कोही छ सहयोगी मान्छे ?

मैले तस्बिरमा देखिएका विदुर भाईका दुई भाइहरूको अध्ययन कार्यलाई नजिकैबाट नियाल्दै आइरहेको छु । बेलाबेलामा आफूले सक्दो हैसियतमा उनीहरूलाई अंग्रेजी ब्याकरण तथा अन्य सन्दर्भ सामाग्रीहरूको पुस्तक दिएर प्रेरित गर्ने प्रयास गर्दै आएको छु । र, मलाई राम्ररी थाहा छ – गाउँमा आफ्नै पहलकदमीमा स्थापना गरेको नीजि स्कुलमा अध्यापनरत रहँदा भानु मा.वि.मा अध्ययनरत भाईबैनीहरूलाई ट्युशन पढाउने काम पनि गरेको थिएँ । र, यिनका दुई भाइहरूलाई निःशुल्क अध्ययन गर्ने अवसर पनि दिएको थिएँ । यी निकै लगनशिल भानु मा.वि.का छात्र विदुरले आफ्ना दाजु कृष्ण किसान अंग्रेजीमा अनुत्तिर्ण भएर पुरकमा परेका बेला भने ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।

के गर्नु काम त गर्नै पर्योः प्रवेशिकामा भानु मा.वि.बाट ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर किसान

जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनियर कृष्णबहादुर बोगटी सम्झनुहुन्छ –“बिदुरको लगनशिलताबाट म निकै नै प्रभावित भएको छु । मलाई राम्ररी सम्झना छ, उनी कक्षा ८ को अन्तिम परिक्षाको तयारीमा लागेका बेला म कहाँ इट्टा झिक्ने काम गरेका थिए । परिक्षा दिएर राती अबेरसम्म इट्टा झिक्ने काम गरी साँझ अबेरमात्र उनी घर जान्थे । कतिखेर परिक्षाको तैयारी गर्थे होला कुन्नी ? फेरि, भोलीपल्ट परिक्षामा सामेल भएर इट्टा झिक्न हाजिर भैहाल्थे । अहिले प्रवेशिका परिक्षामा उनले प्राप्त गरेको विशिष्ट श्रेणीका कारण पनि म उनीबाट निकै प्रभावित छु । र, उनको उच्च शिक्षाका लागि आफूले सक्दो सहयोग पनि गर्ने प्रयास गर्नेछु ।” त्यसैगरी जिल्ला विकास समिति म्याग्दीका निवर्तमान उपसभापति भूपेन्द्रबहादुर थापाले समेत उनलाई जागिर खाँदै अध्ययन गर्ने वातावरण मिलाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।

परिक्षाफल प्रकाशित हुँदा आफू हलो जोत्दै गरेको बताउने उनले आर्थिक अभावका कारण आफ्नो उच्च शिक्षाको पढाई प्रभावित हुन सक्ला भनेर निकै नै तनावमा रहेको बताएँ । उनले अनिवार्य अंग्रेजीमा ५२, नेपालीमा ६१, सामाजिक शास्त्रमा ६०, अनिवार्य गणितमा ९०, ऐच्छिक गणितमा ८२, विज्ञानमा ८८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ८० र शिक्षाशास्त्रमा ८४ गरी कुल ५९७ अंक हासिल गरेका छन् । प्रवेशिका परिक्षको तयारीमा आवश्यक ट्युशन तथा कोचिंगको अभावमा ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर भाईले यदि शहर बजारमा जस्तो पढ्ने वातावरण पाउँथे भने जिल्ला टप नगर्ने अवस्था नै रहन्थेन होला ।

आज २० गते बिहान म घरबाट फर्कदै गर्दा उनी डोको बोकेर कामतिर जादै थिए । आफूसँग पढेका तर कम अंक हासिल गरेका धनीमानीका छोराछोरी पोखरा, काठमाडौंतिर लागेको थाहा पाएका उनले आफू भने बाग्लुङ वा बेनी कहाँ पढ्ने अन्यौलमा छन् ! कृपया यदि तपाइँहरू मध्ये कोही उनको उच्च शिक्षाको अध्ययनको लागि केहि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर ९८४७६२४०४४, इमेल tpnir21@yahoo.com वा यसैको पोष्टको कमेन्टमा आफ्नो प्रतिबद्धताका लागि सम्पर्क गर्नुहोला । मलाई लाग्दछ, यिनीजस्ता सहयोगको खाँचो रहेकाहरूलाई सहयोग गर्नु सबभन्दा ठूलो धर्म हो ।

