खेलाडी जन्माउन नसकेको बुढो चौर

एकताका विश्व फुटबल जगतमा डेभिड बेकह्याम छाईरहदा हामी थुप्रै चौरेली ठीटाहरुको एउटै मात्र सपना बेकह्यामले जस्तै फ्रि–किक हिर्काउनु हुन्थ्यो । अनि हामी मध्ये थुप्रैले रोनाल्डो र काकाको नक्कल गर्न पनि पछि पर्दैनथ्यौं । अझ हाँसो उठ्दो कुरो त हामी मध्ये धेरैलाई ब्याक्की बस्न अल्छी लाग्दो हुन्थ्यो । बाफरे, हामी त सबका सब स्ट्राइकर अर्थात बेकह्याम, रोनाल्डो, हेनरी अनि जिदान ! हुँदा हुँदा भर्खर बलसँग अभ्यस्त भएका एकाध गोलकिपरहरु समेत ओलिभर कान हुन हुरुक्कै ! अनि साँच्ची मैले त लेख्नै बिर्सेको, डि–बक्सभित्र विपक्षीले फल गरे पछि प्राप्त पेनाल्टी हान्न गोलकिपर बाहेकका हामी सबै तत्पर हुन्थ्यौं । हामी सबैका आ–आफ्नै नियम हुन्थे । एक जना “हेन्ड, हेन्ड, बल रोक” भन्दै चिच्याइरहेको हुन्थ्यो भने अर्को चाहिँ “कहाँ हुन्छ हेन्ड? कुममा पो लागेको हो” भन्दै बल अगाडि बढाइ रहेको हुन्थ्यो । अहिले सम्झदा पनि हाँसोको फोहोरा छुट्न थाल्दछ । अनि गम्भिरतापूर्वक सोच्न मन लाग्छ, यति ठूलो क्रेज हुँदा हुँदै पनि आखिर हाम्रा गाउँबाट किन एकजना पनि व्यवसायिक खेलाडी बन्न सकेनौं ?
खेलकुदका लागि हामी किशोरदेखि भारतीय सेनाका निवृत्त भएका भू.पु. सैनिकहरु पनि लागेकै थिए । उनीहरुले बनाईदिएको बास्केटबल कोर्टमा तिज तथा दशैंको अबसरमा कहिलेकाही खेलहरु आयोजना नभएका पनि होईनन् । अझ लेख्नै पर्ने त, हामी मध्ये कतिपयहरु बास्केटबलका राम्रा र सम्भावित खेलाडीका रुपमा परिचित हुन थालेका थियौं । आखिर प्रख्यात बास्केटबल प्रतियोगिता एनबिएमा क्लबहरूले प्रदशर्न गर्ने खेल र उनीहरूको टिमवर्कको कुराका बारेमा आफूले जाने नजानेका कुराहरु बख्यान लगाउन बाहेक हामीले केहि प्रगति पनि गर्न सकेनौ ! अब हाम्रो  मुर्खाइका अघि विचारा ती निवृत्त बृद्ध सैनिकहरुको के जोड लाग्थ्यो र ! आफ्नो कमाईको केही अंश बास्केटबल खेलको विकास गर्न खोजेका थिए तर त्यो अनुत्पादक लगानी बाहेक केहि हुन सकेन । आखिर उनीहरुको लगानी जे जस्तो भए पनि त्यो लगानीलाई एकत्रित गरी आफूले सिकेको बास्केटबल खेल्ने सिप युवाहरुलाई सिकाएर उत्कृष्ट बास्केटबल खेलाडी बनाउन लागि परेका हर्कबहादुर रावल, टेकबहादुर रावल, भेषबहादुर रावल तथा लालबहादुर खत्री जस्ता होनहार भू.पु. हरुको सपना आजपर्यन्त पूरा हुन सकेको छैन् । बरु ती श्रद्धेय ब्यक्तित्वहरुको नेतृत्वमा बनाइएको बास्केटबल कोर्ट सुनसान मसानघाट जस्तो लम्पसार परिरहेको छ ।

