![]() |
मुलुककै पहिलो सिमेन्ट उध्योग परिसरमा लेखक । तस्बीरः चन्दा सुब्बा |
गाईघाट बसाईका एकदमै अन्तिम दिनहरु गन्दै छु म । यस बिचमा बरुवा खोलामा धेरै पानी बग्यो तर गर्मीका केहि कठिन रातहरु सिवाय गाईघाटको नरमाईलो भन्ने कुरा मलाई केहि लागेन ! म पश्चिमको तन्नेरी, लागेको थियो – पूर्वका बाठा मान्छेहरुबीचमा मलाई धेरै असहज हुनेछ । किन्तु, त्यो मेरो भ्रामक सोचाई मात्र रहेछ, अहिले पुष्टि भएको छ । एकादुई मान्छेहरुलाई छाडेर भन्ने हो भने अधिकांश मान्छेहरु यहाँका पनि सोझा नै पाएँ मैले । दुईचारजना मान्छे त जहाँ पनि हुन्छन् नी अरुलाई ठगेर खान पल्केका ! यसलाई हाम्रो संस्कारमा उति अस्वभाविक मान्दैनौ पनि हामी ! एउटा संयोग मानुँ या के यहाँको बसाइँमा एउटा यस्तै घटनाले मलाई निश्चित बनाईदियो – नेपालभर टाठाबाठा भनिएका किर्ते काम गर्नेहरुको बरोबर उपस्थित छ । गाईघाटमा पाइला टेकेको हप्तादिन नपुग्दै एउटा खबर थाहा पाएँ मैले, कि केही मानिसहरुले बसपार्कको लागि भनि छुट्टयाइएको जग्गालाई प्लटिङ गरी ब्यक्तिका नाममा बेचेछन् । केहि बर्ष पहिले हाम्रो बेनीमा पनि ठ्याक्कै यस्तै घटना घटेको थियो । घटना थियो – केहि मानिसहरुले खाद्य संस्थानको भण्डार भएको सरकारी जग्गा आफ्नो नाममा पास गरेका थिए । यी दुई उदाहरणहरु नै काफी छन् कि हाम्रा देशमा केहि मानिसहरु कागको फूल चोर्ने दक्षता राख्दछन् । र, पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म देशका प्रत्येक कुनामा ती ठगहरुको C.P (चहलपहल) हेर्न लायकको छ ।
एउटा स्थान विशेषले ठगहरु मात्र हैन सज्जनहरुको पनि संगत पाएको हुन्छ भन्ने तथ्यको उदाहरण पनि हो उदयपुर । जस्तो हिजो रोमन म्यागसेसे पुरस्कार पाएर वायरलेस हिरो महाबीर पुनले म्याग्दीको नाममा एउटा रौनक दिए त्यस्तै यो ठाउँ पनि राष्ट्रिय महत्व बोकेका केहि ब्यक्तित्वहरुको जन्मथलो रहेछ । काङ्ग्रेस नेता एवं बुद्धिजीवी डा. नारायण खड्का, नेपाल बार एशोसियनका पूर्व अध्यक्ष एवं चर्चीत कानुनवेत्ता शम्भु थापा र रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजीव थापा । चर्चीत अनुहारहरुको यो फेहरिस्तमा अझ अरु नामहरु छन् जो जनप्रशासन एवं निजामति सेवाका उच्च ओहोदामा छन् । तर गाँठी कुरो के हो भने यति हुँदा हुँदै पनि उदयपुरसँग विकासको खास मार्गचित्र छैन । गुरुयोजना छैन । गाईघाटबाट सिधैं दक्षिणतिर चुरे नाघेर लाहान हुँदै यात्रा गर्ने जोकोही उदयपुरेले सवारीको झ्यालबाट जलजलेमा पुगेपछि एकपटक यस सिमेन्ट कारखानाको चिम्नी नियाल्न पाउँछ, र आत्मसन्तुष्टिको एक चिम्टी लामो निश्वास लिन्छ – वाह नेपालकै पहिलो सिमेन्ट उद्योग मेरो जिल्लामा ! तर देशकै पहिलो र ठूलो सिमेन्ट कारखाना उदयपुर सिमेन्ट कारखानाको अवस्था दुरूह छ, यतापट्टि कसैको चासो छैन । फगत सवारीको सिसाबाट चिम्नीमा निस्किरहेको धुँवा नियालेर – राम्रै चलेको छ कारखाना ! भन्ने असत्य विश्वास लिनु बाहेक ।
जलजले हुँदै थुप्रै सेता नम्बर प्लेटधारी सरकारी गाडीहरु ओहोरदोहोर गरे होलान्, विकासको सपनाहरु बाढ्न खप्पिस चिटिक्क परेका मान्छेहरु बोकेर हिड्ने निलो नम्बर प्लेटधारी ल्यान्ड क्रुजरहरुको पनि राम्रै चहलपहल भएको होला गाईघाट–लाहान रुटमा तर कसैले यसलाई सायद चिहाएनन् वा चिहाए पनि खास महत्व दिएनन् । त्यसैले यो दिनानुदिन जिर्ण हुँदै गएको छ । केहि बर्षपछि यसलाई राष्ट्रिय खबरपत्रिकाहरुले विशेष महत्वका साथ आफ्ना खबर पत्रिकाहरुमा राम्रै स्थान दिनेछन् – देशको पहिलो सिमेन्ट कारखाना बन्द !
यहाँको अस्तब्यस्त तस्बीरले समस्त देशकै प्रतिबिम्ब उतारेको छ भन्न मलाई कुनै हिच्किचाहट छैन । दायाँ बाया साइडमा लहरै लगाइएका कदमका बोटहरुले गाईघाटलाई जति सुन्दर देखाएका छन् उती नै कुरुप चित्रको प्रदर्शन गरिरहेछन् – नगरक्षेत्रको सडकको भत्केको पीच, सडक छेवैमा फालिएका फोहोर, सडकै छोप्ने गरि गरिएका फुटपाथ ब्यापार, त्रियुगा पुलको छेवैमा फ्याँकिएको फोहोर र सडकमा राखिएका निर्माण सामाग्रीहरुले । हासिल गरिएका विकासका उपलब्धिहरुलाई संरक्षण नगर्ने हो भने ती उपलब्धीहरुले हाम्रा जीवनयापनमा केही औचित्य राख्दैन् । म त गाईघाट बसाईको अन्तिम प्रहरहरु गनिरहेको एउटा यात्री, मैले आग्रह मात्र गर्न सक्छु नगरवासीहरुलाई – यो तपाइँहरुको नगर हो, त्यसकारण यसको ब्यवस्थापन गर्नु पनि तपाइँहरुको दायित्व हुन आउँछ !