अलबिदा गाईघाट – म फेरि आउँला !

नीराजन शिरीष
ज्यामिरे, हडियाँबाट बेल्टार लाग्दै लेखक । तस्बीरः भोला मगर
“हिजो आएको जस्तो लाग्छ भाई, जानेबेला भैसक्यो हैं ?” प्रोजेक्टको सम्झौता सकिएको साँझ खाना खान जाँदा होटलकी साहुनी दिदीले भन्नुभयो । मैले अलिकति निराश र केहि अरु उत्साही हुँदै जबाफ दिएँ – “हो दिदी, भयो । अब कार्यक्रम चाँहि सिध्यियो, दुईचार दिनमा हिड्दै छु ।” साहूनी दिदीले खाना ल्याईदिनुभयो । र, पहिलेको छाकमा झैं यो छाकमा पनि उहाँले छाली (तर) सहितको दुध दिन बिर्सनुभएन । “अब भाई गएपछि छाली कसले खाने ?” दिदीले चिन्ता ब्यक्त गर्नु भयो । मैले भने – “पहिले पहिले दहिमा मिसाउनु हुन्थ्यो नी हैन र ? त्यसै गर्नुहोला नी ।” सहमति जनाउँदै उहाँले जबाफ फर्काउनु भयो – “हो, त्यसै गर्नुपर्ला !” मैले तीनमहिनादेखि यसैगरी खाना खाँदै आएको छु यहाँ । होटलजस्तो कत्ति आभाष भएन मलाई । एकदमै पारिवारीक वातावरण ! गाईघाट छाडेपछि अब यस्तै होटल म सायदै भेटुँला ! खाना खाईसकेपछि एकछिन भलाकुसारी भयो । एउटा अन्तिम भलाकुसारी ! होटलका सबैले एकमुख भएर सोध्नुभयो – “उदयपुरको राम्रो के लाग्यो ?” “त्यो हाम्रो अफिसको दाईलाई पैसा दिईदिई रक्सी मासु खान उक्साउने एउटा सरकारी हाकिम बाहेक उदयपुरको सप्पै राम्रो लाग्यो ।” विनोदीभावमा मैले जवाफ फर्काएँ । सबैजनाको हाँसोको फोहोरा छुट्यो । बस्नेत सर भन्दै हुनुहुन्थ्यो – “हामी हाँसेको देखेर त्यहाँ सडकबाट बटुवाले गज्जबसँग चिहाए !” परन्तु हामीले हाँस्न पाउने हाम्रो अधिकारको भरपुर उपयोग गर्‍यौं । त्यस रात १० बजेमात्र हामी छुट्टियौं ।
उदयपुर आएपछि मलाई जीवनका बारे एक विन्दुबाट बुझ्ने मौका पाएँ जस्तो लाग्छ । तराईको सम्पन्नता मात्र होईन गरिवीलाई  समेत नजिकैबाट अध्ययन गर्ने मौका मिल्यो मलाई । कठोर परिश्रम गर्न सक्ने थारु जातीका मानिसहरुले खेतीपातीमा खटिएर लागेको दृश्य मेरो आँखामा आज पर्यन्त उस्तैसँग झल्किरहेछ । धर्म बदलेर ख्रिष्टियन भए पनि आफ्ना मौलिक संस्कृतिहरु नबदलेका जनजातीका मान्छेहरुका साँस्कृतिक प्रस्तुती हेर्न पाउनु मेरा लागि अहोभाग्यकै कुरा हो । म धर्मभिरु हैन । एकपक्षिय रुपमा हिन्दु वा बुद्धधर्मको वकालत मैले कहिल्यै गरेको पनि छैन तर जे भएपनि टोलैपिच्छे चर्चहरु देख्दा मनमा यस्तो लाग्यो – अब हामीले हाम्रो मौलिकता बिर्सिन थालिसकेछौं । उदयपुर आएपछि मैले एउटा दिब्यज्ञान प्राप्त गरेको छु – “संस्कार र संस्कृति बचाईराख्ने हो भने त्यसभित्र रहेका कुसंस्कारलाई सच्चाएर हामीले आफ्नो संस्कार र संस्कृतिलाई परिष्कृत गर्दै लग्नुपर्छ । नत्र हाम्रो साँस्कृतिक र धार्मिक भविष्य अन्धकारमय हुने सुनिश्चित छ ।” यो लेखिरहँदा मैले तटस्थ हुन सकेको छैन, अर्थात मन नदुखाई यो लेख्न सकिरहेको छैन कि दशैंतिहार हैन अब मानिसहरुले भन्न थालेका छन् – एस्तर र क्रिसमस !
