आफ्ना स्वर्गीय पिता ओमबहादुर बोगटीको १७ औं पुण्य तिथीको अवसर पारी रत्नेचौर-१ का समाजसेवी दिपक बोगटीले १३५ ब्राम्हणलार्इ भेला पारी भोजन गराउने कार्यक्रम सम्पन्न गरेका छन । सम्भवतः जिल्लामै पहिलोपटक सम्पन्न कार्यक्रममा विभिन्न स्थानबाट ब्राम्हणहरू भेला भएका थिए । बोगटीले आयोजना गरेको भोजन कार्यक्रममा उपस्थित ब्राम्हणले विभिन्न धार्मीक ग्रन्थहरू पाठ समेत गरेका थिए । महागरूड पुराण, रूद्री, चण्डी, सुर्यपुराण लगायतका १८ वटा पुराणहरूको पाठ गरिएको कार्यक्रममा गुन्जेको वेदपाठको ध्वनीले वातावरण नै गुञ्जायमान भएको थियो ।
असोज ४ गते सम्पन्न गरिएको उक्त भोजन कार्यक्रममा बोगटीले कार्यक्रममा भजन किर्तनका लागि उपस्थित भजन मण्डलीलार्इ रू ५ हजार तथा वार्ड नं. १, २, ३ र ४ का आमासमूहहरूलार्इ नगद रू ५ हजारका दरले सहयोग गरेका थिए । साथै उनले उपल्लाचौर स्थित उपल्लाचौर प्राथमिक बिधालयलार्इ पनि रू ५ हजार सहयोग प्रदान गरेका थिए । त्यसैगरी, उनले हालै मात्र संस्कृत दर्शनमा स्नातकोत्तरमा सर्वोत्कृष्ट भर्इ राष्ट्रपति डा. रामबरण यादवका हातबाट सम्मानित हुन पुगेका रत्नपुत्र सुरेश शर्मालार्इ समेत उनको उत्तोरत्तर प्रगतिको शुभकामना सहित पवित्र शिव पुराण प्रदान गरी ओढाइ सम्मान गरेका थिए । विभिन्न १८ पुराणहरू वाचन गरिएको कार्यक्रममा पुराण श्रवणका लागि सयौंको उपस्थिती रहेको थियो ।
(रत्नेचौरबाट फर्केर प्रविण खत्री)