धार्केबाट बस गुड्यो । त्यसपछि म सिटमै ढल्केँ । लामै समयसम्म निदाएछु म । एकैचोटी भरतपुर बसपार्कमा आएपछि आँखा खुल्यो । बसभित्र खाली सिट एउटै थिएन तैपनि लोभी कन्डक्टर के मान्थ्यो ? ड्राइभरलाई ‘हर्न’ बजाउन उक्साउथ्यो । पाँच–दश मिनेट बसपार्कको चक्कर लगायो बसले तर यात्रु कोही भेटिएनन् ! “रातीको टाइममा मान्छे भेट्न मुश्किलै हुन्छ !” कन्डक्टरले भन्यो । ड्राइभरको केही आपत्ति रहेन, बस हेटौडातिर हानियो ।
बस गुडेको एक घण्टा नबित्दै फेरि रोकियो । खाना खानलाई गाडी रोकिएको ठानेका केही मान्छेले गनगन गर्न थाले – “हैन गाडीले खाना खान कहाँ रोक्दो रै’छ ?” ड्राइभरलाई पिसाब लागेको भएर गाडी रोकिएको रहिछ कन्डक्टरले भनेपछि थाहा लाग्यो ! नजिकै एउटा पसल पनि थियो । कति बजेछ ? यत्रो बेरसम्म पसल खुला नै छ ? मनमा चस्को पस्यो मेरो । मोबाइल हेरेपछि थाहा भयो, रात्रीको पौने एघार भैसकेको रहेछ । यात्रुहरु छेउछाउतिर ‘जिपर’ तान्दै थिए, म पनि उतै लागेँ । जिपर तानेँ ! लगाउने बेलामा हतार भएर हो वा निन्द्राले पूरै नछाडेर हो जिपरले छाला च्याप्यो, मेरो । यस्तो बेला मलाई छोरा मान्छे भएर जन्मिएकोमा पश्चाताप लाग्ने गर्छ । तर यसपाली पछुताउ भयो – छोरा मान्छे भएर जन्मिएको भन्दामा पनि बढि हतार गरेर जिपर लगाउने मुख्र्याइ गरेकोमा ! गाडीको हर्न कानमा बेस्सरी ठोक्किरहेथ्यो । मैले विना प्रतिक्रिया जिपरले च्यापिएको छाला निकाल्ने यत्न गरिरहेँ । एकपटक रनक्क दुखेपछि जिपरबाट च्यापिएको छाला निस्कियो । त्यसपछि मैले जिपर लगाउन हतार गरिन ! खलासी कान्छो चिच्याउँदै थियो – “दाई यतै बस्ने हो र ? बस गुड्न आँट्यो हैं !” मेरो पालो म बुर्कुसी मार्दै बसभित्र छिरेँ ।
मसँगै यात्रा गरिरहेका अधवैशें अगाडि नै सिटमा आएर बसिसकेका रहिछन । म सिटमा बस्न नपाउँदै उनले आफूले ल्याएको पानी पिउन आग्रह गरे । सिटमा बसीसकेपछि उनले दिएको चीसो पानी घटघटी पिएँ । मैल बसभित्र छिर्ने ढोका नजिकैको भित्तामा लेखिएको देखेँ – “अपरिचितले दिएको खानेकुरा नखानुहोला !” त्यति मीठो चीसो पानी पिलाउने मानिसलाई मैले पनि केहि न केहि दिनुप¥यो नी भन्ने लागेपछि मैले मेरो झोलाबाट आलुचिप्स निकालेँ र उनलाई लिन आग्रह गरेँ । उनले चुपचाप लिए, उनका आँखा त्यो सूचनामा एकोहोरिएका थिएनन् । सायद उनले त्यो देखेनन् । वा उनलाई म उनीसँग पूरै परिचित भएजस्तो लाग्यो । चुपचाप आलुचिप्स खाए मसँगसँगै । हामी दुवैलाई केहि भएन ! अर्थात उनले दिएको पानीले म बेहोस भइँन ! र, मैले दिएको आलुचिप्सले पनि उनलाई बेहोस पारेन । त्यसपछि म सुतिनँ । उनी त झन पहिलेदेखि नै जागा थिए । बस आफ्नै रफ्तारमा अगाडि हुँइकिरहेथ्यो, हामीबिचको संवाद पनि तिब्र गतिमा अगाडि बढिरह्यो । खासगरी उनले मलाई उदयपुर, खोटाङ र ओखलढुंगाका बारेमा प्रष्ट पार्ने कोशिस गरे ।
रातीको सबा एघार बजेतिर बस हेटौडामा आएर रोकियो । “खाना ख्वाउने ठाउँ बल्ल यहाँ पो रहिछ ?” ज्यादै भोकाएको मैले मेरो राई साथीसँग गुनासो पोखेँ । उनी सहमत भए – “हो त, लास्टै खत्तम हुने यि गाडीवालेहरू !” केहि गनगन गर्दै उनी सिटमुनि रहेको कार्टुन खोतल्नपट्टि लागे । सायद चल्लालाई पानी दिनलाई होला । म बसबाट झरेँ । कुपन सिस्टम रहिछ – खाना खाने ठाउँमा । पहिला दाम तिर्ने त्यसपछि कुपन लिने अनि खाना खाने टेबलमा गएर बस्ने । मासुभातको एकसय असी पर्दो रहिछ । मासु जे को खाएपनि हुने – कुखुरा वा खसी । मूल्य अनुसारको खाना पटक्कै थिएन । मासुपनि दुई चोक्टा मात्र ! गोलभेडा मात्रै धेरै ।
पछि गाडीमा आएपछि थाहा भयो – पटकपटक यात्रा गर्नेहरूले यो होटलमा खाना नै नखाँदा रहिछन् । बरु नजिकैको अर्को होटलमा चाउचाउ अण्डा बनाउन लगाएर खाँदा रहिछन् । मेरा राई साथीले पनि उसै गरेछन् ! भन्दै थिए – “हजुरलाई खोज्दा भेटिनुभएन, फोकटैमा एकसय असी झ्वाम पार्नुभयो । ठिकै छ योपाली जे भएपनि अर्कोपाली चाँहि चाउचाउ अण्डा नै खानुहोला !” मुन्टो हल्लाएर मैले सहमति जनाएँ । पारिपट्टीकी पहेंलो टिसर्टवाली र उसको साथी त्यो बिचमा पनि उठेनन् । यसको मतलब उनीहरुले खाना नै खाएनन । मनमा यस्तो लाग्यो – बिचरा खाना खान रोकेको पनि थाहा पाएनन् कि ? एकछिनपछि बस पनि गुड्यो । उनीहरू उस्तै पाराले निदाई रहेथे । बसमा यशकुमारको गीत बज्दै थियो – म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै …..!