा मित्रहरूलाई कल गर्छु । उनीहरू “हेल्लो” को औपचारिकता पनि पूरा नगरी सिधै बोल्छन् – “सुपारी कति राख्न लगाउने ? तुलसी पनि मिलाउन भन्ने कि ?” म सिर्फ यत्ति भन्ने गर्छु – “बढिया मीठा पान बनाउन लगाउनू !” हुन त सधैं पानका लागि साथीहरूकै ढुवानीमा निर्भर हुँदा नियमित पान सेवन गर्न नपाइने नै रहेछ । परन्तु मिठा पान सेवन गर्ने मौका त्यति धेरै गुमाउनुभने परेको छैन । र, अचम्म लाग्दो कुरो म अझै मिठा पान सेवनबाट जर्दा पान सेवनमा उक्सिकेको छैन । हुनसक्छ सायद किनकी पान महात्म्य मैले उति जानिसकेको छैन । अँ साँच्ची मैले पान चपाउँदै गर्दा पटकैपिच्छे थुक्नू पर्दैन ! मीठा पान खाने मान्छेहरू पानको गुलियो निल्न सक्छन् ! यो विषयमा पनि मलाई उति ज्ञान छैन तर दश कक्षा पढ्दै गर्दा आफूसँगै मीठा पान खान सिकाएका मेरा इन्डियन सहपाठी राजेशले भनेका थिए – “मीठा पानले स्वास्थ्यमा उति असर गर्दैन् ।”
बोक्सेमा बसोबासको ब्यवस्था भएपछि मैले खाना खाने ठाउँ भेटेँ – झापाली होटल ! सबै कुरा बब्लुकै होटलको जस्तो ब्यवस्था रहेछ यहाँ तर दुई चिज चाँहि नपाईने । रोटी र तिलौरा ! तर थाहा छ ? सादा भातमा दही पनि थपे दश रुप्पे बढि तिर्दा हुने । अर्थात गाईघाटमा भन्दा १० रू. सस्तो ! मिजासिला राई दाजुको परिवारले चलाएको यस होटलमा खाना खान थालेपछि मैले गाईघाट बिर्सन थालेँ । विभिन्न अफिसका केहि कर्मचारीहरूले खाना खाँदा रहेछन् – यहाँ । उनीहरूसँग पनि राम्रो चिनाजान भयो । अझ विशेष त त्यतिखेर लाग्न थाल्यो जतिबेला पहाडमा आफ्नो जागिरे जीवनको आधा समय बिताएका मधिसे कर्मचारीहरू र मधेसमा आफ्नो जागिरे जीवनको आधा कार्यकाल बिताएका पहाडे कर्मचारीहरूले आफ्नो जागिरे जीवनका रमाईला अनुभवहरू बाढ्न थाले । 
मसँगै खाना खाने बस्नेत सर निकै रमाईला मान्छे छन । उनीसँग जीवन भोगाइका थुप्रै अनुभूतिहरू छन् । र, ती अधिकांश रमाईला र रोचक छन् । एक साँझ उनले सुनाए, उनलाई पनि अरू कसैले सुनाएको एउटा घटना ! “सुदुर पश्चिमेली एउटा हाकिम तराईको एउटा जिल्लामा आएछ । र, पहिलो दिन आफ्नो भान्छेलाई खाना पस्कन अर्‍हाउँदै आफ्नै बोलीमा भनेछ – भात गाड् ! तराइको भान्छे बिचरोलाई हाकिमको कुराले सारै पिरोलेछ ! उसलाई लागेछ – यत्रो दुःख गरेर पकाएको खाना सित्तैमा किन गाड्नु ? कतै मैले नमीठो पो पकाएछु कि ? बिचरो डरले थुरथुर हुँदै हाकिमको अगाडि नतमस्तक भएर उभ्भिएछ । उता हाकिमलाई लागेछ – भान्छेले आफूले भनेको मानेन ! उसले अलि कडा रुपमा प्रस्तुत हुँदै फेरि अर्‍हाउँदै भनेछ – सुनेन ? जा भात गाड् ! बिचरा भान्छेले केही उपाए नभेटेपछि करेसामा लगेर सबै भात गाडिदिएछ ! निकै बेरसम्म भान्छेले खाना नपस्केको देखेपछि हाकिमले हकारेछ – हैन ख्वै मलाई भात ? भान्छेले पूरा हिम्मतका साथ जवाफ दिएछ – अनि साबले नै गाड्न भन्नुभएको हैन ? मैले त पछाडि लगेर गाडिदिएँ ! भान्छेले हाकिमलाई लगेर भात गाडेको ठाउँ देखाइदिएछ । बिचरो हाकिम जिल्लाराम !” खासमा हाकिमकोघरतिर भात पस्कनुलाई गाड्नु भन्दा रहेछन् ! फरकफरक भूगोलका मानिसहरूबीचमा कुराकानी हुँदा हुने भाषाको बुझाईसम्बन्धि बस्नेत सरले सुनाएको यो घटना मलाई निकै रमाईलो लाग्यो ! 