खेलाडी जन्माउन नसकेको बुढो चौर

एकताका विश्व फुटबल जगतमा डेभिड बेकह्याम छाईरहदा हामी थुप्रै चौरेली ठीटाहरुको एउटै मात्र सपना बेकह्यामले जस्तै फ्रि–किक हिर्काउनु हुन्थ्यो । अनि हामी मध्ये थुप्रैले रोनाल्डो र काकाको नक्कल गर्न पनि पछि पर्दैनथ्यौं । अझ हाँसो उठ्दो कुरो त हामी मध्ये धेरैलाई ब्याक्की बस्न अल्छी लाग्दो हुन्थ्यो । बाफरे, हामी त सबका सब स्ट्राइकर अर्थात बेकह्याम, रोनाल्डो, हेनरी अनि जिदान ! हुँदा हुँदा भर्खर बलसँग अभ्यस्त भएका एकाध गोलकिपरहरु समेत ओलिभर कान हुन हुरुक्कै ! अनि साँच्ची मैले त लेख्नै बिर्सेको, डि–बक्सभित्र विपक्षीले फल गरे पछि प्राप्त पेनाल्टी हान्न गोलकिपर बाहेकका हामी सबै तत्पर हुन्थ्यौं । हामी सबैका आ–आफ्नै नियम हुन्थे । एक जना “हेन्ड, हेन्ड, बल रोक” भन्दै चिच्याइरहेको हुन्थ्यो भने अर्को चाहिँ “कहाँ हुन्छ हेन्ड? कुममा पो लागेको हो” भन्दै बल अगाडि बढाइ रहेको हुन्थ्यो । अहिले सम्झदा पनि हाँसोको फोहोरा छुट्न थाल्दछ । अनि गम्भिरतापूर्वक सोच्न मन लाग्छ, यति ठूलो क्रेज हुँदा हुँदै पनि आखिर हाम्रा गाउँबाट किन एकजना पनि व्यवसायिक खेलाडी बन्न सकेनौं ?
खेलकुदका लागि हामी किशोरदेखि भारतीय सेनाका निवृत्त भएका भू.पु. सैनिकहरु पनि लागेकै थिए । उनीहरुले बनाईदिएको बास्केटबल कोर्टमा तिज तथा दशैंको अबसरमा कहिलेकाही खेलहरु आयोजना नभएका पनि होईनन् । अझ लेख्नै पर्ने त, हामी मध्ये कतिपयहरु बास्केटबलका राम्रा र सम्भावित खेलाडीका रुपमा परिचित हुन थालेका थियौं । आखिर प्रख्यात बास्केटबल प्रतियोगिता एनबिएमा क्लबहरूले प्रदशर्न गर्ने खेल र उनीहरूको टिमवर्कको कुराका बारेमा आफूले जाने नजानेका कुराहरु बख्यान लगाउन बाहेक हामीले केहि प्रगति पनि गर्न सकेनौ ! अब हाम्रो  मुर्खाइका अघि विचारा ती निवृत्त बृद्ध सैनिकहरुको के जोड लाग्थ्यो र ! आफ्नो कमाईको केही अंश बास्केटबल खेलको विकास गर्न खोजेका थिए तर त्यो अनुत्पादक लगानी बाहेक केहि हुन सकेन । आखिर उनीहरुको लगानी जे जस्तो भए पनि त्यो लगानीलाई एकत्रित गरी आफूले सिकेको बास्केटबल खेल्ने सिप युवाहरुलाई सिकाएर उत्कृष्ट बास्केटबल खेलाडी बनाउन लागि परेका हर्कबहादुर रावल, टेकबहादुर रावल, भेषबहादुर रावल तथा लालबहादुर खत्री जस्ता होनहार भू.पु. हरुको सपना आजपर्यन्त पूरा हुन सकेको छैन् । बरु ती श्रद्धेय ब्यक्तित्वहरुको नेतृत्वमा बनाइएको बास्केटबल कोर्ट सुनसान मसानघाट जस्तो लम्पसार परिरहेको छ ।

