इभरग्रीन (बि) सँग रत्नेचौर युवा क्लब स्तब्ध

खेल शुरू हुनु पूर्व मैदानभित्र RYC रत्नेचौरका खेलाडीहरू

लामोसमयपछि खेल मैदानमा उत्रेका रत्नेचौर युवा क्लब, रत्नेचौरका खेलाडीहरूको उत्कृष्ट खेल प्रदर्शन हुँदा हुँदै पनि बेनीमा जारी बौद्दकप – २०६८ मा इभरग्रीन युथ क्लब बेनीको बि समूहसँग १ का बिरूद्द ४ गोलले पराजित हुन पुगेको छ ।

आवश्यक तयारी बिना नै मैदानमा उत्रेका चौरेली खेलाडीहरूको प्रदर्शन हेर्न लायक थियो । खेलको १० औं मिनेट नबित्दै चौरेली खेलाडीहरूको डि-बक्समा बल ह्यान्ड भएपछि इभरग्रीनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा १ गोलले अग्रता लिएको इभरग्रीन युथ क्लबको अग्रतालार्इ खेलको ३० ‌औं मिनेटमा चौरेली स्ट्राइकर चित्र किसानले मैदानको मध्यरेखाबाट एक्लै बल अगाडि बढाउँदै विपक्षको डि-बक्समा पुर्याएर गरेको कडा प्रहारलार्इ इभरग्रीनका गोलरक्षकले राम्रोसँग समात्न नसक्दा रत्नेचौर युवा क्लबका डिफेन्डर प्रेम बोगटीले त्यसलार्इ गोलमा परिणत गरेर खेल १-१ को बराबरीमा ल्याउन सफल भएका थिए ।

दोश्रो हाफमा रत्नेचौर युवा क्लबका खेलाडीहरूमा गतिलो तालमेल नमिल्दा इभरग्रीनले खेलमा दोश्रो गोल थप्न सफल रह्यो । इभरग्रीनको दोश्रो गोलको लगत्तै खेलमा बराबरी गर्ने मौका रत्नेचौरका खेलाडीहरूले गुमाउँदा खेलमा इभरग्रीन एकतर्फि हावी भयो । र, खेलमा इभरग्रीनले ४-१ को नतिजा निकाल्दै आफ्नो पक्षमा नतिजा पार्न सफल रह्यो ।

Leave a comment