शितलको प्रयासमा भानु मा.वि.ले पायो १० थान कम्प्यूटर

नीराजन शिरीष

 

सामूहिक तस्बीर साथमा शितल शर्मा

 

हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, रत्नेचौर १ घर भै, हालः ठमेल काठमाण्डौं स्थित नेपाल ड्रिम ट्राभल एजेन्सीकि बजार निर्देशक तथा त्यसै संस्थाकि एक अंशियार समेत रहेकी शितल शर्माको प्रयासमा श्री भानु माध्यमिक बिधालय रत्नेचौरमा १० थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । गत मंसिर १९ गते कम्प्यूटर हस्तान्तरण कार्यक्रमकको आयोजना गरी उक्त कम्प्यूटरहरू हस्तान्तरण गरिएको हो थियो ।

नेपाली क्षेत्रबाट प्रथमपटक सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज ह्वाङ नुवोले उक्त सहयोग गरेको समेत शर्माले हामीलार्इ जानकारी गराएकी छिन् । शर्माका अनुसार बेइजिङमा रहेको एक प्रतिष्ठित ब्यवासायि समूह झोङ्गकुन इन्भेस्टमेन्ट ग्रुपका कार्यकारी अध्यक्ष नुवोले एसिएर ब्रान्डका कम्प्यूटर ताइवानबाट खरिद गरेका हुन । रत्नेचौर गा.वि.स. मै सम्भवतः यति ठूलो परिणामको सहयोग जुटेको यो पहिलो अवसर हुनुपर्छ । उनिसँगको मेरो संस्मरण पढ्नलार्इ http://www.thapanirajan.blogspot.com हेर्नुहोला ।

कस्ता छन् कम्प्यूटर ? : बिधार्थीहरू चियाउँदै ।

कोही छ सहयोगी मान्छे ?

मैले तस्बिरमा देखिएका विदुर भाईका दुई भाइहरूको अध्ययन कार्यलाई नजिकैबाट नियाल्दै आइरहेको छु । बेलाबेलामा आफूले सक्दो हैसियतमा उनीहरूलाई अंग्रेजी ब्याकरण तथा अन्य सन्दर्भ सामाग्रीहरूको पुस्तक दिएर प्रेरित गर्ने प्रयास गर्दै आएको छु । र, मलाई राम्ररी थाहा छ – गाउँमा आफ्नै पहलकदमीमा स्थापना गरेको नीजि स्कुलमा अध्यापनरत रहँदा भानु मा.वि.मा अध्ययनरत भाईबैनीहरूलाई ट्युशन पढाउने काम पनि गरेको थिएँ । र, यिनका दुई भाइहरूलाई निःशुल्क अध्ययन गर्ने अवसर पनि दिएको थिएँ । यी निकै लगनशिल भानु मा.वि.का छात्र विदुरले आफ्ना दाजु कृष्ण किसान अंग्रेजीमा अनुत्तिर्ण भएर पुरकमा परेका बेला भने ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।

के गर्नु काम त गर्नै पर्योः प्रवेशिकामा भानु मा.वि.बाट ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर किसान

जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनियर कृष्णबहादुर बोगटी सम्झनुहुन्छ –“बिदुरको लगनशिलताबाट म निकै नै प्रभावित भएको छु । मलाई राम्ररी सम्झना छ, उनी कक्षा ८ को अन्तिम परिक्षाको तयारीमा लागेका बेला म कहाँ इट्टा झिक्ने काम गरेका थिए । परिक्षा दिएर राती अबेरसम्म इट्टा झिक्ने काम गरी साँझ अबेरमात्र उनी घर जान्थे । कतिखेर परिक्षाको तैयारी गर्थे होला कुन्नी ? फेरि, भोलीपल्ट परिक्षामा सामेल भएर इट्टा झिक्न हाजिर भैहाल्थे । अहिले प्रवेशिका परिक्षामा उनले प्राप्त गरेको विशिष्ट श्रेणीका कारण पनि म उनीबाट निकै प्रभावित छु । र, उनको उच्च शिक्षाका लागि आफूले सक्दो सहयोग पनि गर्ने प्रयास गर्नेछु ।” त्यसैगरी जिल्ला विकास समिति म्याग्दीका निवर्तमान उपसभापति भूपेन्द्रबहादुर थापाले समेत उनलाई जागिर खाँदै अध्ययन गर्ने वातावरण मिलाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।

परिक्षाफल प्रकाशित हुँदा आफू हलो जोत्दै गरेको बताउने उनले आर्थिक अभावका कारण आफ्नो उच्च शिक्षाको पढाई प्रभावित हुन सक्ला भनेर निकै नै तनावमा रहेको बताएँ । उनले अनिवार्य अंग्रेजीमा ५२, नेपालीमा ६१, सामाजिक शास्त्रमा ६०, अनिवार्य गणितमा ९०, ऐच्छिक गणितमा ८२, विज्ञानमा ८८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ८० र शिक्षाशास्त्रमा ८४ गरी कुल ५९७ अंक हासिल गरेका छन् । प्रवेशिका परिक्षको तयारीमा आवश्यक ट्युशन तथा कोचिंगको अभावमा ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर भाईले यदि शहर बजारमा जस्तो पढ्ने वातावरण पाउँथे भने जिल्ला टप नगर्ने अवस्था नै रहन्थेन होला ।

आज २० गते बिहान म घरबाट फर्कदै गर्दा उनी डोको बोकेर कामतिर जादै थिए । आफूसँग पढेका तर कम अंक हासिल गरेका धनीमानीका छोराछोरी पोखरा, काठमाडौंतिर लागेको थाहा पाएका उनले आफू भने बाग्लुङ वा बेनी कहाँ पढ्ने अन्यौलमा छन् ! कृपया यदि तपाइँहरू मध्ये कोही उनको उच्च शिक्षाको अध्ययनको लागि केहि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर ९८४७६२४०४४, इमेल tpnir21@yahoo.com वा यसैको पोष्टको कमेन्टमा आफ्नो प्रतिबद्धताका लागि सम्पर्क गर्नुहोला । मलाई लाग्दछ, यिनीजस्ता सहयोगको खाँचो रहेकाहरूलाई सहयोग गर्नु सबभन्दा ठूलो धर्म हो ।