सुनसान बास्केटबल कोर्ट

भलिबलमा भने हाम्रा एकदुई जना अग्रजहरुले जिल्लास्तरमा समेत नाम कमाएको कुरा अहिले पनि मेरो सम्झनामा ताजै छ । दुर्गा श्रेष्ठ र विष्णु थापाहरु राम्रा स्पाइकरका रुपमा परिचित नाम थिए । तर यति हुँदा हुँदै पनि भलिबलका क्षेत्रमा पनि हाम्रो गाउँले गर्व गर्ने लायकको कुनै खेलाडी पाउन सकेन । विभिन्न समयमा गाउँस्तरीय भलिबल प्रतियोगितहरु पनि आयोजना गरिएका थिए । मलाई राम्ररी याद छ, ती कुनै पनि प्रतियोगिता कहिल्यै पनि विवादमुक्त रहन सकेनन् । गाउँकै भद्र भलादमीहरुले विवाद मिलाउनुको साटो, आफ्नो खुर्पेटोबाट आँसी झिकेर नेट काट्न कस्सिएको घटनाले अझै पनि लज्जित पारेको अनुभूति हुन्छ ।
पछिल्ला चारपाच वर्ष यतादेखि भने हामीहरु क्रिकेट खेल्ने काममा निकै नै अभ्यस्त बन्दै आयौं । विशेष गरी बागलुङ बस्ने हाम्रा सहकर्मी शिव बोगटी क्रिकेट एशोसियन अफ नेपाल, बागलुङमा अध्यक्ष बनेपछि यसको क्रेजलाई रत्नेचौरमा स्थापित गर्न खोजेका थिए, र उनको अभियानमा प्रत्यक्ष सहभागी हुन पुगे विशेष गरी इन्डियामा अध्ययन गर्न गएका बहालवाला तथा भू.पु इन्डियन आर्मीका छोराहरु अर्थात हाम्रा अग्रज तथा सहकर्मीहरु गोपाल रावल, रिक्की पुन, गणेश रावल र दलबहादुर रावल लगायतका युवाहरु । तथापि क्रिकेट अभियानले पनि त्यति प्रभाव छाड्न सकेन गाउँमा । जब जव पाकिस्तान, अष्ट्रेलिया, भारत, श्रीलंका, दक्षिण अफ्रिका तथा इंग्लाण्डबीच एकदिवसीय म्याचहरु हुन्थे गाउँमा पनि क्रिकेट क्रेज हुरुक्कै बढेर जान्थ्यो अनि जब ती देशहरुबीच एकदिवसीय म्याच हुदैँनथे तब हाम्रो क्रिकेटले पनि लोप्पा खान्थ्यो ।
यसरी विशेष कालखण्डमा विशेष खेलहरु खेलिए । अनि फेरि ती बन्द गरिए । कुनै पनि खेलमा नियमित अभ्यास नै हुन पाएन । अनि ती फेरि कहिल्यै नउठ्ने गरी लगभग बन्द भए । र, हामीले त्यतिखेर खेल्ने मैदानहरु अहिले शुन्य प्राय ः बन्दै गए । तैपनि कहिले काही गाउँ जाँदा स–साना बालकहरु क्रिकेटको ब्याट र रबरको बल समात्दै खेल मैदानमा क्रिकेट खेलिरहेको देख्छु अनि मनमा एकाएक एउटा भावना जागेर आउँछ, सबैसँग समन्वय गरेर सुस्ताएको बास्केटबल, भलिबल, फुटबल र क्रिकेटलाई एकैसाथ ब्युँताऊ र पवित्र रत्नभूमिबाट तेन्दुलकर, बे्रटली, लारा, म्याडोना, रोनाल्डो र मेस्सीहरु उत्पादन भएको हेर्न पाऔं ! मनको भित्रीकुनाबाट कतै विझाएर आउँछ, तर यो सजिलो विषय पनि त होइन !