गार्इघाट एक्सप्रेसः बब्लुको होटलमा पहिलो दिन

खानाको मूल्य चाँहि निकै सस्तो मान्नुपर्छ गाईघाटमा । ५० रुप्पेमा दाल, भात, तरकारी ! अझ त्यसमाथि पनि चटनी र सलादका दुईचार पिस बोनसमा पाइँदो रैछ यहाँ ! दही थपे २० रुप्पे दाम बढी, मासु खानेले चाँहि चालिस रुप्पे बढी थपे पुग्ने । मलाई गज्जब लाग्यो । ९० रुप्पेमा मासुभात । हाम्रोतिर कल्पनाबाहिरको कुरा हो यो । हरेक साधारण होटलमा पनि सादा खानालाई थकाली खानाको नाम दिएर कम्तीमा पनि ८० रुप्पे लिने गर्दछन् – होटल साहू/साहुनीहरूले ।
गाईघाट आएपछि मलाई पायक पर्ने राम्रो खाना खाने ठाउँको खोजी गर्नुभयो– कार्यालयका साथीहरूले । र, अन्त्यमा मलाई सुझाउनुभयो एउटा होटलको नाम – बब्लुको होटल ! उहाँहरू जिकिर थियो – बब्लुकोमा खाना चाहे अनुरुपको भेराइटीहरू पाईन्छ । जस्तो कि रोटी, दाल, दहि, दुध, मीठाई आदि/ईत्यादि । उहाँहरु मध्ये एक कार्यक्रमका अधिकृत परशुदाईले बब्लुकोमा नै खाना खानु पर्ने कारण बताउनुभएको थियो – बब्लुकोमा इन्डियन स्वादका थुप्रै खानाहरु पाइन्छन् । र, शत्रुघ्न नामधारी मेरा समकालिन मित्र चाँहि जोडदिदै हुनुहुन्थ्यो – “हेर्नुस् सबभन्दा फाइदाको कुरा त खाना खाईसकेपछि पान खानुहुन्छ भने त झन गाईघाटकै टप पानपसल बब्लुकै होटल अगाडि छ !” उनको यो सुझाउ सुनेपछि भने म झस्किहालेँ – “लौ ! हजुरको नाम पनि शत्रु सुझाऊ पनि शत्रुपाराको भयो नी होउ ! अब पान खान थालेपछि त काम पुगेन ?” उनीसँगै खानापछि पानलिने दुई साथी राजेश र नारायणको चाँहि खास सुझाउ रह्यो – “हजुर चाँहि जर्दा (कडा) हैन मीठा पान लिनुहोला नी त !” यो सुझाउ मलाई राम्रै लाग्यो । तर खाना चाँहि बब्लुकोमा नै खानेकुरामा म भने पूरै ‘कन्भिन्सड’ भैसकेको थिइँन । जब रेडक्रस उदयपुरका सभापतिले सुनाउनु भयो – “खासमा हामी सबैले त्यही खाना खान्छौं । हजुरले पनि हामीहरूसँगै खाँदा बेशै होला ।” त्यसपछि भने म बब्लुकै होटलमा खाना खाने निधोमा पुगेँ ।
