अञ्चलमा अति नै प्रतिष्ठित गैर्हसरकारी संस्था धौलागिरि सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा कृषि प्राविधिकका रुपमा १३ वर्षसम्म जागिर गरेपछि उहाँलाई थाहा लाग्यो – जागिर खाएर प्रगति लगभग असम्भव छ । जागिर जीविकोपार्जनका लागि भन्दा पनि बढी निर्वाहमुखी मात्र भयो भन्ने उहाँले ठम्माउनु भयो अनि उहाँको दिमागमा एउटा योजना फुर्यो – राम्ररी उपयोग हुन नपाएको आफ्नै बारीमा व्यावसायिक तरकारी खेती गर्ने ! उहाँ अर्थात रत्नेचौर –४ निवासी ४१ वर्षिय नीरबहादुर थापा ।
घरनजिकैको धारामा खेर गईरहेको पानीलाई संकलन गर्नका लागि २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरिसकेपछि उहाँ आफ्नो व्यवसायिक सफलतामा अझ अरू ढुक्क हुन सकेको बताउनुहुन्छ । अहिले उहाँको बारीमा लगभग १२ क्विन्टल उत्पादन दिन सक्ने करेलाका बोटहरू छन् । तर लामोसमयदेखि गाउँमा पानी नपर्नाले उहाँ अलिकति चिन्तित पनि हुनुहुन्छ । तर जब उहाँका आँखाहरू आफ्नो २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरीमा पुग्छन् अनि उहाँ केही आशावादी बन्नुहुन्छ । र, मुस्काउँदै निश्चिन्त हुनुहुन्छ – कि सिंचाईको समस्या भने पर्दैन् । पर्न दिदिँन् । खाडीको टाउको दुख्ने घाममा गैची बेल्ता गर्ने आफ्नै गाउँले दाजुभाईप्रति उहाँलाई ठूलो दया जागेको महशुस हुने बताउँदै उहाँ भन्नुहुन्छ, “खाडीमा बगाउने पसिना आफ्नै गाउँ ठाउँमा बगाउने हो भन्ने शिर उठाएर जिउन सकिन्छ । भर्खर मात्र व्यवसायिक तरकारी खेतिमा कटिबद्ध भएर लागि पर्नु भएका थापा एकदिन जिल्लाकै नमुना तरकारी उत्पादक हुन सक्ने विश्वास ब्यक्त गर्नुहुन्छ, उहाँकै छिमेकी तथा चीरपरिचित समाजसेवी टेकबहादुर रावल । उहाँको व्यवसायिक तरकारी खेतीको सफलताका लागि हाम्रो पनि शुभकामना !
पसिना बगाए यहि फल्छ मोती
3