सडकमा कामोत्तेजक कपडाहरु लगाएर क्याटवाक गर्दै हिड्ने युवतीहरुको लर्को देखिनु न बेनीमा अचम्मको विषय छ न त गाईघाटमै । बजारमा निस्किदाँ म आफै दुईपटक मोटरसाइकल दुर्घटनबाट बालबाल बाँचेको स्मरण छ । कारण, सडकमा दुईजना युवती यस्तो पहिरनमा देखेँ कि मेरो टेस्टोस्टेरोन हर्मोन एक्कासी सक्रिय हुन पुग्यो । उनीहरुलाई चियाउँदा झण्डै अगाडिबाट आईरहेको गाडिमा जोतिन पुगिनँ ! उसो त पोखरातिर आउँदा पोखराका साथीहरू भन्ने गर्थे – “बेनी यौनका मामलामा स्वतन्त्र छ !” उनीहरुले त्यसो भनेर जिकिर गरिरहँदा म कहिल्यै मान्न तयार भइँन । किनकी, त्यो मेरो जानकारीभित्रको विषय थिएन । कुन लाहुर्नीले कसलाई के किनीदिई ? कोसँग रात काट्छे ? कति कामुक छे ? त्यो जानकारी लिदै हिड्ने कुरो पनि भएन । तर पछि यसविषयमा विश्लेषण गर्दै जाँदा म के निश्कर्षमा पुगेँ भने यौनका मामलामा नेपाली समाज विस्तारै खुला हुँदैछ । सायद पाश्चात्यकरण भनेको यहि नै हो । नभए हिजो युरोपका शहर चाहर्दा बसस्टप, ट्रेन स्टेशन वा सडकमै युवायुवतीले मस्त चुम्बन गरिरहेको दृश्य देख्दा लाज लाग्ने मलाई गाईघाट बजारभन्दा माथि लभ्ली डाँडामा जोडीले अंकमाल गर्दै बेलाबेलामा ओठ जोड्नु अनुचित लागेन ! यसको मतलब समाज बिस्तारै आधुनिकीकरण (औधोगिकीकरण विनाको) को दिशातिर उन्मुख छ । उसो त पछिल्लोपटक सबभन्दा ठूलो नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डपुत्रले पनि यो कुरा पुष्टि गरिसकेका छन कि अब मानिस एक नारी ब्रहमचारीमा सिमित हुन सक्दैन !
तीन महिने बसाई सिध्याएर गाईघाटलाई बाईबाई गर्दा मैले जीवनका थुप्रै आयाम बुझ्न पाउनुलाई मेरो जीवनको उत्कृष्ट सिकाई ठानेको छु । गाईघाटमा मेरो आगमनले गाईघाटेहरुलाई त सायदै केहि दियो, तर यहाँ आएर तीन महिना बिताउन पाउनु मेरा लागि विश्वबिद्यालयमा ३ बर्षको समय बिताउनु बराबर हो जस्तो मैले अनुभूत गरेको छु । किताबमा अरुले लेखेका विषयबस्तुहरु अध्ययन गर्नुभन्दा आफ्नो वरिपरी प्रकृतिले लेखिदिएका विषयबस्तुलाई स्वयंले अध्ययन गर्नु र विश्लेषण गर्नु मेरा लागि बढ्ता महत्व विषय बनेको छ ।
बरुवाको बगर, मतिगडाको जंगल, त्रियुगाको किनार, रानीबासको सुन्दर काख, बेल्टार बसाहाको मनोरम दृश्य, हडियाँको समथर फाँट र गाईघाटको आधुनिकीकरणलाई चिहाउन पाउँदा म जति खुशी छु । त्यति नै उदयपुर गढी, ब्यापारिक केन्द्रबिन्दु कटारी र घुर्मी अनि रौतामाईको मन्दिर र पोखरीमा पुग्न नपाउनुलाई मैले महत्वपूर्ण अवसरहरु गुमाउनु परेको ठानेको छु । गाईघाट एक्सप्रेसको अन्तिम अंक लेखिरहँदा मैले सानोमा सुन्ने गरेको पोखरीको पात चराले टिपेर सफा गर्ने रौता पोखरी हेर्न म आउन फेरि पाउँला कि नपाउँला ? अनि साँच्ची गा.वि.स. अध्यक्षलाई पनि सरुवा गर्ने उहिलेका एक चलाख गा.वि.स. सचीव पनि उदयपुरकै रहिछन् उनलाई भेट्न पाएको भए मेरो बसाई झन कति उपलब्धीमुलक हुन्थ्यो होला ? अहिले थकथक लागिरहेछ !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s