बैशाख दुईको बिहानको खाना खान म बब्लुकोमा पुगेको थियो । नामजस्तै मिजासिला रहिछन् बब्लु । दुई दाजुभाई मिलेर होटल गर्दा रहिछन् – गाईघाटमा उनीहरू । होटलको नाम छैन । तर बब्लुको नामबाट ग्राहकहरूले राखिदिएका रैछन होटलको नाम – बब्लुको होटल ! सस्तोमा मीठो खाना पाइने उनको होटलमा खाना खान जाने मान्छेहरूको निकै भीड हुन्छ । पहिलो दिनमै मैले खाना खाने पालो पर्खिन २० मिनेटभन्दा बढी खर्चनुप¥यो । नेपाली कम र मैथिली ज्यादा बोल्ने बब्लुको प्रायः मुस्कानका साथ प्रस्तुत हुने बानि छ । सायद असल ब्यवसायीको गुण हो यो । ग्राहकसँग अत्यन्तै निकटताको सम्बन्ध राख्न सक्ने उनको खास क्षमताका कारण हुनुपर्छ, होटलभित्र छिर्दै गर्दा प्रत्येक ग्राहक बोल्ने गर्छन – “बब्लुजी, ठीक वा ?” ग्राहकलाई थप खाना बाड्दै गरेको उनी मुस्कुराउँदै बोल्छन् –“हाँ ठीकठाक !” मलाई याद छ पहिलो दिन मैले उनकोमा खसीको मासु र भात खाएको थियो । र, उनले मलाई मासुको रस पनि थपिदिएका थिए । मलाई लागेको थियो – “बब्लुजी मलाई प्रभावित पार्न चाहिरहेका छन् ।” तर पछि थाहा लाग्यो, उनकोमा मासुभात खाँदा मासुको रस थपिनु र दुईचार चोक्टा अझ अरु बोनसमा पाइनु अस्वभाविक रहेनछ ! त्यसपछि भने म प्रष्ट बन्न पाएँ कि उनकोमा खाना खानलाई मानिसहरू किन हुरूक्कै हुँदा रहेछन् ?
खाना खाएपछि म पैसा तिर्न खोज्दै थिएँ । परशुदाईले मेरा बारेमा जानकारी गराउनुभयो । र, उनलाई मेरो खानाको हिसाब राख्न भन्नुभयो । बब्लुले नाइँनास्ती गरेनन । मसँग परिचय गरे । अनि महिनावरी खाना खाने मानिसहरूको सूची भएको खातामा मेरो नाम पनि थपे – निराजन सर, रेडक्रस । मसँग उनले छोटो भलाकुसारी गरे । उनको मधेसी लबज सुन्दा मलाई अनौठो भन्दा पनि मिठो लाग्यो । खासमा मलाई मधेसी लबज मन पर्छ । उनीहरू पृथक पाराले नेपाली बोल्ने गर्दछन् । र, उनीहरूले नेपालीमा बोल्दा मलाई सुनूँसुनूँ जस्तो लाग्छ । खाना खाँदाको पहिलो बिहान मैले उनीसँग आधा नेपाली र आधा हिन्दीमा गरेर संवाद गरेँ । किनकी मलाई मैथिली बोल्न आउँदैन ! र, उनी हिन्दीमा पनि पोख्त छन । त्यो दिन छुट्ने बेलामा मलाई लाग्यो – भोली देश जातिय संघिय संरचनामा विभक्त भैहालेछ भने हाम्रा बब्लुहरू के पहाडियासँग यस्तै मिजासपूर्वक आफ्नै शैलीमा नेपालीमा संलाप गर्लान ? के साँच्ची मधेसतिर झर्दा पहाडियाहरूले खाना खान पनि पाउँलान कि होटलमा ? वा मधेसीहरूले पनि पहाडी राज्यमा उक्लदा पहाडेहरूबाट अहिलेको भन्दापनि बेशी सम्मानित ब्यवहार पाउँलान के ?

