यो चाँपको बुटो (रूख) पनि अचम्मको छ । यसका थुप्रै फाईदा रत्नेचौरबासी विशेषगरी वार्ड नं. १, बुढोचौरका बासिन्दाहरूलाई पुग्नु स्वभाविक नै हो । मलाई अझै राम्ररी याद छ – रत्नेचौरमा बाटो नआइपुग्दाको बखत यहि चाँपको बुटोको सामुन्ने भलिबल मैदान थियो, जहाँ मेरा अग्रजहरू भलिबल खेल्ने गर्थे । यसो घुम्दै त्यतैतिर गएको मौका पारी मामाहरूले आफ्नो घडि, ज्याकेट र पर्स आदिजस्ता सामाग्रीहरू रूङने जिम्मा मलाई दिएका हुन्थे । त्यसपछि मेरो जिम्मा हुन्थ्यो चौतारी नपाइसकेको त्यो रुखको जरामाथि बसेर मामाहरूको सामान हेर्ने ।
बर्षैपिच्छे दशैंको बेला त्यही रूखको हाँगामा हालिने पिङ खेल्नका लागि म यति लालयित हुन्थेँ कि राती अबेर सम्म म त्यही बुटोको वरिपरी हुन्थे । पालैपालो गरी पिङ खेल्ने र आफूभन्दा साना वा बराबरका तर केहि कमजोर साथीहरू छन भने त झन पालो मिचीमिची पिङ खेल्ने गरेको सम्झना झल्झल्ती आईरहन्छ ।
सायद २०५३ सालतिरको तिजमा हुनुपर्छ यो रुखको वरिपरी चौतारी चिन्ने काम भएको थियो । त्यसपछि त झन मान्छेहरू भेला हुने विभिन्न विषयमा छलफल गर्ने र निर्णय गर्नेदेखि लिएर दुःख सुखका कुरा गर्ने साझा थलोको रुपमा यो चौतारीको विकास हुन पुग्यो । तर विशेषगरी दुई वा केही व्यक्तिहरू जम्मा भई तेस्रो पक्षको दोहोलो काढ्ने काम हुन थालेपछि भने चौतारीको दुर्नाम हुन थाल्यो ।
अहिले त यो रुखको महत्व यति बढेछ कि बागलुङतिर भर्खर सञ्चालनमा आएका उच्च मा.वि.हरूको विज्ञापन गर्ने थलोको रुपमा विकास भैसकेछ । म्याग्दी जिल्लाका ४१ गा.वि.स.हरू मध्ये आफ्नो गा.वि.स.अति नै सुगम र सुविधायुक्त भएको हाँक दिने हाम्रा गाउँबासीहरू अरू त अरू भानु मा.वि. लाई मा.वि. स्थाई गराई उच्च मा.वि समेत बनाउन पहल गर्दैनन् । अझ हाँसो उठ्दो विषय त नेकपा एमाले म्याग्दीको कमाण्ड गर्नुभएका तथा निवर्तमान जि.वि.स उपसभापति भूपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस म्याग्दीका उपसभापति नेत्रबहादुर महत एवं राप्रपाका जिल्ला अध्यक्ष तथा राजाको प्रत्यक्ष शासनकालका मनोनित उपसभापति एकेन्द्रबहादुर रावल समेत यसै गा.वि.स.का स्थाई बासिन्दाहरू हुनुहुन्छ ।
You must be logged in to post a comment.