यता आएको एकहप्ता बित्न नपाउँदै मैले ट्याम्पोचोकमै रहेको बब्लुको होटलमा खाना खान बन्द गर्नुपर्ने भयो । कारण, म उनको होटलभन्दा २५ मिनेटको दूरीमा बोक्सेमा बस्नुपर्ने भयो । यसको मतलब अब मैले उनकोमा ५० रू. छाकको खाना खान पाउने भइँन । साथमा थुप्रै चिजमा पाईने बोनस अब मेरा निम्ति ‘आकाशको फल’ सरोवर नै हुने भए । त्यस माथि मलाई सबभन्दा बढि मन पर्ने गोलगोल आकृतिको ‘तिलौरा’ नामको खानेकुरा पनि मैले खान नपाउने भए । खानासँगै तिलौरा दिइने गाईघाटको एउटा मात्र होटल उनको रहेछ ! मलाई थकथक लाग्यो !
मेरोभन्दा दुई गुणा बढि पुट्ट अगाडि निस्केको उनको पेट, मैले जस्तै हाफ पाइन्ट र एउटा सर्टमा सजिने उनी, उनको मधेसी लवज, मिठासता साथै विभिन्न भाषा, संस्कृति र स्थानबाट गाईघाटमा आएका मानिसहरू भेट हुने साझा चौपारी जस्तो उनको होटल यी सबै विशेष चिजबिजहरूबाट टाढा हुनुपर्ने भयो । त्यति मात्र हैन खाना पछि मीठा पान खाने मेरो नियमिततामा पनि अवरोध भएको छ । कारण बन्यो – बोक्सेमा मेरो बसाई !
उसो त पान खाने मान्छेहरू मलाई उति मन पर्दैन । खासमा पानका पारखीहरूले पान चपाउँदै गर्दा भित्ता, भुई, बलेनी, सडक वा जहाँपनि पिच्च थुकेर घिनलाग्दो पाराले रातै रंगाएको त झन म सहनै सक्दिन । परन्तु, गाईघाट आएपछि मेरो एउटा लत बसेको छ – खाना खाईसकेपछि पान खाने ! बोक्सेतिर पान पसल मैले देखेको छैन, तर लत परेपछि आफ्नो ईच्छा पूर्तिका लागि मानिसलाई केहिले नरोक्नेको एउटा उदाहरण म बन्ने गरेको छु । हरेक बिहान साढे नौ बजेतिर म मेरा मित्रहरूलाई कल गर्छु । उनीहरू “हेल्लो” को औपचारिकता पनि पूरा नगरी सिधै बोल्छन् – “सुपारी कति राख्न लगाउने ? तुलसी पनि मिलाउन भन्ने कि ?” म सिर्फ यत्ति भन्ने गर्छु – “बढिया मीठा पान बनाउन लगाउनू !” हुन त सधैं पानका लागि साथीहरूकै ढुवानीमा निर्भर हुँदा नियमित पान सेवन गर्न नपाइने नै रहेछ । परन्तु मिठा पान सेवन गर्ने मौका त्यति धेरै गुमाउनुभने परेको छैन । र, अचम्म लाग्दो कुरो म अझै मिठा पान सेवनबाट जर्दा पान सेवनमा उक्सिकेको छैन । हुनसक्छ सायद किनकी पान महात्म्य मैले उति जानिसकेको छैन । अँ साँच्ची मैले पान चपाउँदै गर्दा पटकैपिच्छे थुक्नू पर्दैन ! मीठा पान खाने मान्छेहरू पानको गुलियो निल्न सक्छन् ! यो विषयमा पनि मलाई उति ज्ञान छैन तर दश कक्षा पढ्दै गर्दा आफूसँगै मीठा पान खान सिकाएका मेरा इन्डियन सहपाठी राजेशले भनेका थिए – “मीठा पानले स्वास्थ्यमा उति असर गर्दैन् ।”
बोक्सेमा बसोबासको ब्यवस्था भएपछि मैले खाना खाने ठाउँ भेटेँ – झापाली होटल ! सबै कुरा बब्लुकै होटलको जस्तो ब्यवस्था रहेछ यहाँ तर दुई चिज चाँहि नपाईने । रोटी र तिलौरा ! तर थाहा छ ? सादा भातमा दही पनि थपे दश रुप्पे बढि तिर्दा हुने । अर्थात गाईघाटमा भन्दा १० रू. सस्तो ! मिजासिला राई दाजुको परिवारले चलाएको यस होटलमा खाना खान थालेपछि मैले गाईघाट बिर्सन थालेँ । विभिन्न अफिसका केहि कर्मचारीहरूले खाना खाँदा रहेछन् – यहाँ । उनीहरूसँग पनि राम्रो चिनाजान भयो । अझ विशेष त त्यतिखेर लाग्न थाल्यो जतिबेला पहाडमा आफ्नो जागिरे जीवनको आधा समय बिताएका मधिसे कर्मचारीहरू र मधेसमा आफ्नो जागिरे जीवनको आधा कार्यकाल बिताएका पहाडे कर्मचारीहरूले आफ्नो जागिरे जीवनका रमाईला अनुभवहरू बाढ्न थाले ।
मसँगै खाना खाने बस्नेत सर निकै रमाईला मान्छे छन । उनीसँग जीवन भोगाइका थुप्रै अनुभूतिहरू छन् । र, ती अधिकांश रमाईला र रोचक छन् । एक साँझ उनले सुनाए, उनलाई पनि अरू कसैले सुनाएको एउटा घटना ! “सुदुर पश्चिमेली एउटा हाकिम तराईको एउटा जिल्लामा आएछ । र, पहिलो दिन आफ्नो भान्छेलाई खाना पस्कन अर्हाउँदै आफ्नै बोलीमा भनेछ – भात गाड् ! तराइको भान्छे बिचरोलाई हाकिमको कुराले सारै पिरोलेछ ! उसलाई लागेछ – यत्रो दुःख गरेर पकाएको खाना सित्तैमा किन गाड्नु ? कतै मैले नमीठो पो पकाएछु कि ? बिचरो डरले थुरथुर हुँदै हाकिमको अगाडि नतमस्तक भएर उभ्भिएछ । उता हाकिमलाई लागेछ – भान्छेले आफूले भनेको मानेन ! उसले अलि कडा रुपमा प्रस्तुत हुँदै फेरि अर्हाउँदै भनेछ – सुनेन ? जा भात गाड् ! बिचरा भान्छेले केही उपाए नभेटेपछि करेसामा लगेर सबै भात गाडिदिएछ ! निकै बेरसम्म भान्छेले खाना नपस्केको देखेपछि हाकिमले हकारेछ – हैन ख्वै मलाई भात ? भान्छेले पूरा हिम्मतका साथ जवाफ दिएछ – अनि साबले नै गाड्न भन्नुभएको हैन ? मैले त पछाडि लगेर गाडिदिएँ ! भान्छेले हाकिमलाई लगेर भात गाडेको ठाउँ देखाइदिएछ । बिचरो हाकिम जिल्लाराम !” खासमा हाकिमकोघरतिर भात पस्कनुलाई गाड्नु भन्दा रहेछन् ! फरकफरक भूगोलका मानिसहरूबीचमा कुराकानी हुँदा हुने भाषाको बुझाईसम्बन्धि बस्नेत सरले सुनाएको यो घटना मलाई निकै रमाईलो लाग्यो !