गार्इघाट एक्सप्रेस ३

गार्इघाटको एक दृश्य

पूर्वतिर नेपाली भाषाका गीतहरु खुबै बजाइँदा रहिछन् । यो संयोगमात्र हो या वास्तविकता त्यो त मैले अझै भेउ पाएको छैन । तरपनि ४७७ कि.मी. को यात्रा अवधीभर मैले बसमा एउटा मात्र हिन्दी गीत सुनेँ– ईश्क सुफियाना ….! अरु सबै गीतहरु नेपाली । त्यसमा पनि चालकले यशकुमारका गीतहरू धेरै पटक दोहोर्‍याएर बजाए । कर्णप्रिय नेपाली गीतहरू बज्न पनि छाडेनन् । र, मैले सुन्न पनि छाडिनँ । अविश्रान्त ती गीतहरू घन्कीनै रहे । 
यशकुमारका गीतहरू बजाउन छाडेर बिचमा चालकले ईश्क सुफियाना घन्काए । गीत आधाउधी नपुग्दै बस रोकियो । गीत पनि रोकियो । यसपल्ट समय हेरिनँ मैले । ख्वै कति बजेको थियो ? तर बस ढल्केमा आएर रोकिएको थाहा भयो । यात्रुहरु फेरि कुना लाग्न थाले । यसपल्ट म अलि होशियार भएँ । सायद अगुल्टोले हिर्काएको बिरालो बिजुली चम्कदा तर्सन्छ यसकारण भनिएको हो ! बस रोकिएको ठाउँमा एउटा खबटाले छाएको घर र त्योसँग जोडिएको बाँसले बारेको र पालको छाना लगाइएको चिया पसल थियो । र, एउटी अधवैशें महिला यात्रुहरुलाई दश रुपैया दरको चिया पिलाउनमा ब्यस्त थिइँन । यात्रुहरू उनीसँग जिस्किदै चियाको आनन्द उठाइरहेका थिए । उनले पनि कुनै कसर नराखी मस्किरहीन । मैले चिया अर्डर गरिनँ । सायद त्यही भएर होला अधवैशें साहुनी भित्रैबाट चिच्याइन – “भाई चिया नपिउने ? ‘दूध’ राखेको चिया हो भाई । पिउनुस ।” मैले केही बोलिन । कारण म हाइवेका चिया खाजा ब्यापारीहरूसँग कहिल्यै सकारात्मक छैन । उनीहरूले यात्रुहरूमाथि आर्थिक ज्यादती गरेको यथार्थले बिझाइरहन्छ मलाई । त्यसैले ती अधवैशें साहुनीले गरेको आग्रहलाई नसुने झैं गरे मैले ! उनको आवाज दोश्रोपटक मेरो कानैमा ठोक्कियो – “पिउनुस के पिउनुस भाई । खाँट्टी ‘दूध’ को चिया हो के !” मैले यसपल्ट चाहिँ नबोली धरै पाइँन, भनिदिएँ –“हैन दिदी म नपिउने !” मैले यसो भन्दा बहुसंख्यक यात्रुहरूले मलाई चिहाए । अलिकति लज्जा अनुभव भो । एकछिन पछि बस त्यहाँबाट पनि अगाडि बढ्यो । बसमा उक्लने बेलामा एकजना यात्रुले मेरो कानैमा आएर फुस्फुसायो – “कत्ति न आफ्नै ‘दूध’ राख्या झैं गरेर भाईलाई मरिहत्ते गरी हैं साहुनीले !” “अन्त तपाइँले चाँहि आईमाईको ‘दूध’ राखेको चिया पिउनुहुन्छ र ?” ओठे जवाफ फकाईदिएँ मैले । केटो चुप !
ढल्केबाट हिडेपछि मलाई निन्द्रा परेन । मेरो राईसाथी पनि निदाएनन । र, हामी दुईबीच खास कुराकानी पनि भएन । झ्यालबाहिरको दृश्य धीत मरुन्जेल देख्न पाइँन मैले । तर हेडलाइटको प्रकाशमा सडकका छेउछाउमा देखिएका स–साना झाडी र बनका दृश्य चाँहि रमणीय लाग्यो, मलाई ।
आखिरमा जे नहोस भनेर चिताएको थिएँ, त्यस्तै भयो । बसले त एकाबिहानै पो गाईघाटमा ल्याइपुर्‍यायो ! बिहानको साढे चारबजे कतातिर लाग्ने ? म विलखबन्दमा परिरहेको थिएँ । पहेंलो टिसर्टवाली र उसको साथी एकपटक पनि हामीतिर नहेरी बसबाट ओर्ले । उनीहरू जस्तै अरु यात्रुपनि ओर्लन थाले । तर मेरा राई साथी भने चुपचाप सिटमै ढल्किरहेथे । मैले सोधें – “मनबहादुर सर, हजुर नझर्ने ?” “लु ! के भन्नुभएको हजुरले ? अब हजुर पहिलोपटक आउनुभएको ठाउँमा साथीलाई उसै छाडेर म झर्ने ?” मप्रति उनले देखाएको सदाशयताले म पानीपानी भएँ । वास्तवमा उनीजस्ता सहयोगी साथी विरलै भेटिन्छन् यात्रामा । “ए, उसोभए हामी उज्याले भैन्जेल यहिँ बसिराख्ने ?” मेरो प्रश्नमा उनले जवाफ फर्काए – “अलि माथिसम्म जान्छ यो बस त्यतै झरौंला सर । हेर्नुस सर, यहाँ त बजारमात्र छ, सरकारी र अरु अफिसजति सबै माथि बोक्से छन् । हजुरको रेडक्रस अफिस पनि त्यही छ ! हजुरको सामान पनि रहिछ, ट्याक्सी कि ठेलामा हालेर उकाल्नुपर्छ माथि । हिडेर त २० मिनेट लाग्छ ! फेरि सामान लगेर जाँदा गार्‍हो पनि त हुन्छ !” 
