सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

कार्यक्रममा उपस्थित सहभागागीहरू

रत्नेचौर, १६ श्रावण
जेहेन्दार तर आर्थिक विपन्नताले उच्च शिक्षा संकटमा पर्न लागेको विदुर किसानको उच्च शिक्षा अध्ययनको भविष्यलाई सुनिश्चित गर्न यस ब्लग मार्फत थालिएको सहयोग अभियानले सफलता प्राप्त गरेपछि यो अभियानलाई निरन्तर चल्ने अभियानका रुपमा विकास गरिएको छ । जेहेन्दार विद्यार्थी सहयोग अभियान नामकरण गरिएको यस अभियानले आफ्नो कार्यक्रम प्रत्येक वर्ष प्रवेशिका परिक्षाको परिणाम घोषणा भए पछि भानु मा.वि. रत्नेचौरमा गर्नेछ ।
श्रावण १६ गते अभियानको पहिलो कार्यक्रम भानु मा.वि.रत्नेचौरको प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व ब्लगका सल्लाहकार टेकबहादुर रावलले गर्नुभएको थियो । कार्यक्रममा सहयोग हस्तान्तरणका साथै कविता गोष्ठी समेत सञ्चालन गरिएको थियो । कविता गोष्ठीमा सहभागि हुँदै युवा कविहरू रामप्रसाद सुवेदी, दिल श्रीष, राजकुमार थापा, राम अविरल र सरोज संगम लगायतले आफ्नो मन्तब्य सहित कविता वाचन गर्नुभएको थियो ।

विदुर किसानलाई रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि राजु के.सी

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तब्य व्यक्त गर्दै माउण्ट एभरेष्ट आवासीय उच्च मा.वि.का प्राचार्य राजु के.सी.ले विदुर किसान र विकाश थापाको दश जोड दुईको सम्पूर्ण शुल्क निःशुल्क गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले यस अभियानले सिफारिश गरेमा प्रतिवर्ष दुई जना आर्थिक विपन्नताले ग्रसित जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढ्न पाउने व्यवस्था समेत गर्ने बताउनु भयो । विशिष्ट अथिति शर्माले युवाहरूको राम्रो कामलाई गाउँले सबैले प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

विकास थापा मगरलाई रकम हस्तान्तरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर रावल

कार्यक्रममा म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुबलाल शर्माको विशेष आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर रावल, प्रधानाध्यापक टेकबहादुर थापा र समाजसेवी टेकबहादुर भण्डारीको आतिथ्यता रहेको थियो ।
यस बर्ष यस अभियानमा कुल ४६,६३४।– (ब्याजसहित) जम्मा हुन गएको छ । जस मध्ये विदुर किसान र विकाश थापालाई जनही रु १० हजार प्रदान गरिएको छ ।
कार्यक्रमको विसर्जन गर्ने क्रममा कार्यक्रमका सभापति टेकबहादुर रावलले अभियानलाई नगद रु.३ हजार उपलब्ध गराउनु भएको थियो । उहाँले राम्रा र असल अभियानका लागि आफूले जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको जानकारी गराउँदै ब्लग र अभियानको निरन्तरताका लागि शुभकामना समेत प्रदान गर्नुभएको थियो । कार्यक्रम विसर्जन मन्तव्यमा उहाँले आफू र आफूहरु जस्ता पाका व्यक्तिहरुले युवाहरूका यस्ता सत्कर्ममा सधै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
कार्यक्रमको शुभारम्भमा रक्सी सेवन गरि आएका एक स्थानीय झपिन्द्र महतले कार्यक्रम विथोल्न खोजेता पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

2 thoughts on “सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

  1. I would like thank the sponsor who are giving opportunity for economically backward but talent student to pursue their dream of getting better education.And best of luck for Bidur and Kishan for their bright future. At last for blogger, wish to read your more blog

Leave a reply to pradipraj Subedi Cancel reply