गजबको गाईघाट !

फेरि एकपटक ती युवतीलाई मैले गाईघाटको मुख्य सडकमा केहि युवतीहरूसँगै हिडिरहेको देखेँ । गाईघाटको मुख्यचोकमा रहेको थापादाईको चिया पसलमा साथीहरूसँग चिया पिउँदै गर्दा मैले उनको एक झलक पाएको थिएँ । बोलाउन चाहेको थिएँ, तर आँट आएन । उसो त साथीहरूको बीचमा हुँदा युवतीलाई हेरिनु र ऊसँग नजिकिएर कुरा गर्न जानू हाम्रो जस्तो बन्द समाजमा अशोभनीय विषय नै भयो तथापी म यस मुद्धामा अलि फरक मान्यता राख्दछु । मलाई के विश्वास छ भने मित्रतामा लिङ्ग प्रमुख विषय होइन । हुन सक्दैन । बरु मित्रतामा त विचार र ब्यवहारले महत्वपूर्ण अर्थ राख्दछ !
ती युवती आक्कल झुक्कल देखिने र परिचय नहुने स्थिती लामो समयसम्म रहिरहेकै छ । तर मलाई थाहा छैन – यो परिस्थिती कतिञ्जेलसम्म लम्बिरहने हो ! हुन सक्ला मित्रताका लागि उनीसँग भेट हुनेछ । वा हुनसक्ला उनीसँग अब फेरि भेट नहोला ! उनीसँगको मेरो मित्रता होला या नहोला, किन्तु गाईघाट आएपछि विभिन्न उमेर समूहका मानिसहरुसँग मेरो सम्बन्ध विस्तार भएको छ । म यसैमा खुशी छु । केहि साथीहरुसँग म देश, काल र परिस्थितीका बारेमा छलफल गर्दछु, केही युवावयका साथीहरु छन् जो सँग मेरो सिर्फ ‘युवक’ कुराकानीमात्र हुने गर्दछ । केही बच्चाहरू मेरा साथी भएका छन् जो सँग म खाने, खेल्ने र रमाईलो गर्ने विषयमा मात्र भलाकुसारी गर्दछु । दिनहरु रमाईलै बितिरहेका छन् । र, एक शब्दमा भन्नुपर्दा मेरो गाईघाट बसाई जीवनको एक सुन्दरम् क्षण बनेको छ ।
विस्तारै यहाँको वातावरणमा भिज्दै गर्दा केही अवस्थाहरुमा मैले अप्ठ्यारो महशुस गर्नु स्वभाविकै ठानेको छु । र, कतिपय ती मेरा लागि अलिकति अस्वभाविक नै छन् । नियन्त्रण बाहिरका कुराहरू छन् । तीनलाई त कि म अनुभव गर्न मात्र सक्दछु वा तीनका बारेमा अरुबाट सुनिरहन विवश हुनसक्दछु । 
जस्तो कि सार्वजनिक यातायातमा भएको सिन्डिकेट प्रणाली मैले यहाँ भोगेको एक नमीठो अनुभूति हो । बिहान ८ बजे गन्तब्य प्रस्थानका लागि तयार भएको एउटा सार्वजनिक सवारी साधन दिउँसो २ बजे छुट्यो भन्दा उदयपूर बाहिरका धेरै मान्छेहरुलाई अचम्म लाग्न सक्ला तर यो यहाँका सर्वसाधरणको दैनिकी हो । एउटा बस भित्र र माथि मान्छे र सामाग्रीले भरिभराउ नभैन्जेल एक डेग अगाडि सर्दैन । यात्रुहरू ढिला भो जाऔं भनेर गुनासो गरिरहेका बखत बसको चालक नजिकैको चिया पसलमा एक थान शिखर चुरोट ओठमा च्याप्दै मस्तसँग दूध चिया पिईरहेको दृश्य कम्तिमा पनि गाईघाटमा अनौठो मानिदैन । 
त्यस्तै, मुलुकभरी स्वभाविक लाग्ने ट्राफिक सन्दर्भ यहाँ पनि दुरुस्तै छ । जस्तो ट्राफिकसँग चिनजान भएका मानिसहरू मोटरसाइकलमा विना हेल्मेट यात्रा गर्न पाउँछन् । र, मोटरसाइकलमा आफूबाहेक तीनजनालाई डुलाउन पाउँछन् । तर यदि तपाई ट्राफिक ब्यवस्थापनको जिम्मा पाएको मानिससँग अपरिचित हुनुहुन्छ भने ऊ तपाइँलाई देख्न साथ परैबाट हात ठडाउँदै सिठ्ठी फुकिरहेको हुन्छ – “रोक्नुस्, चिट काटेर जानुस् !” मुलुकभरमै यस्तो नियम छ त अब गाईघाटमा मात्र यस्तो नहोस् कसरी ? मानिसहरु चुपचाप सहिरहेका छन् ! र, यो क्रम निर्वाध चलिरहेकै छ !
बैशाखको पहिलो साता मैले एउटा सूचना सुनेको थिएँ । एउटा पिकअप भ्यानमा चर्को आवाजमा माइकबाट कोहि चिच्चार्इरहेथ्यो – नगरपालिकाको सूचना ! सूचनाले बाटोमा राखिएका निर्माण सामाग्री हटाउनका लागि एक हप्तेको अल्टिमेटम दिएको थियो यहाँका सर्वसाधारण र उद्योगी ब्यापारीलाई । तर आश्चर्यको कुरा छ, नगरपालिकाले सूचना दिएको डेढ महिना पुगिसक्यो तर बाटाहरुमा निर्माण सामाग्री पहिलेभन्दा धेरै थुप्रेका छन् । मान्छेहरुले निर्माण सामाग्री बाटोमा अझै थुपार भन्ने बुझे या नगरपालिकाले सूचना भनेको छु मान्छेहरुले शिरोपर गरेहोलान् नी भन्ने ठान्यो कि ? बाटोमा ईटा, गिट्टी, बालुवा र छडहरू छरपरस्टै छन् ! यस्तो बेला मैले मेरा केहि पत्रकार साथीहरुलाई दुखेसो पनि पोखेको छु – हैन किन चुपचाप छन् तिम्रा पत्रिकाहरू ?
अझ आश्चर्यको कुरा त नियमित जनसम्पर्कमा रहनु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख अर्थात प्रमुख जिल्ला अधिकारीलाई भेट्न पास लिनु पर्छ रे गाईघाटमा ! एोक, डेढ घण्टाको पखाईपछि यहाँले उनलाई भेट्न पाउन पनि सक्नुहुन्छ, नपाउन पनि ! अजब देशको गजब कहानी भनेको सायद यहि नै हो !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s