बसबाट झरेपछि उनी चियाको बन्दोबस्त मिलाउन हिडे । मैले चाँहि दुवैको सामान रुँघेर बसेँ । एकछिन पछि उनले चिया ल्याएर आए । चिया पिइसकेपछि, उनी ट्याक्सी खोज्न हिडे । ट्याक्सी नभेटेपछि त्यसै फर्केर आए । म चाँहि पूरा बेचैन भैरहेथेँ । मनमन लाग्यो – हाम्रो बेनीमा त ट्याक्सी फालाफाल छन् नी यो कस्तो ठाउँ यार चाहिएको बेलामा एउटा ट्याक्सी पनि नपाइने ! 
अन्ततः एउटा ठेलालाई डेढसय दाम दिनेभएपछि सामान पुर्‍याइदिने भयो । छुट्टिने बेलामा हामीले एकअर्काको मोबाइल नम्बर लियौं । म उकालो लागेँ । उनी चाँहि आफ्नो गाउँ जाने बसको खोजीमा लागे । अँ साँच्ची, गाईघाट बस्न थालेको तीनदिनपछि थाहा लाग्यो – यहाँ त ट्याक्सी नै नपाइने रहिछ । यतातिर जिपलाई पो ट्याक्सी भन्दा रैछन् मान्छेहरू !

गार्इघाट एक्सप्रेस – २

धार्केबाट बस गुड्यो । त्यसपछि म सिटमै ढल्केँ । लामै समयसम्म निदाएछु म । एकैचोटी भरतपुर बसपार्कमा आएपछि आँखा खुल्यो । बसभित्र खाली सिट एउटै थिएन तैपनि लोभी कन्डक्टर के मान्थ्यो ? ड्राइभरलाई ‘हर्न’ बजाउन उक्साउथ्यो । पाँच–दश मिनेट बसपार्कको चक्कर लगायो बसले तर यात्रु कोही भेटिएनन् ! “रातीको टाइममा मान्छे भेट्न मुश्किलै हुन्छ !” कन्डक्टरले भन्यो । ड्राइभरको केही आपत्ति रहेन, बस हेटौडातिर हानियो ।
बस गुडेको एक घण्टा नबित्दै फेरि रोकियो । खाना खानलाई गाडी रोकिएको ठानेका केही मान्छेले गनगन गर्न थाले – “हैन गाडीले खाना खान कहाँ रोक्दो रै’छ ?” ड्राइभरलाई पिसाब लागेको भएर गाडी रोकिएको रहिछ कन्डक्टरले भनेपछि थाहा लाग्यो ! नजिकै एउटा पसल पनि थियो । कति बजेछ ? यत्रो बेरसम्म पसल खुला नै छ ? मनमा चस्को पस्यो मेरो । मोबाइल हेरेपछि थाहा भयो, रात्रीको पौने एघार भैसकेको रहेछ । यात्रुहरु छेउछाउतिर ‘जिपर’ तान्दै थिए, म पनि उतै लागेँ । जिपर तानेँ ! लगाउने बेलामा हतार भएर हो वा निन्द्राले पूरै नछाडेर हो जिपरले छाला च्याप्यो, मेरो । यस्तो बेला मलाई छोरा मान्छे भएर जन्मिएकोमा पश्चाताप लाग्ने गर्छ । तर यसपाली पछुताउ भयो – छोरा मान्छे भएर जन्मिएको भन्दामा पनि बढि हतार गरेर जिपर लगाउने मुख्र्याइ गरेकोमा ! गाडीको हर्न कानमा बेस्सरी ठोक्किरहेथ्यो । मैले विना प्रतिक्रिया जिपरले च्यापिएको छाला निकाल्ने यत्न गरिरहेँ । एकपटक रनक्क दुखेपछि जिपरबाट च्यापिएको छाला निस्कियो । त्यसपछि मैले जिपर लगाउन हतार गरिन ! खलासी कान्छो चिच्याउँदै थियो – “दाई यतै बस्ने हो र ? बस गुड्न आँट्यो हैं !” मेरो पालो म बुर्कुसी मार्दै बसभित्र छिरेँ ।
