चिया, ठेला र एउटा किशोर

जेष्ठ महिनाको एक उदाश शनिबार, उस्तै उदाश अनुहार बोकेको एक किशोरले कुरियर मार्फत आएको मेरो दुई बोरा सामान आफ्नो ठेलामा गुडाउँदै ल्याएर आयो । कालो बर्णको मायालाग्दो अनुहार भएको त्यो किशोरसँग केही भलाकुशारी गर्ने मनशायले चिया पिउने प्रस्ताव राखेँ । उसले खुशी भएको खास भाव मुहारमा नझल्काईकन मेरो प्रस्तावलाई स्वीकार ग¥यो । मलाई ऊ अलि शिष्ट नभए जस्तो लाग्यो । कम्तिमा पनि बिहानबिहान उसलाई चिया पिउनेभन्दा उत्कृष्ट अर्को प्रस्ताव के हुन सक्थ्यो ? फिस्स दाँत देखाएर मुस्कुराउँदै धन्यवाद भन्न उसलाई कति गा¥हो भएको ? कस्तो शिष्टता नसिकिकेको केटो रै’छ ? आफूभन्दा सानाबाट सम्मान पाउनुपर्छ भन्ने संस्कारले. गाँजेको मलाई मनमनमा त्यस्तो लाग्नु अस्वभाविक पनि थिएन । परन्तु, विवशताको दुष्चक्रले गाँजिएको उसको त्यस्तो व्यवहारबाट दुःखी हुनु कम्तिमा पनि मेरा लागि स्वभाविक थिएन । मैले चुपचाप उसका निरीह र निर्दोष भावहरुलाई पढिरहेँ ।
“भाईको नाम के हो नी ?” चिया पिउने आकर्षक प्रस्तावपछि उसलाई मेरो प्रश्न थियो ।
“दिनेश ।” किशोरले जवाफ फर्कायो ।
“दिनेश के ?” मैले पूरा नाम बुझ्न चाहेँ ।
“मुसहर । दिनेश मुसहर ।” किशोरले हत्तोसाही हुँदै जवाफ फर्कायो ।
“ए, मुसहर ?” माध्यमिक तहको बिधार्थी हुँदा सामान्यज्ञानमा पढेको कुरा सम्झदै मैले प्रतिप्रश्न गरेँ – “साँच्ची मुसहरले त मुसा खान्छन रे नी है ! हो ?”
झुकेको मुन्टो अलि ठाडो पार्दै किशोरले जवाफ फर्कायो – “अरुले खान्छन्, मैले खाँदिन !”
“ए, अहिलेसम्म खाएको छैन ?” अनावश्यक जस्तो लाग्ने प्रश्न मैले भने विशेष जोडदिदै सोधेँ ।
उसले पूरा विश्वासका साथ जवाफ फर्कायो – “छैन !”
“अँ तिमी सानो हुँदा, तिम्ले थाहा नपाउने हुँदाताका त तिम्रो बा आमाले खुवाउनु भयो होला नी !” उसको आत्मसम्मानमा चोट पुग्ला भन्ने ठानेर मैले यो प्रश्न चाँहि गरिनँ । बरु प्रसङ्ग बदल्दै मैले अर्को प्रश्न सोधेँ । जुन म प्रायः किशोरकिशोरीहरुलाई सोध्ने गर्छु – “पढाई कहाँ पुग्यो नी तिम्रो ?” 
“आठपास गरेर नौ मा पुगेपछि छाडेँ ।”  माया लाग्दो पारामा किशोरले भन्यो । 
“ल किन छाडेको नी ? पढाइ कमजोर भएर हो ?” मेरो एउटा अर्को प्रश्न रह्यो किशोरलाई ।
“होइन ।” उसले सटिक जवाफ फर्कायो ।
“अनि किन त ?” उसको जवाफ भुइँमा झर्न नपाउँदै मैले सोधीहालेँ ।
“घरकाले छोड्न भने । नत्र त म क्लासको थर्ड हो । अहिले पनि आठबाट नौमा जाँदा थर्ड भएर गएको !” केहि फुकेको स्वरमा उसले बेलिबिस्तार लगायो – “पढाई त मेरो राम्रै छ, सर । घरकाले कमाउनपट्टि लाग भने । आठ पास गरिहालिस् त्यहाँ भन्दा धेरै किन पढ्नु प¥यो ? भन्छन् ।” 
“तिम्लाई अझ अरु पढ्न मन छ त उसोभए ?” मैले प्रश्न गरेँ ।
भर्खर ल्याएको चियाको पहिलो सुरुप लिदैं उसले भन्यो – “छ नी सर ! तर दिदैँन !”
“तिम्रा अरु साथीहरुले पनि पढाई छाडे त ?” जिज्ञासा राखेँ, मैले ।
“हजुर । हाम्रा जातका अरु चार जनाले पनि छाडे ।” उसले थकित आवाजमा जवाफ दियो ।
“ए !” मैले अरु केही भनिनँ ।
किशोरको कुरा सुन्दै गर्दा मलाई नरमाईलो लाग्दै गयो । गरिबीको दुष्चक्रमा मानिसहरु फसिरहेको दृश्यले मेरो मथिङ्गल हल्लियो । कति विवश छन् मानिसहरु कि अलिकति पैसाका कारण आफूले चाहेकोसम्म गर्न पाउँदैन । अझ दिनेशजस्ता ती हजारौं किशोरहरुले त अलिकति पैसाको अभावमा आफ्नो पढ्न पाउने अधिकारको उपभोग गर्न सम्म पाईरहेका छैनन् । मुसहर भाइँको पढ्ने ईच्छाको घाँटी थिचिएको देख्दा मलाई सरकारको विद्यार्थी भर्ना अभियान कार्यक्रमप्रति अट्टहाँस गर्न मन लाग्यो । विद्यालय आईरहेका ऊ जस्ता जेहेन्दार विद्यार्थीहरुलाई पढ्ने वातावरण दिन नसक्नेहरुले के भर्ना कार्यक्रमको फगत नारा लगाउनु ? 
मसँग छुट्टिएर जाने बेलामा मैले उसलाई प्रस्ताव गरेँ – “ल पढ्ने नै हो भने म किताव, पोशाक र भर्ना हुने व्यवस्था मिलाउछुँ । पढ्ने ?”
उसले सहमति जनायो । मैले मेरो मोबाइल नम्बर दिएँ । ऊ चियाको अन्तिम घुट्को निलेर मबाट विदा भयो । उत्तरतिर फर्काएर राखेको ठेलालाई फरक्क दक्षिणतिर फर्काउँदै ऊ गाईघाट झ¥यो । मेरा आँखाले उसलाई परसम्म पछ्याईरहे । उसले एकचोटी पनि फर्केर हेरेन ! र, अहिलेसम्म मेरो मोबाइलमा फोन पनि आएको छैन् – “सर म नौ कक्षा भर्ना हुन चाहन्छु !”

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s