लोकतान्त्रिक र अग्रगामी संविधान निर्माणका लागि एमालेको नीति, एमालेकै नेतृत्व भन्ने मूल नाराका साथ नेकपा एमाले म्याग्दीले सुरु गरेको आगामी संविधानसभा निर्वाचन केन्द्रीत पार्टिपरिचालन अभियान अर्न्तर्गत आइतबार म्याग्दीको रत्नेचौर गाविसमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरी अभियान सकिएको छ ।
रत्नेचौरमा सम्पन्न भेलामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं अभियान संयोजक गणेश तिमिल्सेनाले विगतको संविधानसभाको निर्वाचनमा एमाले हारेपनि एमालेको नीति जनताको बहुदलिय जनवादले जितेकाले अबको चुनावबाट एमाले पहिलो हुने बताउँदै कार्यकर्ताहरुलाई जुझारु बनेर खट्न निर्देशन दिनुभयो ।
त्यसैगरी एमाले धौलागिरि अञ्चल समन्वय कमिटी सचिव भूपेन्द्र थापाले देशमा अब नेकपा एमालेको विकल्प नभएको बताउँदै आगामी चुनावमा एमालेको पक्षमा मतदान गर्न रत्नेचौरवासीलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रम एमाले रत्नेचौर गाउँ कमिटी अध्यक्ष नरबहादुर थापाको अध्यक्षता, एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीको स्वागत र गाउँ कमिटी सचिव निरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले म्याग्दीका सल्लाहकार सचिव टेकबहादुर रावल, सचिवालय सदस्य राजकुमार थापा, जिल्ला सदस्य टेकबहादुर भण्डारी र बालकुमार रोकाले मन्तव्य राखेका थिए ।