मसँगै यात्रा गरिरहेका अधवैशें अगाडि नै सिटमा आएर बसिसकेका रहिछन । म सिटमा बस्न नपाउँदै उनले आफूले ल्याएको पानी पिउन आग्रह गरे । सिटमा बसीसकेपछि उनले दिएको चीसो पानी घटघटी पिएँ । मैल बसभित्र छिर्ने ढोका नजिकैको भित्तामा लेखिएको देखेँ – “अपरिचितले दिएको खानेकुरा नखानुहोला !” त्यति मीठो चीसो पानी पिलाउने मानिसलाई मैले पनि केहि न केहि दिनुप¥यो नी भन्ने लागेपछि मैले मेरो झोलाबाट आलुचिप्स निकालेँ र उनलाई लिन आग्रह गरेँ । उनले चुपचाप लिए, उनका आँखा त्यो सूचनामा एकोहोरिएका थिएनन् । सायद उनले त्यो देखेनन् । वा उनलाई म उनीसँग पूरै परिचित भएजस्तो लाग्यो । चुपचाप आलुचिप्स खाए मसँगसँगै । हामी दुवैलाई केहि भएन ! अर्थात उनले दिएको पानीले म बेहोस भइँन ! र, मैले दिएको आलुचिप्सले पनि उनलाई बेहोस पारेन । त्यसपछि म सुतिनँ । उनी त झन पहिलेदेखि नै जागा थिए । बस आफ्नै रफ्तारमा अगाडि हुँइकिरहेथ्यो, हामीबिचको संवाद पनि तिब्र गतिमा अगाडि बढिरह्यो । खासगरी उनले मलाई उदयपुर, खोटाङ र ओखलढुंगाका बारेमा प्रष्ट पार्ने कोशिस गरे ।
रातीको सबा एघार बजेतिर बस हेटौडामा आएर रोकियो । “खाना ख्वाउने ठाउँ बल्ल यहाँ पो रहिछ ?” ज्यादै भोकाएको मैले मेरो राई साथीसँग गुनासो पोखेँ । उनी सहमत भए – “हो त, लास्टै खत्तम हुने यि गाडीवालेहरू !” केहि गनगन गर्दै उनी सिटमुनि रहेको कार्टुन खोतल्नपट्टि लागे । सायद चल्लालाई पानी दिनलाई होला । म बसबाट झरेँ । कुपन सिस्टम रहिछ – खाना खाने ठाउँमा । पहिला दाम तिर्ने त्यसपछि कुपन लिने अनि खाना खाने टेबलमा गएर बस्ने । मासुभातको एकसय असी पर्दो रहिछ । मासु जे को खाएपनि हुने – कुखुरा वा खसी । मूल्य अनुसारको खाना पटक्कै थिएन । मासुपनि दुई चोक्टा मात्र ! गोलभेडा मात्रै धेरै । 
पछि गाडीमा आएपछि थाहा भयो – पटकपटक यात्रा गर्नेहरूले यो होटलमा खाना नै नखाँदा रहिछन् । बरु नजिकैको अर्को होटलमा चाउचाउ अण्डा बनाउन लगाएर खाँदा रहिछन् । मेरा राई साथीले पनि उसै गरेछन् ! भन्दै थिए – “हजुरलाई खोज्दा भेटिनुभएन, फोकटैमा एकसय असी झ्वाम पार्नुभयो । ठिकै छ योपाली जे भएपनि अर्कोपाली चाँहि चाउचाउ अण्डा नै खानुहोला !” मुन्टो हल्लाएर मैले सहमति जनाएँ । पारिपट्टीकी पहेंलो टिसर्टवाली र उसको साथी त्यो बिचमा पनि उठेनन् । यसको मतलब उनीहरुले खाना नै खाएनन । मनमा यस्तो लाग्यो – बिचरा खाना खान रोकेको पनि थाहा पाएनन् कि ? एकछिनपछि बस पनि गुड्यो । उनीहरू उस्तै पाराले निदाई रहेथे । बसमा यशकुमारको गीत बज्दै थियो – म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै …..!