आज आषाढ महिनाको दोश्रो अन्तिम शुक्रबारको बिहान म मेरो गाईघाटे बसाइको स्मरणको अर्को श्रृङ्खला लेख्न बसिरहेको छु । बाहिर पानी परिरहेको छ । र, यसकारण मलाई यो महिना बर्षाको महिना हो भन्ने लागेको छ । भनिन्छ, बर्षाको समयमा मानिसहरुलाई एकतमास थुप्रै मानिसहरुको अत्यार लाग्ने गर्छ । कताकता मन बहेको अनुभव हुन्छ । वर्षाको समयमा एक्लै हुँदा मानिस एकसाथ थुप्रै कुराहरुको अभाव महशुस गर्दछ । मलाई पनि त्यस्तै महशुस भएको छ । मलाई यतिखेर मेरा थुप्रै प्रियजनहरूको याद आईरहेछ । र, प्रत्येक झरीका दिनहरुमा आमासँगै अगेनाका छेउमा राखिएको चियाको केट्लीबाट पटकौंसम्म गिलासमा चिया भरिरहेको याद आईरहेछ । नढाँटी भन्नुपर्दा यसबखत म गाईघाट आउँदाको पहिलो दिन मेरो सिटपारी एउटै बसमा यात्रा गरेकी ‘पहेंलो टिसर्टवाली’ युवतीलाई पनि खुब सम्झिरहेको छु ।
अढाई महिना पहिले खाँबुबाट ओरालो झर्दा उनीसँग मेरो दोश्रो भेट भएको थियो । हामी रेडक्रसको अधिबेसन सक्काएर रिजर्भ बसमा फर्किरहेका थियौं । साउनेमा आएर बस एकछिन रोकियो । बस गुड्नै लाग्दा एकहुल मानिसहरुको भिडसँगै पहेंलो टिसर्ट लगाएको एक युवती पनि बसभित्र फुत्त छिरिन । मेरो मुटु ढक्क फुल्यो ! मैले झल्याँस्स उहि पहेंलो टिसर्टवालीलाई सम्झन पुगेँ । सरासर युवती म बसेको सिटमा आइँन । अघिसम्म दुईजना थियौं, उनी पनि आएर बसेपछि हामी तीनजना भयौं । उनी नजिकै आएपछि मैले चिनेँ । उनले खास याद गरिनन् मलाई । याद नभएपछि वास्ता हुने कुरै भएन ! उनी चुपचाप बसिन् । मलाई ग्लानी भयो, एकतर्फि म किन आकर्षित भएँ उनीप्रति ?
बस गुडेर साउनेको जंगलको उकालो चढ्दै गर्दा म अझ अरु चुपचाप रहन सकिनँ । मैले संवादको शुरुवात गरेँ – मलाई याद गर्नुभयो ? उनले टाउको हल्लाइन – हैन भनेर ! “कताकता देखे जस्तो लागेन ?” अरू जोडगर्दै मैले भनेँ । उनले निधार खुम्चाइन, भृकुटी दोबारिन र दायाँ हातको चोर औंला कन्पारोमा राखिनँ, अहँ केही गरे पनि म सम्बन्धित कुनै पनि कुरा उनलाई याद भएन । उनी आजित जस्ती देखिईन, म खिस्रिक्क परेँ । उनलाई नै सम्झाउँदै मैले भनेँ – “हजुर नयाँ बर्षको पहिलो रात काठमाठौंबाट गाईघाट बसमा यात्रा गर्दै हुनुहुन्थ्यो है ?” “हो त ! कसरी थाहा पाउनु भयो ?” छक्क पर्दै उनले भनिन्, म झन अचम्ममा परेँ – “ला केटीले त मेरो बाल मतलबै नराखेकी रै’छ !” उनलाई अझ अरु दिग्भ्रमित पार्न चाहिनँ त्यसैले सबैकुराको बेलिबिस्तार लगाएँ । उनले टाउको मात्र हल्लाइँन र बिचमा “ए, ए” भन्दै म बोल्ने क्रमलाई अझ अरु लम्बाउन मद्यत गरिन ।
हिजोपल्ट खाँबु जाँदा निकै समय लागेको थियो तर आज गाईघाट झर्दा बसको गति धेरै भएर हो वा समय बितेको मैले चाल नपाएर हो बसले निक्कै छिटो साउनेको जंगलको ओरालो झारेको महशुस भयो मलाई । जंगलको फेदी नेर आइपुगेपछि कार्यालयका लेखा अधिकृत राजेश दाई युवतीको छेऊ आए र भाडा माग्न थालेँ ! रिजर्भ बसमा यात्रा गरेकोमा युवतीले थकथक मानिनँ । केहिबेर भाडाको विषयलाई लिएर दुईबीच बार्गेनिङ चल्यो । राजेश दाईले हार खानुप¥यो । कसैलाई ‘कन्सेसन’ दिन नमानेका उनी युवतीलाई भने २५ रुपैयाँ छुट दिन तयार भए । युवतीले मलाई हेरिनन्, हेरेको भए त्यो भाडा नमाग्नलाई राजेश दाईसँग आग्रह गर्ने विचार थियो ! उनले भाडा बुझाइँन राजेश दाई खुरर्र स्वःस्थानमा गएर बसेँ । फेरि हामीबिचको संवादले निरन्तरता पायो ।
बरुवा नाघेर बसले करमगाछी टेकेपछि मेरो मन झन अरु बेचैन भयो । अन्ततः यात्रा समाप्त भएरै छाड्यो । रेडक्रसका हामी सबै बोक्से झ¥यौं । उनी र साउनेबाट यात्रा थालेका अरुहरु बजार नै झरे । बोक्से ओर्लेपछि राजेशदाईले मलाई सोधे – नाम के रै’छ केटीको ? मलिन भावमा मैले भनेँ – “थाहा भएन !” हुनपनि त्यत्रो कुरा हुँदा पनि हामीले नामथर भनेर परिचय साटासाट गरेनौं, मोबाइल नम्बर माग्ने त कुरै भएन । अलिबेर पछि मैले निधो गरेँ – पुरानो गाईघाट म जसरी पनि जान्छु ! किनकी उनले भनेकी थिइँन् – “उनको डेरा त्यतै छेउछाउमा पर्छ !”