अगन्धर तिवारी
म्याग्दीको रत्नेचौर गाविसमा आठ जना किसानले शुरु गरेको सामुहिक कृषि फाराम जिल्लाकै नमुना कृषि फारामका रुपमा स्थापित भएको छ ।
रत्नेचौर गाविस-४ का नीरबहादुर थापा, कृष्ण बोगटी, ओमबहादुर रोका, नर बहादुर रोका लगायतका किसानले ६ महिना अगाडी नौ रोपनी जमिन लिजमा लिएर शूरु गरेको बेमौषमी तरकारी खेती जिल्लाकै नमुना तरकारी खेती मात्रै नभई, रोजगार नपाएर बिदेश जानेहरूका लागि एक उदाहरण समेत बनेको छ ।
गाउँका सक्रिय किसान नीरबहादुर थापाको अध्यक्षतामा बैदेशिक रोजगारबाट फर्किएका दुइजना लगायत अन्य केहि युवाको सक्रियतामा गाउँमा केहि गरौं भन्ने उद्धेश्यका साथ सात महिना अगाडी नमुना सामुदायिक कृषक समुह गठन गरि काम शुरु गरेका हुन् ।
चारजना युवा मध्ये ओमबहादुर रोका र नरबहादुर रोका चार वर्षबिदेश बसेर फर्किएका छन् । ‘बिदेशमा बस्दा र त्यहाँ परिश्रम गर्दाको अवस्थालाई सम्झिए हामीले नयाँ कन्सेप्ट अनुसार यस्तो खेती शुरु गरेका हौं ।’ किसान नरबहादुरले भने, ‘त्यहाँ गर्नेअनुसार यहाँ काम गर्ने हो भने मासिक चालिस हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’
रत्नेचौर गाविसस्थीत लुङ्गुरचौरमा रहेको भलिवल खेल्ने मैदानका रुपमा उपयोगमा आइरहेको नौ रोपनी जमिनलाई वार्षिक २५ हजार भाडा तिर्नेगरि लिजमा लिएको समितिका अध्यक्ष निरबहादुर थापाले बताए ।
‘पहिलो वर्षभएकोले अहिले हामिले धेरै नाफाको लक्ष्य राखेका छैनौं ।’ उनले भने, ‘ यो वर्षदशओटा प्लास्टीक टनेल बनाउने र सबै जग्गामा परिक्षणका रुपमा मात्रै खेति गर्दै छौं ।’ उनका अनुसार एउटा टनेल बनाउनका लागि कम्तिमा १५ हजार रुपैयाँ खर्च हुन्छ । दशओटा टनेलमध्ये तिनओटाका लागि २१ हजार रुपैयाँ बराबरको प्लास्टिक जिल्ला कृषिविकास कार्यालयले सहयोग गरेको उनले बताए ।
यो वर्षचारसय बोट काँक्रा, घिरौंला, लौका लगायतका लहरे बाली, १४ सय बोट गोलभेँडा र करिव दुइ रोपनी जग्गामा बोडी, सिमी लगायतको बाली लगाएका छन् ।
कृषि फाराम बेनी-बाग्लुङ सडकको छेवैमा रहेकोले उत्पादित सामाग्रिहरू बजारसम्म पुर्याउनका लागि पनि कुनै समस्या नभएकोले आफुहरूको व्यवसाय सफल हुनेमा ढुक्क रहेको उनिहरूले बताएका छन् ।
‘योजना अनुसार काम गरेकोले हामी पुरा सफल हुन्छौं ।’ युवाहरूले भने, ‘पहिलो वर्षसबै खर्च कटाएर चार लाख, दोश्रो वर्षआठ लाख र तेश्रो वर्षदश लाख आम्दानी गर्ने लक्ष्य छ ।’
सिञ्चाइको अभावमा व्यवसायलाई निरन्तरता दिन समस्या पर्ने भएकोले त्यसको समाधानका लागि फाराम नजिकै ३५ हजार लिटर क्षमताको प्लास्टीक पोखरी समेत निर्माण गर्ने तयारी रहेको युवाहरूले बताएका छन् ।
गाउँका सक्रिय युवाहरूले सामुहिक रुपमा शुरु गरेको जिल्लाकै नमुना कृषि फारामलाई थप प्रोत्साहन गर्नका लागि प्लास्टीक पोखरी निर्माणका लागि २५ हजार रुपैयाँ नगद तथा अन्य प्राविधिक सहयोग गरिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषिविकास अधिकृत महेशचन्द्र आचार्यले बताए ।
लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीका केहि सचेत युवाहरूले शुरु गरेको कृषि फारामले समग्र युवावर्गलाई नै एकपटक सोच्न बाध्य बनाएको कृषि विशेषज्ञहरूको भनाई छ ।
बेनीअनलार्इनबाट
You must be logged in to post a comment.