झण्डै बगाएन बरूवाले …

बरूवा खोलाको बगर नियाल्दै । तस्बीरः हिमाल कार्की पप्पे
एक रात एकाध घण्टा पानी दर्कदा यहाँका खोलाहरुमा पानीको सतह यति माथि आउँछ भन्ने थाहा भएको भए म कुनै हालतमा मोटरसाइकल हाँकेर साउनेको उकालो चढ्ने नै थिइँन । तर त्यो शनिबार मलाई रानीबास पुग्नु थियो । दुईटा माध्यमिक विधालयका  कक्षा ५ देखि १० का भाईबैनीहरुलाई मलेरिया र सुपानेट झुलका बारेमा कक्षा लिनुपर्ने थियो । तसर्थः कार्यालयबाट संस्थाकै रातो गल्यामर बाइकमा उत्तरतिरको पहाडतिर हुँइकिएँ । झण्डै २ कि.मी टाढा उत्तरतिर आइपुगेपछि बरुवा खोलामा मैले ४ नम्बरमा हाँकिरहेको मोटरसाइकलको गियर डाउन गरेँ । बाइक खोलाको मध्य भागमा गएर टक्क रोकियो । पानीले बाइकसँगै झण्डै मलाई पनि बगाएको ! १ नम्बर गियरमा खोला तरिरहेको ठानेको मैले २ नम्बर गियरमा बाइक खोला पार गराउँदै रहिछु । फेरि गियर डाउन गरेँ । र, खोला तरेँ ।
खोला तर्दा पानीले झण्डै बगाएको घटनाले भन्दा आधा शरीर पानीले निथ्रुक्क भिजाएकोमा मलाई बढी चिन्ता लाग्यो । झोलामा अर्को जोर कपडा पनि राखेको थिइँन । किनकी भोलीपल्ट त म फेरि गाईघाट नै फर्किदै थिएँ । यस्तो बेला आमाले भनेको एउटा कुरा सम्झदा सम्झदै पनि वास्ता नगरेकोमा पश्चाताप हुन्छ – यात्रामा निस्कदा कम्तीमा पनि अर्को एक जोर कपडा चाँहि राख्नु पर्छ हैं ! तर म यसपाली पनि पानीले भिजेको बिरालोको चालमै आफ्नो यात्रामा निस्कँे । खोला तरिसकेपछि देखेँ, तीन थान युवतीहरु बगरमा मतिर नै हेरेर खित्का छाडिरहेका थिए । सायद उनीहरुले ठाने – खुब हिरो बनेको थियो, बल्ल स्वाद खायो ! खुच्चिङ !
साउनेको जंगलको ग्राभेल बाटोमा उकालो चढ्दै गर्दा गाईघाटको पुछारबाट बग्ने त्रियुगा खोला र त्यसको बगर आँखामा झल्कियो । हिउँदमा मृत प्रायः लाग्ने यी खोलाहरु बर्षामा उर्लिएर आउँदा रहिछन् । यी साना खोलाहरुको फराकिला बगर हेरेर पनि मैले सहजै वर्षामा यिनीहरुको वहावको आँकलन गरेको छु । गाईघाटबाट पूर्वतिर बसाहामा पुग्दा त्यहाँका प्रायः घरहरुको स्वरुप देख्दा मलाई आश्चर्य लागेको थियो । ती प्रायः घरका भुँइतला पूरै खाली देखिन्थेँ । अर्थात् भुइँतलाको चारकिल्लामा ढुंगामाटोको गार्हो वा काठले बारिएको पाइएन । बरु काठका पिल्लर ठडाइएर उपल्लो तलामा मात्र मानिसहरु बस्ने गर्दारैछन् । हाम्रो पहाडतिर त मैले यस्ता प्रकृतिका घरहरु भेटेकै थिइँन । पछि थाहा पाएँ – वर्षाको समयमा तल्लो क्षेत्र पूरै डुवानमा पर्ने भएपछि मानिसहरुले यस्तो उपाय अबलम्बन गरेका रहिछन् । 
सामान्य रुपमा बग्न दिइएका नदिहरुका छेउछाउमा बस्ने तराइबासीहरुले त डुबानको यस्तो पिडा खेप्नुपर्दो रहिछ भने छिमेकी राष्ट्रसँगको विशेष सम्झौता मार्फत बाँधिएका बाँधहरुको छेउछाउमा बस्ने तराइबासीहरुको पिडा झन कस्तो होला ? मैले यहाँ आएपछि सुनेको थिएँ – बिधुत र सिचाँइबाट सर्बाधिक फाइदा लिन पाइने दुहाइदिदै बाँधिएका बाँधहरुबाट नेपालीहरु झन बढि पिडीत छन् । हिउँदमा हाम्रा किसानहरुले सिंचाइ गर्ने पानी पाउँदैनन्, बर्षामा आँगन आँगनमा पौडी पोखरी पाउँछन । मैले के पनि सुनेको छु भने देशका बारेमा केही पनि मतलब नराख्ने त्यो जो सुकै नेपाली होस् ऊ ती पानीका ठूला ठूला बाँधहरु बाँधिएका ठाउँमा पुग्यो भने देशलाई अत्यन्तै माया गर्ने नेपाली भएर फर्कन्छ रे । उसका रक्त नलीहरु अझ अरु सक्रिय हुन थाल्छन् रे । र, शरीरभित्र तातो रगत उम्लीरहेको अनुभूत गर्छ अरे !
बरुवाको भेलमा हेलिएको म डेढ घण्टापछि रानीबास पुगेँ । पाइन्ट खासै चिसो थिएन तर जुता भने अझैपनि चिसा न थिए । डाँडोमा पुग्दा बडो आनन्दको अनुभूति भयो । गाईघाटको ३८ डिग्रीको उखरमौलो गर्मीमा उसिनिएको मैले रानीवासको चिसो हावामा सास फेर्न पाउनुलाई स्वर्गको सुखसँग दाँजे । यसलाई उदयपुरकोे वैशिष्टयता मान्नुपर्ला कि एक घण्टाको यात्रा अवधीमा मानिसहरु खाडीको गर्मीदेखि युरोपको जस्तो चिसो हावापानीको महशुस गर्न सक्दछन । 
साँझ खाना खाने बेलामा होटलमा बसेकाहरु कुरा गर्दै थिए – त्यहाँ तल (गाईघाट) मा भन्दा त यता पहाडतिरको सबै कुरा ठिक । पानी उस्तै मीठो । हावा उस्तै शितल । मच्छर पनि नलाग्ने । घर गोठ पानीले डुबाउँला भन्ने पनि भएन । सबै कुरा यतैको ठिक । कसैले यो कुराको प्रतिवाद गरेन । मलाई लाग्यो त्यही भएर त मधेसी नेताहरुमा काठमान्डुमा थातथलो जोर्ने मोह पलाएको होला !

2 thoughts on “झण्डै बगाएन बरूवाले …

  1. Point to be noted! I will consider your suggestions with due respect in coming episodes.. To be honest you are the only reader of my writings who reads it deeply and comes with some basic ideas to make it a perfect piece of writing. Salute for your creativity and love to me! Love you friend.

  2. Writing is more informative and simple. Our Geo-diversity is really fascination starts from 60m to 8848m which almost comprises weathers, biodiversity of all over. I will like it even more if it could have been more descriptive and representative(i mean portraying local characters and their voices). Nevertheless I really enjoyed to know the about the new locale and phenomena.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s