सुनसान बास्केटबल कोर्ट

भलिबलमा भने हाम्रा एकदुई जना अग्रजहरुले जिल्लास्तरमा समेत नाम कमाएको कुरा अहिले पनि मेरो सम्झनामा ताजै छ । दुर्गा श्रेष्ठ र विष्णु थापाहरु राम्रा स्पाइकरका रुपमा परिचित नाम थिए । तर यति हुँदा हुँदै पनि भलिबलका क्षेत्रमा पनि हाम्रो गाउँले गर्व गर्ने लायकको कुनै खेलाडी पाउन सकेन । विभिन्न समयमा गाउँस्तरीय भलिबल प्रतियोगितहरु पनि आयोजना गरिएका थिए । मलाई राम्ररी याद छ, ती कुनै पनि प्रतियोगिता कहिल्यै पनि विवादमुक्त रहन सकेनन् । गाउँकै भद्र भलादमीहरुले विवाद मिलाउनुको साटो, आफ्नो खुर्पेटोबाट आँसी झिकेर नेट काट्न कस्सिएको घटनाले अझै पनि लज्जित पारेको अनुभूति हुन्छ ।
पछिल्ला चारपाच वर्ष यतादेखि भने हामीहरु क्रिकेट खेल्ने काममा निकै नै अभ्यस्त बन्दै आयौं । विशेष गरी बागलुङ बस्ने हाम्रा सहकर्मी शिव बोगटी क्रिकेट एशोसियन अफ नेपाल, बागलुङमा अध्यक्ष बनेपछि यसको क्रेजलाई रत्नेचौरमा स्थापित गर्न खोजेका थिए, र उनको अभियानमा प्रत्यक्ष सहभागी हुन पुगे विशेष गरी इन्डियामा अध्ययन गर्न गएका बहालवाला तथा भू.पु इन्डियन आर्मीका छोराहरु अर्थात हाम्रा अग्रज तथा सहकर्मीहरु गोपाल रावल, रिक्की पुन, गणेश रावल र दलबहादुर रावल लगायतका युवाहरु । तथापि क्रिकेट अभियानले पनि त्यति प्रभाव छाड्न सकेन गाउँमा । जब जव पाकिस्तान, अष्ट्रेलिया, भारत, श्रीलंका, दक्षिण अफ्रिका तथा इंग्लाण्डबीच एकदिवसीय म्याचहरु हुन्थे गाउँमा पनि क्रिकेट क्रेज हुरुक्कै बढेर जान्थ्यो अनि जब ती देशहरुबीच एकदिवसीय म्याच हुदैँनथे तब हाम्रो क्रिकेटले पनि लोप्पा खान्थ्यो ।
यसरी विशेष कालखण्डमा विशेष खेलहरु खेलिए । अनि फेरि ती बन्द गरिए । कुनै पनि खेलमा नियमित अभ्यास नै हुन पाएन । अनि ती फेरि कहिल्यै नउठ्ने गरी लगभग बन्द भए । र, हामीले त्यतिखेर खेल्ने मैदानहरु अहिले शुन्य प्राय ः बन्दै गए । तैपनि कहिले काही गाउँ जाँदा स–साना बालकहरु क्रिकेटको ब्याट र रबरको बल समात्दै खेल मैदानमा क्रिकेट खेलिरहेको देख्छु अनि मनमा एकाएक एउटा भावना जागेर आउँछ, सबैसँग समन्वय गरेर सुस्ताएको बास्केटबल, भलिबल, फुटबल र क्रिकेटलाई एकैसाथ ब्युँताऊ र पवित्र रत्नभूमिबाट तेन्दुलकर, बे्रटली, लारा, म्याडोना, रोनाल्डो र मेस्सीहरु उत्पादन भएको हेर्न पाऔं ! मनको भित्रीकुनाबाट कतै विझाएर आउँछ, तर यो सजिलो विषय पनि त होइन !

