गाईघाटमा मेरा साँझहरू

श्रमीक पार्कमा रहेको स्रष्टा स्मारक । तस्बीरः नीराजन शिरीष

गाईघाट बजारमा शुरुमा पाइला राख्दा लागेको थियो, यो नगरमा मानिसहरुको उती चाप रहेनछ । तर तरकारी बजारतिर साँझतिर डुल्दै जाने काम थालेपछि मेरो पूर्वानुमानले नराम्ररी फेल खायो जसरी हाम्रो मौसम बिभागको पूर्वानुमान शाखाले आज मौसम सफा रहन्छ भनेको दिनमा झमझम पानी पर्दछ ! गाईघाट बजारबाट पूर्वतिर बरुवाको बगर जाने बाटोमा प्रत्येक साँझ लम्वेतान भिड हुन्छ मान्छेहरुको । यहाँ मानिसहरु आफ्ना उत्पादनहरु लिएर प्रत्येक साँझ सडकको दुई किनारमा ब्यवसाय चलाएर बसिहेका हुन्छन । ब्यवसायका लागि सयौं बस्तुहरु सडकमा बिछ्याइएका हुन्छन – तरकारी देखि जिरामसलासम्म, काष्ठकला देखि अरु धातुका बस्तुहरू ! र , अचम्म लाग्दो कुरो त प्रत्येक ब्यापारीहरुकहाँ मानिसहरुको उत्तिकै चाप देखिन्छ । मानिसहरुको बार्गेनिङ चलिरहेको हुन्छ । जस्तो ३० रुपैया केजी भन्टा छ भने ग्राहक १ रुपैया नै कम सही २९ रु. मा किन्न चाहन्छ । र, यो खरिद – बिक्रीको श्रृङ्खला झमक्कै साँझ नपरुन्जेल चलिरहन्छ अनवरत ।
मलाई तरकारी किन्नु पर्दैन । यसको मतलब तरकारी नै खाँदिन मैले हैन । होटलमा खानाखाने बन्दोबस्ती गरेपछि खरिदबिक्रीको झण्झटबाट मुक्ति मिल्ने हुनाले म यो तरकारी बजारमा आफ्ना केहि साथीहरुसँग मिलेर घुम्न जाने मात्र गर्छु । र, मानिसहरुको भीडमा हराइरहेको पाउँछु आफूलाई । प्रत्येक साँझ घाम डुबेपछि गाईघाटको मौसम अलिकति चिसो हुन्छ – विशेष गरी त्यही तरकारीबजारको छेउछाउ । दिनभरको उखरमाउलो गर्मीलाई बिर्सन भएपनि साँझतिर घुम्नु जरुरी हुन्छ यतातिर । मानिसहरु मध्यरातसम्म झुण्डझुण्ड बनाएर साँझको हावा खान सडकमा असरल्लै पोखिएका हुन्छन ।
तरकारी बजारतिर घुम्न जाँदा सबभन्दा बेफाइदाको कुरा यहाँ हुने मानिसहरुको भीडलाई छिचोल्नु नै हो । मानिसहरु अत्यन्तै अस्तब्यस्त ढंगमा यता उता गरिरहेका हुन्छन् । मान्छेहरुसँग ठोक्किदै, ठेलिदै बाटो पार गर्नुपर्छ । त्यसकारण अलिक लामै समय भयो म त्यतातिर घुम्न निस्केको छैन । त्यसकारण, त्यसपछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – श्रमीक पार्क । दिनभर यहाँ मानिसहरुका लागि प्रवेश निषेध गरिएको छ । बिहान र साँझपख केहि घण्टा मात्र खोलिने यो पार्क मजदुरहरुको सम्मानमा बनाइएको हुनुपर्छ । किनकी, पार्कभित्र मानिसहरुले श्रम गर्दैगर्दाका केहि मूर्तिहरु ठड्याइएका छन् । ती बडो कलात्मक छन् । कृषि वा परम्परागत श्रमलाई निकृष्ट कामका रुपमा हेर्ने अचेलका युवाहरु पनि यी मूर्तिहरु देखेपछि साँच्चिकै श्रमप्रेमी हुन्छन भन्ने मेरो विश्वास छ । यी अत्यन्तै आकर्षक ढंगले कुँदिएका छन् । तथापि श्रमीक पार्कमा पनि एकाध आधुनिक प्रेमीहरुको उत्ताउलो प्रेमप्रदर्शनले अरु एक्लै वा समूहमा त्यहाँ घुम्न निस्किनेहरुलाई बडो अप्ठ्यारोमा पार्दछ । हुन पनि अचेल प्रेमी/प्रेमिका भेटिँदासाथ आलिङ्गनमा बेरिनु र चुम्बनको वर्षा गर्नु उति अस्वभाविक विषय पनि रहेन । परन्तु, हामी एउटा अत्यन्तै बन्द संस्कृतिबाट गुज्रिरहेका हामीहरुलाई उनीहरुका क्रियाकलापहरुले केहि अप्ठ्यारोमा पार्दो रहेछ ! अझ कहिले काही त यी दृश्यहरु हेर्दै गर्दा रोमाञ्चक कुरा दिमागमा खेल्न शुरु गर्दछ – काश, म पनि उनीहरु झैं किशोर भैदिएको भए ? घरब्यवहार, समाज, संस्कृति एउटा कुनामा थन्काएर म पनि प्रेमको उत्कृष्ट आनन्द भोग गरिहेको हुन्थेँ सायद !
श्रमीक पार्क पछि मेरो साँझपख टहल्ने गन्तब्य बन्यो – म बस्ने स्थानबाट  सिधैं उत्तरतिर । अर्थात करमगाछी साइड । यो अलि विशेष गन्तब्य पनि हो । गाईघाटमा जस्तो सवारीहरुको चाप नहुने भएकाले पनि यहाँका लब्धप्रतिष्ठित मानिसहरुको रोजाइ बनेको छ यो ठाउँ । हावाको सिरसिरे झोक्का चलिरहन्छ यो ठाउँमा । त्यसैले अचेल म यतातिर बरालिन थालेको छु । म बस्नेतिरका साथीहरु उति घुमन्ते छैनन् । यही एउटा कुरा बिझाउँछ मनमा । कि एक्लैएक्लै डुल्नु पर्छ । भोला एउटा साथि छन् नजिकै तर उनको रोजाई लभ्ली डाँडा ! भन्छन् – केटाकेटीहरुको प्रेमलाई अनुभव गर्न पाइन्छ नजिकैबाट । म प्रेमदेखि वाक्क परेको मान्छे, तरकारी बजारदेखि श्रमीक पार्क हुँदै करमगाछीतिर बरालिन आईपुगेको छु । मेरो खोजी हो – एकदम शान्त र एकलाँस तर सुन्दर गन्तब्य ! बरु त्यो ७ कि.मी पर रहेको चुहाडेको जंगललाई गाईघाटको छेवैमा ल्याउन मिल्ने भएपनि त हुन्थ्यो नि !

One thought on “गाईघाटमा मेरा साँझहरू

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s