मकैमा घोगा लाग्दैछ, धान रोप्ने काम पर सर्दैछ

पूर्ब मनसुन अर्थात प्रि मनसुन निर्धारित समयमै अर्थात जेष्ठ २८ गते शुरू भएर दुई हप्तासम्म चले पनि मनसुनी वर्षामा नियमितता नभए पछि किसानहरू मर्कामा परेका छन् । केहि वर्ष अगाडिसम्म रत्नेचौर तथा यसका आसपासका छिमेकी गाउँहरू धाईरिङ, मालिका, कुडुँले र गौश्वारामा आषाढ अन्त्यसम्ममा करिब ७० प्रतिशत खेतहरूमा धान रोपिसक्ने गरिन्थ्यो । तर दुई चार वर्ष यतादेखि ठिक–ठिक समयमा खेतीबालिका कामहरू गर्न नसकिएको अनुभव सुनाउनुहुन्छ रत्नेचौर–१ का गोविन्द बोगटी ।

यसपाला मकैमा केहि ढिलो गरी घोगा लागेको र अझै कतिपय खेतहरूमा घोगा लाग्न भर्खर शुरू गरेकाले समेत धान रोप्ने काममा केहि ढिला भएको अनुभव छ, लामगराका युवा कृषक महेन्द्र बोगटीको । रत्नेचौर वार्ड नं. २ स्थित लामाचौर (लाचौर) का मकै नलगाइएका खेतहरूमा भने धान रोप्ने काम फटाफट भएको छ । त्यसैगरी खोलाका छेउछाउका खेतहरूमा पनि धान रोप्ने काम पूरै सकिएको छ । तर रत्नेचौरको मुख्य फाँट मानिने गाउँको बीचको फाँटमा भने धान रोप्ने काम १० प्रतिशत पनि सकिएको छैन् ।

सुन्तला फूल खेल्दै आयो अब त बरिख लाईगयो

बारीमा कोदो रोप्ने काम भने लगभग अन्तिम चरणमा पुगेको छ । तथापि कोदोको बिऊ आवश्यकता अनुरुप उत्पादन हुन नसकेकाले कोदो रोप्ने काम भने केहि प्रभावित भएको छ । कतिपय कृषकहरूले बिऊको अभावमा बारीमा मास तथा स्यालटुङको गेडा छर्न बाध्य भएका छन् ।

Leave a comment