2 thoughts on “खेलाडी जन्माउन नसकेको बुढो चौर

  1. भानिज लाई धन्यवाद !खुशी लाग्यो भानिज खेलाडी जन्माउन नसके को बुडो चऊर को कथा ब्यथा सुनेर।हुनत खेलाडी नजन्मे का होइनन तर हाम्रो गाउँ को भौगोलिक बनावोट र प्राक्रितीक सौन्दर्ये को कुरा गर्ने हो भने एस धर्ती मा कमै यस्ता ठाउँ भेटिन्छन् जुन हाम्रो गाउँ मा लुकेर बसेका छन्।जस्तै हाम्रो गाउँ को माटो सेतो,रातो,पहेंलो इ त प्रस्टै देखिने मा पर्छन्।अर्को तिर हेर्ने हो भने यहाँ बलौटे माटो जुन ठाउँ मा बदाम्,सखर खन्ड प्रसस्तै उत्पादन हुन्छन भने अर्को धान्,मकै,गहुँ ३/३ बाली एउटै खेत मा उब्जनी हुन्छन्।अब बारी हेर्नुस् जहाँ मकै,कोदो र त्यस भित्र पनि अर्को सहयोगी को रुप मा भट्ट,मास,मस्याङ्(स्याल्टुङ्)गहत्,अरहर को दाल अनी जुनेलो र बोडि,काक्रा,फर्सी अनी केराउ जस्ता अन्न र तरकारी बाली हुने।अर्को तर्फ दाँया खेती गर्न सिंचाइ को लागि डोडेनी खोला जुन हाम्रो खेती योग्ये जमिन को लागि कुलो भएर खेत सम्म पानी बगी रहन्छ।अर्को तर्फ काली गण्डकी जुनबेला हाम्रो धर्म कर्म गर्न र मृत्‍यु पस्चात पनि हाम्रो अन्तिम सन्संकार को लागि सदाबहार भएर हाम्रा लागि बगी रहन्छिन्।उत्तर पट्टी सेता हिमाल हाम्रो हरेक बिहानी सङ्गै मुस्कुराइ रहन्छन्।पुर्ब तिर हेरेउ भने सल्लेरी बन पश्चिम तिर बेला बेला मा हामीलाई लोव्वेयाउने गरी हिउँले ढाक्ने र कहिले कालिज र कोहिलिले गीत गाउँने अनी कोहो र काफल पाक्केयो चरिले हामी लाई मौसम परिबर्तन भएको सुचित गर्ने ज्याम्रुक कोट।उत्तरि भेग मा हाम्रा घर पालुवा गाई बस्तु,भेडा बाख्रा को लागि चरान को लागि ठुलो बन्।जती बर्णन गरे पनि कहिल्लेइ नपुग्ने र यो संन्सारमा कहिँ पनि न भेटिने ठाउँ हो यो “रत्नेचौर” यस्मा दुई मत छैन।तर भानिज दु:ख को कुरा हामीले चाहेर पनि नहुदो रहेछ हाम्रो गाउँ यती सुन्दर र सान्त हुँदा हुँदै पनि यहाँ को घना बस्तिले गर्दा यहाँ को खेती पाती को उब्जनी मा कमी अनी यहाँ का यूबा पुषता को बेरोज गारी समस्या।हो यही हो भानिज सबै भन्दा ठुलो दुर्भाग्ये यस बुडो चऊर को पनि।खेलाडी न जन्मेका होइनन नि।खेलाडी धेरै जन्मे हुर्के यहाँ तर आफ्नो र परिवार को शुखत भबिस्ये का लागि आफना बाल बच्चा को शिक्षा दिस्क्षा र उनी हरु को लालन पालन का लागि रहर ले नभै बाध्यता मा परि यो बुढो चऊर लाई चटक्कै छाडेर मुटुमा गाँठो पारेर कोही खाडी को मरु भुमी त कोही अमेरिका को महल सम्म पुगेका छन्।कोही जापान को रोबर्ट सँगै रमाइ रहे का छन भने कोही कोरिया को फलाम सँग जुधी रहेछन्।कोही मलेसिया मा पसिना बगाइ रहेछन भने कोही मकाउ मा मौलाई रहे का छन ।जे होस् यो मन त “चऊरेली” हो भन्ने कुरा लाई भने कसैले बिर्सन सक्दैन र बिर्सदैन होला जस्तो लाग्छ मलाई !तपाइ लाइनी ?
    # गाउँ हाम्रो क्या राम्रो हेर…….
    समय लाई नफाल खेर !
    # कहाँ होलान साथी र सङ्गी….
    आउन मन लाको छ गाउँ सम्झी !
    # गाउँले मलाई चिन्दैन होला…नी.?
    त्यसो भन्दा यो मन चाइ रोलानी !
    कहिले काँही गीत पनि गाउँछु गाउँन त….
    मेरो गाउँमा कहिले हो थाहा छैन आउँछु आउनत !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s