गार्इघाट एक्सप्रेसः बब्लुको होटलमा पहिलो दिन

खानाको मूल्य चाँहि निकै सस्तो मान्नुपर्छ गाईघाटमा । ५० रुप्पेमा दाल, भात, तरकारी ! अझ त्यसमाथि पनि चटनी र सलादका दुईचार पिस बोनसमा पाइँदो रैछ यहाँ ! दही थपे २० रुप्पे दाम बढी, मासु खानेले चाँहि चालिस रुप्पे बढी थपे पुग्ने । मलाई गज्जब लाग्यो । ९० रुप्पेमा मासुभात । हाम्रोतिर कल्पनाबाहिरको कुरा हो यो । हरेक साधारण होटलमा पनि सादा खानालाई थकाली खानाको नाम दिएर कम्तीमा पनि ८० रुप्पे लिने गर्दछन् – होटल साहू/साहुनीहरूले ।
गाईघाट आएपछि मलाई पायक पर्ने राम्रो खाना खाने ठाउँको खोजी गर्नुभयो– कार्यालयका साथीहरूले । र, अन्त्यमा मलाई सुझाउनुभयो एउटा होटलको नाम – बब्लुको होटल ! उहाँहरू जिकिर थियो – बब्लुकोमा खाना चाहे अनुरुपको भेराइटीहरू पाईन्छ । जस्तो कि रोटी, दाल, दहि, दुध, मीठाई आदि/ईत्यादि । उहाँहरु मध्ये एक कार्यक्रमका अधिकृत परशुदाईले बब्लुकोमा नै खाना खानु पर्ने कारण बताउनुभएको थियो – बब्लुकोमा इन्डियन स्वादका थुप्रै खानाहरु पाइन्छन् । र, शत्रुघ्न नामधारी मेरा समकालिन मित्र चाँहि जोडदिदै हुनुहुन्थ्यो – “हेर्नुस् सबभन्दा फाइदाको कुरा त खाना खाईसकेपछि पान खानुहुन्छ भने त झन गाईघाटकै टप पानपसल बब्लुकै होटल अगाडि छ !” उनको यो सुझाउ सुनेपछि भने म झस्किहालेँ – “लौ ! हजुरको नाम पनि शत्रु सुझाऊ पनि शत्रुपाराको भयो नी होउ ! अब पान खान थालेपछि त काम पुगेन ?” उनीसँगै खानापछि पानलिने दुई साथी राजेश र नारायणको चाँहि खास सुझाउ रह्यो – “हजुर चाँहि जर्दा (कडा) हैन मीठा पान लिनुहोला नी त !” यो सुझाउ मलाई राम्रै लाग्यो । तर खाना चाँहि बब्लुकोमा नै खानेकुरामा म भने पूरै ‘कन्भिन्सड’ भैसकेको थिइँन । जब रेडक्रस उदयपुरका सभापतिले सुनाउनु भयो – “खासमा हामी सबैले त्यही खाना खान्छौं । हजुरले पनि हामीहरूसँगै खाँदा बेशै होला ।” त्यसपछि भने म बब्लुकै होटलमा खाना खाने निधोमा पुगेँ ।
बैशाख दुईको बिहानको खाना खान म बब्लुकोमा पुगेको थियो । नामजस्तै मिजासिला रहिछन् बब्लु । दुई दाजुभाई मिलेर होटल गर्दा रहिछन् – गाईघाटमा उनीहरू । होटलको नाम छैन । तर बब्लुको नामबाट ग्राहकहरूले राखिदिएका रैछन होटलको नाम – बब्लुको होटल ! सस्तोमा मीठो खाना पाइने उनको होटलमा खाना खान जाने मान्छेहरूको निकै भीड हुन्छ । पहिलो दिनमै मैले खाना खाने पालो पर्खिन २० मिनेटभन्दा बढी खर्चनुप¥यो । नेपाली कम र मैथिली ज्यादा बोल्ने बब्लुको प्रायः मुस्कानका साथ प्रस्तुत हुने बानि छ । सायद असल ब्यवसायीको गुण हो यो । ग्राहकसँग अत्यन्तै निकटताको सम्बन्ध राख्न सक्ने उनको खास क्षमताका कारण हुनुपर्छ, होटलभित्र छिर्दै गर्दा प्रत्येक ग्राहक बोल्ने गर्छन – “बब्लुजी, ठीक वा ?” ग्राहकलाई थप खाना बाड्दै गरेको उनी मुस्कुराउँदै बोल्छन् –“हाँ ठीकठाक !” मलाई याद छ पहिलो दिन मैले उनकोमा खसीको मासु र भात खाएको थियो । र, उनले मलाई मासुको रस पनि थपिदिएका थिए । मलाई लागेको थियो – “बब्लुजी मलाई प्रभावित पार्न चाहिरहेका छन् ।” तर पछि थाहा लाग्यो, उनकोमा मासुभात खाँदा मासुको रस थपिनु र दुईचार चोक्टा अझ अरु बोनसमा पाइनु अस्वभाविक रहेनछ ! त्यसपछि भने म प्रष्ट बन्न पाएँ कि उनकोमा खाना खानलाई मानिसहरू किन हुरूक्कै हुँदा रहेछन् ?
खाना खाएपछि म पैसा तिर्न खोज्दै थिएँ । परशुदाईले मेरा बारेमा जानकारी गराउनुभयो । र, उनलाई मेरो खानाको हिसाब राख्न भन्नुभयो । बब्लुले नाइँनास्ती गरेनन । मसँग परिचय गरे । अनि महिनावरी खाना खाने मानिसहरूको सूची भएको खातामा मेरो नाम पनि थपे – निराजन सर, रेडक्रस । मसँग उनले छोटो भलाकुसारी गरे । उनको मधेसी लबज सुन्दा मलाई अनौठो भन्दा पनि मिठो लाग्यो । खासमा मलाई मधेसी लबज मन पर्छ । उनीहरू पृथक पाराले नेपाली बोल्ने गर्दछन् । र, उनीहरूले नेपालीमा बोल्दा मलाई सुनूँसुनूँ जस्तो लाग्छ । खाना खाँदाको पहिलो बिहान मैले उनीसँग आधा नेपाली र आधा हिन्दीमा गरेर संवाद गरेँ । किनकी मलाई मैथिली बोल्न आउँदैन ! र, उनी हिन्दीमा पनि पोख्त छन । त्यो दिन छुट्ने बेलामा मलाई लाग्यो – भोली देश जातिय संघिय संरचनामा विभक्त भैहालेछ भने हाम्रा बब्लुहरू के पहाडियासँग यस्तै मिजासपूर्वक आफ्नै शैलीमा नेपालीमा संलाप गर्लान ? के साँच्ची मधेसतिर झर्दा पहाडियाहरूले खाना खान पनि पाउँलान कि होटलमा ? वा मधेसीहरूले पनि पहाडी राज्यमा उक्लदा पहाडेहरूबाट अहिलेको भन्दापनि बेशी सम्मानित ब्यवहार पाउँलान के ?

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s