![]() |
गार्इघाटको एक दृश्य |
पूर्वतिर नेपाली भाषाका गीतहरु खुबै बजाइँदा रहिछन् । यो संयोगमात्र हो या वास्तविकता त्यो त मैले अझै भेउ पाएको छैन । तरपनि ४७७ कि.मी. को यात्रा अवधीभर मैले बसमा एउटा मात्र हिन्दी गीत सुनेँ– ईश्क सुफियाना ….! अरु सबै गीतहरु नेपाली । त्यसमा पनि चालकले यशकुमारका गीतहरू धेरै पटक दोहोर्याएर बजाए । कर्णप्रिय नेपाली गीतहरू बज्न पनि छाडेनन् । र, मैले सुन्न पनि छाडिनँ । अविश्रान्त ती गीतहरू घन्कीनै रहे ।
यशकुमारका गीतहरू बजाउन छाडेर बिचमा चालकले ईश्क सुफियाना घन्काए । गीत आधाउधी नपुग्दै बस रोकियो । गीत पनि रोकियो । यसपल्ट समय हेरिनँ मैले । ख्वै कति बजेको थियो ? तर बस ढल्केमा आएर रोकिएको थाहा भयो । यात्रुहरु फेरि कुना लाग्न थाले । यसपल्ट म अलि होशियार भएँ । सायद अगुल्टोले हिर्काएको बिरालो बिजुली चम्कदा तर्सन्छ यसकारण भनिएको हो ! बस रोकिएको ठाउँमा एउटा खबटाले छाएको घर र त्योसँग जोडिएको बाँसले बारेको र पालको छाना लगाइएको चिया पसल थियो । र, एउटी अधवैशें महिला यात्रुहरुलाई दश रुपैया दरको चिया पिलाउनमा ब्यस्त थिइँन । यात्रुहरू उनीसँग जिस्किदै चियाको आनन्द उठाइरहेका थिए । उनले पनि कुनै कसर नराखी मस्किरहीन । मैले चिया अर्डर गरिनँ । सायद त्यही भएर होला अधवैशें साहुनी भित्रैबाट चिच्याइन – “भाई चिया नपिउने ? ‘दूध’ राखेको चिया हो भाई । पिउनुस ।” मैले केही बोलिन । कारण म हाइवेका चिया खाजा ब्यापारीहरूसँग कहिल्यै सकारात्मक छैन । उनीहरूले यात्रुहरूमाथि आर्थिक ज्यादती गरेको यथार्थले बिझाइरहन्छ मलाई । त्यसैले ती अधवैशें साहुनीले गरेको आग्रहलाई नसुने झैं गरे मैले ! उनको आवाज दोश्रोपटक मेरो कानैमा ठोक्कियो – “पिउनुस के पिउनुस भाई । खाँट्टी ‘दूध’ को चिया हो के !” मैले यसपल्ट चाहिँ नबोली धरै पाइँन, भनिदिएँ –“हैन दिदी म नपिउने !” मैले यसो भन्दा बहुसंख्यक यात्रुहरूले मलाई चिहाए । अलिकति लज्जा अनुभव भो । एकछिन पछि बस त्यहाँबाट पनि अगाडि बढ्यो । बसमा उक्लने बेलामा एकजना यात्रुले मेरो कानैमा आएर फुस्फुसायो – “कत्ति न आफ्नै ‘दूध’ राख्या झैं गरेर भाईलाई मरिहत्ते गरी हैं साहुनीले !” “अन्त तपाइँले चाँहि आईमाईको ‘दूध’ राखेको चिया पिउनुहुन्छ र ?” ओठे जवाफ फकाईदिएँ मैले । केटो चुप !
ढल्केबाट हिडेपछि मलाई निन्द्रा परेन । मेरो राईसाथी पनि निदाएनन । र, हामी दुईबीच खास कुराकानी पनि भएन । झ्यालबाहिरको दृश्य धीत मरुन्जेल देख्न पाइँन मैले । तर हेडलाइटको प्रकाशमा सडकका छेउछाउमा देखिएका स–साना झाडी र बनका दृश्य चाँहि रमणीय लाग्यो, मलाई ।
आखिरमा जे नहोस भनेर चिताएको थिएँ, त्यस्तै भयो । बसले त एकाबिहानै पो गाईघाटमा ल्याइपुर्यायो ! बिहानको साढे चारबजे कतातिर लाग्ने ? म विलखबन्दमा परिरहेको थिएँ । पहेंलो टिसर्टवाली र उसको साथी एकपटक पनि हामीतिर नहेरी बसबाट ओर्ले । उनीहरू जस्तै अरु यात्रुपनि ओर्लन थाले । तर मेरा राई साथी भने चुपचाप सिटमै ढल्किरहेथे । मैले सोधें – “मनबहादुर सर, हजुर नझर्ने ?” “लु ! के भन्नुभएको हजुरले ? अब हजुर पहिलोपटक आउनुभएको ठाउँमा साथीलाई उसै छाडेर म झर्ने ?” मप्रति उनले देखाएको सदाशयताले म पानीपानी भएँ । वास्तवमा उनीजस्ता सहयोगी साथी विरलै भेटिन्छन् यात्रामा । “ए, उसोभए हामी उज्याले भैन्जेल यहिँ बसिराख्ने ?” मेरो प्रश्नमा उनले जवाफ फर्काए – “अलि माथिसम्म जान्छ यो बस त्यतै झरौंला सर । हेर्नुस सर, यहाँ त बजारमात्र छ, सरकारी र अरु अफिसजति सबै माथि बोक्से छन् । हजुरको रेडक्रस अफिस पनि त्यही छ ! हजुरको सामान पनि रहिछ, ट्याक्सी कि ठेलामा हालेर उकाल्नुपर्छ माथि । हिडेर त २० मिनेट लाग्छ ! फेरि सामान लगेर जाँदा गार्हो पनि त हुन्छ !”
बसबाट झरेपछि उनी चियाको बन्दोबस्त मिलाउन हिडे । मैले चाँहि दुवैको सामान रुँघेर बसेँ । एकछिन पछि उनले चिया ल्याएर आए । चिया पिइसकेपछि, उनी ट्याक्सी खोज्न हिडे । ट्याक्सी नभेटेपछि त्यसै फर्केर आए । म चाँहि पूरा बेचैन भैरहेथेँ । मनमन लाग्यो – हाम्रो बेनीमा त ट्याक्सी फालाफाल छन् नी यो कस्तो ठाउँ यार चाहिएको बेलामा एउटा ट्याक्सी पनि नपाइने !
अन्ततः एउटा ठेलालाई डेढसय दाम दिनेभएपछि सामान पुर्याइदिने भयो । छुट्टिने बेलामा हामीले एकअर्काको मोबाइल नम्बर लियौं । म उकालो लागेँ । उनी चाँहि आफ्नो गाउँ जाने बसको खोजीमा लागे । अँ साँच्ची, गाईघाट बस्न थालेको तीनदिनपछि थाहा लाग्यो – यहाँ त ट्याक्सी नै नपाइने रहिछ । यतातिर जिपलाई पो ट्याक्सी भन्दा रैछन् मान्छेहरू !